विराटनगर । सोमबारको जेनजी आन्दोलन र मंगलबारको देशब्यापी विध्वंशपछि आज विहानदेखि नेपाली सेना सडकमा निस्किएको छ ।
नेपाली सेनाले विरानगरको सडकमा माइकिङ गर्दै कर्फ्यू आदेश जारी गरेको छ । सेनाले अवस्थालाई नियन्त्रणमा लिन र थप क्षति हुन नदिन कफ्र्यु आदेश जारी गरिएको भन्दै सबै पसल र व्यवसाय बन्द गरेर घर–घरमा जान सर्वसाधारणलाई आह्वान गरिरहेको छ ।
मंगलबारको विराटनगर प्रदर्शनकारीहरुले प्रदेशसभा, मुख्यमन्त्री कार्यालयसहित अधिकांश मन्त्रालय र सरकारी कार्यालयमा तोडफोड र आगजनी गरेका थिए । त्यस क्रममा ती कार्यालयमा लुटपाट पनि भएको थियो । अपराध्हबाट सडक र सरकारी कार्यालयको सुरक्षामा रहेका प्रहरीहरु सबैले स्थान खाली गरेपछि जथाभावी तोडफोड र आगजनी भएको थियो ।
तोडफोड र आगजनीबाट विराटनगर महानगरपालिकाको कार्यालय, वडा कार्यालयहरु, उच्च अदालत, जिल्ला अदालत, मालपोत कार्यालय, आन्तरिक राजश्व कार्यालय, राजनीतिक दलका कार्यालय र नेताहरुका घरमा पनि ठूलो क्षति पुगेको छ । सयौं सरकारी तथा निजी सवारी साधनमा आगजनी गरिएको छ । आगजनी भएका अधिकांश सरकारी कार्यालयमा कुनै पनि फर्निचर, उपकरण र कागजपत्र बाँकी छैनन् ।
अहिले पनि धेरै कार्यालयमा आगो निभेको छैन । बल्ल दमकलले आगो नियन्त्रणको प्रयास थालेको छ । विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केटमा दिउँसो तोडफोड भएकोमा साँझपछि लुटपाट र आगजनी भएको छ । भाटभटेनीको आगो अझै नियन्त्राणमा आउन सकेको छैन ।