खण्डहर बनेको उच्च अदालत विराटनगरले आइतबारबाट रिटको सुनुवाई थाल्ने

विराटनगर । जेन–जी युवा समूहको नाममा अराजक समूहले लगाएको आगोको धुवा निस्किरहेको अवस्थामै उच्च अदालत विराटनगरले आफ्नो काम अगाडि बढाउने प्रयास गरेको छ ।

मंगलबार आन्दोलनको क्रममा उच्च अदालतमा तोडफोडपछि लगाएको आगो शुक्रबारसम्म पनि पूर्ण रुपमा निभेको छैन । तर, अदालतमा शुक्रबार नै न्यायको आशसहित बन्दी प्रत्यक्षीकरणको रिट दर्ता भएको छ ।

अराजक समूहले लगाएको आगोका कारण धुवाँ र खरानीले भरिएको अदालतमा भारतीय नागरिक ३७ वर्षीय शेर महम्मदले रिट दर्ता गरेका हुन् । गत साउन १ गते लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनलाई थुनामुक्त गर्न माग गर्दै रिट दताृ भएको हो ।

अनुसन्धान जारी रहेका बेला जिल्ला अदालतमा आगजनी भएपछि उनको म्याद थप हुन सकेको छैन । गैरकानुनी रुपमा थुनामा राखेको भन्दै सञ्जीवकुमार साहले उच्च अदालत विराटनगरमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका हुन् ।

क्षतविक्षत भएको अदालतले आइतबारबाट बन्दी प्रतक्षीकरणको रिट सुनुवाई गर्ने तयारी गरेको छ । शेर महम्मदको रिटको सुनुवाइ लागि आइतबारका लागि पेसी तोकिएको अदालतका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए । अदालतले काम अगाडि बढाउन आगो लागिरहेको बेला रिट दर्ता गरेको थियो ।

जलेर खण्डहर भएको अदालतले रिट दर्ता गरेर नागरिकको कानुनी अधिकार संरक्षण गर्ने प्रयास गरेको हो । जलिरहेको अदालतमा रिट दर्ता हुनु र सुनुवाइका लागि पेसी तोकिनुले संरचना जलेपनि कानुनी उपचारको बाटो खुला रहेको सन्देश दिएको छ ।

रजिष्ट्रार भट्टका अनुसार उच्च अदालत विराटनगर तोडफोड र आगलागीबाट खण्डहर बनेको छ । अदालतको भुइँ तालामा रहेका कार्यालयको कक्ष र फाँट पूर्णत जलेर नष्ट भएका छन् । अभिलेख शाखामा रहेका सबै मिसिल र कागजात जलेको छ भने बचेका कागजात पनि काम लाग्ने अवस्थामा छैनन । थोरै मात्र मिसिल काम लाग्ने अवस्थामा रहेको उनले बताए ।

अराजक समूहले अदालत परिसरमा पार्किङ गरिएका ११ वटा चार पांग्रे सवारी जलाएका छन् । जलेको मोटरसाइकलको संख्या यकिन भइसकेको छैन । आगजनीको क्रममा ३–४ वटा मोटरसाइकल चोरी भएको थियो । यस्तै अदालतलबाट कम्प्युटर, टेलिभिजनसहितका धेरै उपकरण चोरी भएको छ ।

अदालतको अभिलेख शाखामा रहेको ६५ हजारभन्दा धेरै मुद्दाको मिसिल जलेको छ । जसमध्ये अदालतमा हाल १ हजार हाराहारी मुद्दाको मिसिल मात्रै बाँकी छ ।

आगजनीका कारण जिल्ला अदालत मोरङ पनि झनै खण्डहर भएको छ । दशैं अघि जिल्ला अदालतले सेवा प्रवाह गर्न हुने अवस्था नभएको बताइएको छैन ।

भदौ २८, २०८२, दिउँसोको ०४:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर