विराटनगरमा आगजनी र तोडफोडपछि लुटपाट

विराटनगर । विराटनगरमा मंगलबार ‘जेन–जी’ प्रदर्शनकारीहरूले गरेको आगजनी र तोडफोडपछि लुटपाट गर्ने गिरोह सक्रिय भएको छ। स्थितिलाई नियन्त्रणबाहिर जान नदिन बुधबार बिहानदेखि नेपाली सेना सडकमा उत्रिएको छ र कर्फ्यू आदेश जारी गरेको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार, आगजनी भएका सरकारी कार्यालय तथा अन्य स्थानहरूमा लुटपाट गर्ने समूह सक्रिय देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ। उनले केही घटना व्यक्तिगत रिसइबीका कारण पनि भएको बताएका छन्। मंगलबार प्रदर्शनकारीले कोशी प्रदेशसभा, मुख्यमन्त्रीको कार्यालय, मन्त्रालयहरू, अदालत र अन्य विभिन्न सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए।

प्रदर्शनको क्रममा विराटनगर महानगरपालिकाको कार्यालय, वडा कार्यालयहरू, उच्च अदालत, जिल्ला अदालत, मालपोत कार्यालय र आन्तरिक राजस्व कार्यालयमा ठूलो क्षति पुगेको छ। सयौं सरकारी तथा निजी सवारी साधनमा पनि आगजनी गरिएको छ, जसकारण अधिकांश सरकारी कार्यालयका फर्निचर, उपकरण र कागजात जलेर नष्ट भएका छन ।

स्थितिलाई नियन्त्रणमा लिन सेनाले कर्फ्यू आदेश जारी गर्दै सर्वसाधारणलाई आफ्नो व्यापार–व्यवसाय बन्द गरी घरभित्रै बस्न आह्वान गरेको छ।मंगलबार साँझ विराटनगरको भाटभटेनी सुपरमार्केटमा तोडफोड गरी लुटपाट गरीएको थियो । बुधबार बिहानसम्म पनि भाटभटेनीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।

मोरङ प्रहरीले लुटपाट र आगजनीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने कार्य जारी राखेको जनाएको छ।

भदौ २५, २०८२, दिउँसोको १२:३४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर