लोड हुँदैछ...

मेनु

प्रसाईंलाई कार्वाही चलाउन साइबर ब्युरोलाई निर्वाचन आयोगको पत्र

प्रसाईंलाई कार्वाही चलाउन साइबर ब्युरोलाई निर्वाचन आयोगको पत्र

विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसालाईलाई कार्वाही गर्न निर्वाचन आयोगले नेपाल प्रहरीको साईबर ब्युरोलाई पत्राचार गरेको छ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनसँग जोडेर निर्वाचन आयोगमाथि ५२ करोड रुपैयाँको लेनदेन भएको आरोप लगाएका प्रसाईंविरुद्ध कारबाही गर्न आयोगले पत्र पठाएको हो ।

आयोगले आइतबार निर्णय गर्दै प्रसाईंको अभिव्यक्ति र गतिविधिबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलाई पत्राचार गरेको हो । निर्वाचन आयोगका सूचना अधिकारी सुमन अधिकारीका अनुसार सामाजिक सञ्जाल र सार्वजनिक कार्यक्रममा प्रसाईंले दिएको अभिव्यक्ति आधारहीन र भ्रामक देखिएकाले आयोगले संस्थागत निर्णयमार्फत साइबर ब्युरोलाई अनुसन्धानको जिम्मा दिएको हो ।

‘आयोगले निर्णय गरेर अनुसन्धानका लागि पत्र पठाइसकेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका प्रसाईंका भिडिओहरूका सन्दर्भमा अनुसन्धान गरिदिन भनेका छौँ,” अधिकारीले भने । गत शुक्रबार निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगनकुमार थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिक रूपमा अद्यावधिक गर्ने निर्णय गरेको थियो । सो निर्णयप्रति आपत्ति जनाउँदै प्रसाईंले आइतबार भक्तपुरस्थित आफ्नै निवासमा आयोजित कार्यक्रममा गगन थापा पक्षले ५२ करोड रुपैयाँ दिएर निर्वाचन आयोगबाट मान्यता लिएको आरोप लगाएका थिए ।

निर्वाचन आयोगका उच्च स्रोतका अनुसार प्रसाईंले शनिबार पत्रकार सम्मेलन तथा सार्वजनिक अभिव्यक्तिमार्फत विभिन्न व्यक्ति र संवैधानिक निकायमाथि कुनै प्रमाणबिनै गम्भीर आरोप लगाएको जानकारी आयोगमा पुगेको थियो । निर्वाचनको संवेदनशील समयमा यस्ता आरोपले भ्रम फैलिने र लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठ्ने जोखिम रहेको ठहर गर्दै आयोगले तत्काल कारबाही प्रक्रिया अघि बढाएको जनाएको छ ।

आयोगले प्रसाईंको अभिव्यक्तिलाई साइबर कानुन अन्तर्गत पर्ने विषय मानेर आवश्यक कानुनी अनुसन्धान र कारबाहीका लागि साइबर ब्युरोलाई पत्र पठाएको हो । निर्वाचन आयोगले संवैधानिक निकायको गरिमा र निर्वाचन प्रक्रियामाथि आक्षेप लगाउने खालका निराधार आरोप सह्य नहुने स्पष्ट संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।