काठमाडौं । मेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति बराक ओबामा र उनकी पत्नी मिसेल ओबामाप्रति लक्षित नस्लवादी सामग्री समावेश भएको एउटा भिडियो सामाजिक सञ्जालबाट हटाएका छन्। व्यापक विरोध र आलोचना पछि ट्रम्पले आफ्नो सामाजिक सञ्जालबाट उक्त विवादित भिडियो हटाउन बाध्य भएका हुन्।
यो ६२ सेकेन्ड लामो भिडियोमा ‘द लायन स्लिप्स टुनाइट’ गीत प्रयोग गरिएको थियो। भिडियोको अन्त्यमा ओबामा दम्पतीलाई अपमानजनक र नस्लवादी शैलीमा चित्रण गरिएको क्लिप राखिएको थियो। ट्रम्पले यो भिडियो सन् २०२० को राष्ट्रपति चुनावमा मतदाता धोखाधडी भएको आफ्नो पुरानो दाबीलाई पुनः पुष्टि गर्ने प्रयास स्वरूप सार्वजनिक गरेका थिए।
उक्त भिडियो ट्रम्पको सामाजिक सञ्जालमा करिब १२ घण्टासम्म रहेको थियो। सुरुमा ह्वाइट हाउसले उक्त क्लिपको बचाउ गर्दै यसलाई सामान्य ‘इन्टरनेट मिम भिडियो’ मात्र भएको बताएको थियो। तर, सर्वसाधारण र राजनीतिक वृत्तबाट कडा विरोध सुरु भएपछि ट्रम्पले उक्त पोस्ट हटाएका हुन्।
शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले यस विषयमा आफ्नो बचाउ गरेका छन्। उनले भने, ‘मैले कुनै गल्ती गरेको छैन। मैले भिडियो पोस्ट गर्नुअघि यसको सुरुवाती भाग मात्र देखेको थिएँ र यसमा ओबामाको कुनै अपमानजनक चित्रण छ भन्ने मलाई थाहा थिएन।’ उनले यो घटनाका लागि आफ्नो सचिवालयका एक कर्मचारीलाई दोष दिँदै पन्छिने प्रयास गरेका छन्।
ट्रम्पले पूर्वराष्ट्रपति ओबामा र उनको परिवारलाई लक्षित गरी विवादित टिप्पणी गरेको यो पहिलो पटक भने होइन।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।