नेपाललाई शुन्य बनाउन आन्दोलनको नाममा योजनाबद्ध विध्वंश भएको देखिन्छ : प्रधानमन्त्री कार्की

विराटनगर । अन्तरिम सरकारकी प्रधानमन्त्री शुशीला कार्कीले नेपालको अत्यन्त अवाश्यक संस्थाहरुमा छानीछानी प्रहार भएको भन्दै त्यसको छानविन गरिने बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आइतबार सिंहदरबारमा पदाभार ग्रहण गर्दै राष्ट्रका लागि चाहिने सबै कागजात नष्ट पारिएको बताइन् ।

‘मुलुकको अत्यन्त आवश्यक जुन संस्थाहरु छ, त्यसमा छानी–छानी प्रहार भएको छ,’ उनले भनिन्, ‘प्रहरीहरु सुरक्षाका लागि अनिवार्य थिए, तिनलाई प्रहार भयो । प्रहरीका चौकी, थाना सबै जले । अदालतका सम्पूृर्ण फाइल नस्ट भएर गयो ।’ सिंहदबारभित्रका कयौँ संरचना नष्ट भएको भन्दै उनले देशको शासन चलाएको संरचनाका मिसिल र कागजहरू नष्ट भएको देखेर नेपालीले नै यस्तो गरेको होला भन्ने प्रश्न उठेको बताएकी छन् ।

अलिकति यो देखेर मलाई लाज पनि लागेको छ,’ कार्कीले भनिन्, ‘नेपाली नै भएर यो काम गरेको हो भने तिनलाई नेपाली कसरी भन्ने ?’ मान्छेले ज्यान मार्छ, भवनहरू लुट्ला तर, यस्तो घटना पहिलो पटक भएको उनको भनाइ छ । भवन बनाउन सकिने भएपनि रेकर्ड जल्दा शूल्यमा पुगेको उनले बताइन् ।

आन्दोलनको क्रममा भएको आगजनी र तोडफोडका घटना देशविरुद्वको अपराधिक कार्य भएको भन्दै कार्कीले यस्ता घटनाहरूको छानविन गर्नुपर्ने र सत्यतथ्य बाहिर ल्याएर दोषीहरूलाई कारबाहीको दायरामा ल्याइने बताइन् । आन्दोलनको नाममा योजनाबद्ध षड्यन्त्र भएको आफूलाई लागेको उनको भनाइ छ ।

प्रदर्शनका नाममा मुलुकको सचिवालय सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत सहित व्यापारिक कम्प्लेक्स र निजी सम्पत्तिमाथि आतंक मच्चाइएको विषयमा सरकारले छानबिन गर्ने उनको भनाइ छ।

आफू रहरले प्रधानमन्त्री नबनेको बताउँदै कार्कीले आफू जनभावनाअनुसार प्रधानमन्त्रीमा नियुक्त भएको जिकिर गरिन् । ‘जुन परिस्थितिमा म आएँ, रहरले आएको होइन,’ उनले सम्बोधनका क्रममा भनिन्, ‘सडकबाटै मलाई जिम्मा दिँन आग्रह भएपछि म आएको हो। म सत्ताको रसस्वादन गर्न आएको होइन । उमेर पनि मेरो त्यो होइन। सेवा गर्न आएको हो ।’

उनले ६ महिना भन्दा बढी आफू सत्तामा नबस्ने पनि बताएकी छन् । ‘नयाँ आउने संसद् र मन्त्रीहरूलाई जिम्मेवारी सुप्पिने अठोट म गर्छु’ उनले भनिन्, ‘मलाई उहाँहरूले साथ दिनुपर्छ । सबैको साथ नभए यो संकटबाट पार पाउन सम्भवन छैन ।’

यसैबीच जेनजी आन्दोलनका क्रममा देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो । आन्दोलनकारीतर्फ ५९ जना र प्रहरीतर्फ ३ जनाको निधन भएको छ । यस्तै, कारागारबाट भाग्ने खोज्ने १० जना कैदीहरु मारिएका छन् । १३४ प्रदर्शनकारी घाइते भएर उपचार गराइरहेको र प्रहरीहरु ५७ जना उपचाररत रहेको सरकारले जनाएको छ ।

आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरेर १०–१० लाख रूपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ ।

भदौ २९, २०८२, दिउँसोको १२:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर