विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३५ औँ स्थापना दिवसको अवसरमा प्याब्सन मोरङले सामाजिक कार्य गरी उत्सव मनाएको छ।
स्थापना दिवसकै अवसर पारेर मोरङ प्याब्सनले विराटनगरस्थित विराट बहिरा माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई जाडोको न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो।
बिहीबार विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई जाडोबाट बच्नका लागि न्यानो कपडा र खाद्यान्न सामग्री हस्तान्तरण गरिएको थियो ।
दिवसकै अवसरमा बिहीबार साँझ विराटनगर–३ स्थित प्याब्सनको जिल्ला कार्यालयमा दीप प्रज्वलन कार्यक्रम समेत आयोजना गरिएको छ। कार्यक्रमका बारेमा जानकारी दिँदै प्याब्सन मोरङका अध्यक्ष जगत बहादुर बस्नेतले स्थापना दिवसलाई केवल उत्सवमा मात्र सीमित नराखी सामाजिक उत्तरदायित्वसँग जोडिएको बताए। अध्यक्ष बस्नेतले भने, “प्याब्सनले आफ्नो स्थापना दिवसमा हरेक वर्ष विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएको छ। यस वर्ष पनि हामीले फरक क्षमता भएका विद्यार्थीहरूलाई सहयोग गरेर र साँझ कार्यालयमा दीप प्रज्वलन गरेर स्थापना दिवस मनाएका हौँ।”
कार्यक्रममा प्याब्सनका केन्द्रीय पदाधिकारीहरू, केन्द्रीय सदस्यहरू, जिल्ला तथा विराटनगर महानगर समितिका पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको बाक्लो उपस्थिति रहेको थियो। प्याब्सनले शिक्षा क्षेत्रको विकाससँगै सामाजिक सेवाका कार्यलाई पनि निरन्तरता दिँदै आएको छ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।