विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको व्यवस्थापकीय कमजोरी र चरम लापरबाहीका कारण गम्भीर बिरामीको ज्यान जोखिममा परेको छ ।
अस्पतालको १८ बेड क्षमताको सघन उपचार कक्ष (आईसीयू) मा अक्सिजन सप्लाई बन्द भएको बहानामा विगत चार दिनदेखि सेवा ठप्प पारिएपछि बिरामीहरू मारमा परेका हुन् ।
अहिले आईसीयू वार्डभित्रको दृश्य हृदयविदारक छ । बिरामीको ज्यान बचाउने करोडौंका उपकरणहरू बेडका पुराना तन्नाले छोपिएर थन्काइएका छन् भने बेडहरू छरपस्ट अवस्थामा छन् । गत ३० पुसदेखि अक्सिजन पाइपमा समस्या आएको भन्दै अस्पताल प्रशासनले आईसीयू सेवा बन्द गरेपछि त्यहाँ उपचाररत बिरामीहरूलाई जबरजस्ती ‘एचडीयू’ वार्डमा सारिएको छ । तर, एचडीयूमा आईसीयूको जस्तो सघन उपचार र मनिटरिङ सम्भव नभएपछि गम्भीर प्रकृतिका बिरामीका आफन्त महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य भएका छन् ।
कोशी अस्पतालमा आईसीयूको दैनिक शुल्क मात्र १ हजार २०० रुपैयाँ छ । तर, सरकारी अस्पतालको यो सेवा बन्द हुँदा बिरामीहरू विराटनगरका निजी मेडिकल कलेज र अन्य निजी अस्पतालहरूमा प्रतिदिन ५ हजारदेखि १० हजार रुपैयाँसम्म चर्को शुल्क तिर्न विवश छन् । ३५० शय्याको यस अस्पतालमा दैनिक १० देखि १५ जना गम्भीर बिरामी आईसीयूको पालो पर्खिँदै आकस्मिक कक्षमा छटपटिने गरेका छन् । यस्तो अवस्थामा भएको आईसीयू सेवा पनि बन्द हुनुले अस्पताल प्रशासनको संवेदनहीनता प्रष्ट पारेको छ ।

मर्मतमा आलटाल र कर्मचारीको असहयोग
सामान्य प्राविधिक समस्या मानिने अक्सिजन पाइप मर्मतको काम चार दिन बितिसक्दा पनि पूरा नहुनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सामान्य मर्मत कार्यलाई हप्तौंसम्म लम्ब्याएर बिरामीलाई निजी अस्पतालमा पठाउने ‘सेटिङ’ त भइरहेको छैन भन्ने प्रश्न समेत उठेको छ ।
अस्पतालका नयाँ मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले कार्यभार सम्हाले लगत्तै आईसीयू बन्द हुनु र मर्मतमा ढिलाइ हुनुलाई अस्पतालभित्रै शंकास्पद रूपमा हेरिएको छ । अस्पताल स्रोतका अनुसार नयाँ मेसुलाई असफल बनाउन केही पुराना स्वास्थ्यकर्मी र कर्मचारीहरूले ुअसहयोगु गरिरहेका छन् । “केही दिन अघिसम्म सुचारु रहेको आईसीयू नयाँ मेसु आउने बित्तिकै बिग्रिनु र मर्मतमा यति धेरै ढिलाइ हुनुमा कर्मचारीको असहयोग र आन्तरिक राजनीतिको गन्ध आउँछ,” अस्पतालका एक कर्मचारीले नाम नछाप्ने सर्तमा बताए । ती कर्मचारीका अनुसार जानीजानी मर्मत प्रक्रियालाई सुस्त बनाएर नयाँ नेतृत्वलाई विवादमा तान्ने खेल भइरहेको छ ।

चाँडै सञ्चालनमा आउँछ : मेसु डा. चौधरी
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रामनारायण चौधरीले भने आफूले कार्यभार सम्हाल्ने बित्तिकै अक्सिजन सप्लाईमा समस्या देखिएकाले मर्मत सुरु गरिएको दाबी गरेका छन् । उनले भने, “अहिले प्राविधिक टोली निरन्तर काम गरिरहेको छ, केही प्राविधिक जटिलताका कारण ढिलो भएको हो । चाँडै मर्मत सकेर आईसीयू सञ्चालनमा ल्याउनेछौं । अहिले बिरामीलाई एचडीयूमा राखेर सेवा दिइरहेका छौं ।”
दैनिक ८ सय देखि १ हजार बिरामीको चाप हुने कोशी अस्पतालमा यसरी संवेदनशील विभाग हप्तौंसम्म बन्द हुँदा पनि व्यवस्थापन पक्षले युद्धस्तरमा काम नगर्नुले सरकारी स्वास्थ्य सेवाप्रतिको भरोसा टुट्दै गएको स्थानीयको गुनासो छ ।




























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।