काठमाडौँ । सशस्त्र प्रहरी बलका ६ जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले डीआईजीहरुको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेका हुन् ।
पछिल्लो सरुवा अनुसार कोशी प्रदेशको सुरक्षा कमाण्ड सम्हाल्ने गरी डीआईजी मनिष कुमार थापाको सरुवा भएको छ । थापालाई सुनसरीको इटहरीस्थित नम्बर–१ बराह बाहिनी मुख्यालयको जिम्मेवारी दिइएको हो ।
यसअघि कोशी प्रदेशमा कार्यरत डीआईजी कुमार न्यौपानेको भने सशस्त्र प्रहरी हेडक्वार्टरको मानवश्रोत विभागमा सरुवा भएको छ ।
त्यस्तै, अन्य डीआईजीहरुको पनि जिम्मेवारी हेरफेर गरिएको छ । सरुवा सूची अनुसार लक्ष्मण बहादुर सिंहलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, प्रदीप कुमार पाललाई कार्य विभाग र पुरुषोत्तम थापालाई सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पठाइएको छ ।
यसैगरी, विष्णु प्रसाद भट्टलाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) को सचिवालयमा सरुवा गरिएको छ । निर्वाचनको पूर्वसन्ध्यामा सुरक्षा निकायमा गरिएको यो सरुवालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।