विराटनगर । विराटनगर जेसीजको ५२ औँ निर्वाचन प्रक्रियाबाट वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन भएको छ। कविराज दाहाल अध्यक्षमा नयाँ नेतृत्व चयन भएको हो ।
निर्वाचनबाट वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा रन्जन कुमार शाही निर्वाचित भएका छन्। त्यस्तै, तालिम निर्देशकमा अभिषेक भट्टराई, कार्यकारिणी उपाध्यक्षमा रिजन सिग्देल र अनुज दाहाल निर्वाचित भएका छन्।
यसैगरी उपाध्यक्षमा अमित कुमार कर्ण, अभिषेक गौतम, गुणानन्द महतो र जेसि बिनु वान्तवा राई निर्वाचित भएका छन्। संस्थाको जनसम्पर्क अधिकारीमा आकृति रानी फुयाल चयन भएकी छन्।
निर्वाचनपछि नवनिर्वाचित अध्यक्ष कविराज दाहालले विराटनगर जेसीजलाई अझ सशक्त, अनुशासित र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरे। उनले भने, “युवाको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र संस्थागत सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्नेछौँ। सबै सदस्यलाई समेटेर टिमवर्कका आधारमा काम गर्ने हाम्रो मूल लक्ष्य हुनेछ।”
निर्वाचन आयुक्त तुलसी निरौलाले निर्वाचन प्रक्रिया शान्तिपूर्ण, निष्पक्ष र लोकतान्त्रिक ढङ्गले सम्पन्न भएको जानकारी दिए। निर्धारित कार्यतालिकाअनुसार सदस्यहरूको उत्साहजनक सहभागितामा निर्वाचन सम्पन्न भएको उनले बताए।
वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा निर्वाचित रन्जन कुमार शाहीले अध्यक्षको योजनालाई कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको बताए। उनले युवाको क्षमता अभिवृद्धि र रोजगारीका अवसर सिर्जना गर्ने खालका कार्यक्रममा विशेष ध्यान दिने उल्लेख गरे।
नवनिर्वाचित कार्यसमितिलाई विभिन्न संघसंस्था, पूर्व पदाधिकारी तथा शुभेच्छुकहरूले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।


























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।