काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (बुधबार) बिहान बस्दैछ । मंगलबार दिनभरको राजनीतिक रस्साकस्सी र आन्तरिक छलफलका कारण बस्न नसकेको बैठक आज बिहानका लागि बोलाइएको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू तथा सातै प्रदेशका सभापतिहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । मंगलबार बिहान ११ बजेका लागि तय गरिएको बैठक पटक–पटक सर्दै दिउँसो १ बजे पुर्याइएको थियो । साँझ केही बेर बसेर स्थगित भएको उक्त बैठक आज बिहान ८ बजेदेखि पुनः सुरु हुने तय भएको हो ।
पार्टीभित्र विशेष महाधिवेशन पक्षधर र संस्थापन पक्षबिच उत्पन्न विवाद सुल्झाउन दुवै पक्षका नेताहरू मंगलबार दिनभर वार्ता र संवादमा व्यस्त रहेकाले केन्द्रीय कार्यसमिति बैठक प्रभावित भएको हो । विशेष महाधिवेशनको वैधानिकता, नेतृत्वको कार्यविभाजन र आगामी कार्यदिशाबारे दुई पक्षबिच तीव्र मतभेद रहँदै आएको छ ।
मंगलबार दिनभर र रातभर चलेको संवादले कुनै ठोस निष्कर्ष निकाल्न नसकेपछि आज बस्ने केन्द्रीय कार्यसमिति बैठकलाई निकै महत्त्वका साथ हेरिएको छ । आजको बैठकमा विधान कार्यान्वयन, कार्यवाहक सभापतिको अधिकार र निर्वाचन प्रक्रियाका प्राविधिक विषयमा सहमति जुटाउने प्रयास हुने नेताहरूले बताएका छन् ।
विशेष महाधिवेशनको प्रक्रिया अघि बढिसकेको सन्दर्भमा बस्न लागेको यो बैठकले पार्टीभित्रको आन्तरिक विवादलाई समाधान गर्दै एकताको सन्देश दिने विश्वास आम कार्यकर्ताले गरेका छन् ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।