झापामा थप एक आन्दोलनकारीको मृत्यु, मृतकको संख्या चार पुग्यो

विराटनगर । कोशी प्रदेशमा जेनजी विद्रोहका क्रममा विर्तामोडमा प्रहरीसँगको झडपमा परी घाइते भएका पाँचथर हिलिहाङ २ का ३१ वर्षीय कमल भण्डारीको मृत्यु भएको छ । टाउकोमा गोली लागेका उनको विर्तामोडस्थित बिएनसी हस्पिटलमा उपचार भइरहेको थियो ।

भण्डारीको मृत्यु भएको पुष्टि गर्दै झापाका प्रहरी प्रवक्ता डिएसपी खगेन्द्रबहादुर खड्काले अस्पतालबाट घाइतेको मृत्यु भएको भन्ने जानकारीमा आएको बताए । उनको गोली लागेर मृत्यु भएको हो भएपनि प्रहरीको हतियार खोसिएकोले खोसिएको हतियार पड्काउँदा उनलाई गोली लागेको हो कि के हो बुझ्न नसकेको उनले जानकारी दिए ।

विर्तामोडकै झडपका क्रममा यसअघि झापा अर्जुनधाराका अन्दाजी ३० वर्षीय गोपाल सेडाईको मृत्यु भएको थियो । जेनजी विद्रोहकै क्रममा सुनसरीको इटहरीमा झडप हुँदा २३ गते इटहरीका २३ वर्षीय अभिषेश श्रेष्ठ र इटहरी १४ का मोहन सरदारको मृत्यु भएको थियो ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक दिपक पोखरेलले घाइतेको तथ्याङ्क भने आइनसकेको बताए । ‘हामी विवरणहरु संकलन गरिरहेका छौं । अहिलेसम्म एकिन विवरण आएको छैन,’ उनले भने ।

प्रदेश प्रहरीका अनुसार क्षतिको विवरण संकलन गर्ने क्रम जारी रहेको छ । ‘टोलीहरू परिचालन गरिएको छ । भौतिक संरचनाको क्षतिको पूर्ण विवरण आउन अझै एक–दुई दिन लाग्नेछ,’ एसएसपी पोखरेलले भने, ‘अझै प्रहरी सबै ठाउँमा पुगिन सकेको छैन ।’ क्षतिको विवरण संकलनमा प्रहरीका साथै नेपाली सेनाले पनि काम गरिरहेको उनले बताए । ‘सबै निकायबाट विवरण संकलन भएपछि संयुक्त अपरेशन टोलीमा शेयर हुन्छ । त्यसपछि मात्रै फाइनल रिपोर्ट सार्वजनिक होला,’ पोखरेलले भने ।

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा भएका झडपहरुमा केही प्रहरी घाइते भएपनि गम्भीर घाइते कोही नभएको बताइएको छ । ‘सामान्य घाइते भएका प्रहरीहरू उपचारपछि आफ्नो युनिटमा फर्किसकेका छन्,’ पोखरेलले भने, ‘सम्पर्कविहीन भएका करिब ८–१० जना प्रहरीहरू पनि सम्पर्कमा आइसकेका छन् । उनीहरु पनि सुरक्षित छन् ।’

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले घटनापछिको अवस्था र क्षतिको विवरण संकलन सुरु नै नभएको बताए । ‘काम कसरी र कहाँबाट गर्ने भन्नेबारे कुनै टुङ्गो लागेको छैन । सम्बन्धित कार्यालयहरूलाई आ–आफ्नो क्षतिको विवरण तयार गर्न अनुरोध गरिएको छ । प्रहरीहरू आफ्नो दैनिक काममा व्यस्त भएकाले क्षतिको मुचुल्का गर्न जाने अवस्था छैन,’ यादवले भने ।

भदौ २६, २०८२, साँझको ०७:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर