विराटनगर । विराटनगर–११ बसपार्क नजिकै एक घरमा डेरा गरी बस्ने युवक बिहीबार दिउँसो आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन्। विराटनगर–८ निवासी मनिष चौधरी मृत फेला परेका हुन्।
प्रहरीले घटनाको समयमा उनीसँगै रहेकी एक युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ। युवतीले नै दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको थियो। प्रहरीले कोठामा मदिराका बोतल र लागुऔषधसँग सम्बन्धित शंकास्पद वस्तुहरू छरिएको अवस्थामा बरामद गरेको छ।
मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) हरिनन्दन चौधरीका अनुसार प्रारम्भिक अनुसन्धानमा बुधबार राति उक्त कोठामा मृतक र युवतीसहित चारजना बसेर मदिरा र लागुऔषध सेवन गरेको खुलेको छ। ‘रातको समयमा चारजना बसेर मदिरा र लागुऔषध खाएको देखिन्छ, पछि दुईजना त्यहाँबाट निस्किएका थिए,’ डीएसपी चौधरीले भने ।
प्रहरीले मदिरा र लागुऔषधको अत्यधिक सेवन ओभरडोजका कारण युवकको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान गरेको छ। यद्यपि, मृत्युको वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
प्रहरीले शव बरामद गरी पोस्टमार्टमका लागि विराटनगरस्थित कोसी अस्पताल पठाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको र फरार भनिएका अन्य दुई व्यक्तिको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।