विराटनगर । झापा क्षेत्र नम्बर ५ मा आज प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता कार्यक्रमलाई लक्षित गरी सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बालेन शाहले मनोनयन दर्ता गर्ने भएपछि हुनसक्ने सुरक्षा चुनौती र भिडभाडलाई मध्यनजर गर्दै सुरक्षाकर्मीको संख्या उल्लेख्य रूपमा बढाइएको हो।
जिल्लाको मौजुदा सुरक्षा शक्तिले मात्र परिस्थितिलाई नियन्त्रणमा राख्न कठिन हुने देखिएपछि विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयबाट थप सुरक्षाकर्मीको टोली झापा पठाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निर्वाचन अधिकृतको कार्यालय र आसपासका संवेदनशील क्षेत्रमा गस्ती तीव्र पारेका छन्। विराटनगरबाट आएको थप टोलीले दमकका मुख्य चोक र कार्यालयको प्रवेशद्वारमा विशेष सुरक्षा दिनेछ।
दुई प्रभावशाली व्यक्तित्वको उम्मेदवारीले गर्दा झापा ५ यतिबेला देशभरकै चासोको केन्द्र बनेको छ। दुवै पक्षका समर्थकहरूको ठूलो उपस्थिति हुन सक्ने भएकाले कुनै पनि अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले सुरक्षा निकायलाई ‘हाइ अलर्ट’ मा राखेको छ।
यसैबीच, पिपुल फस्ट पार्टीका धर्मराज गुरागाईँले आफ्नो मनोनयन दर्ता गराइसकेका छन्। अन्य उम्मेदवारहरूको दर्ता प्रक्रिया चलिरहँदा दमक क्षेत्रको सुरक्षा व्यवस्थालाई थप मजबुत बनाइएको छ।





























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।