विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य मोरङ इञ्चार्ज जीवन घिमिरेले पार्टीबाट राजीनामा दिएको घोषणा गरेका छन् ।
मंगलबार विज्ञप्ति जारी गर्दै घिमिरे र महिला नेतृ उनकी श्रीमती विमला दाहाल घिमिरेले एमाले पार्टीमा नरहेको घोषणा गरेका हुन् । विमला एमालेको प्रदेश कमिटि सदस्य हुन् ।
जेनजी पुस्ताको आन्दोलनमा सरकारले गरेको दमनको निन्दा गर्दै घिमिरे दम्पत्तीले उनीहरुको आन्दोलनमा अब साथ दिने बताएका छन् । ‘हिजो भदौ २३ गते भ्रष्टाचार, बेतिथी बिरुद्ध जेनजी पुस्ताले गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा राज्य पक्षबाट भएको दमन निन्दनीय छ । उप्रान्त हामी दम्पत्ति जेनजी पुस्ताको एजेन्डा र आन्दोलनलाई समर्थन गर्दै नेकपा एमालेको कुनै पनि पद र जिम्मेवारीमा नरहने जानकारी गराउँदछौँ’ उनीहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एमाले नेता घिमिरे कोशी प्रदेशका पूर्व सामाजिक विकासमन्त्री हुन् । आन्दोलनकारीले नेताहरु र उनीहरुको घरलाई आक्रमणको निसाना बनाइरहेको बेला उनीहरुले राजीनामाको घोषणा गरेका हुन् ।
यस्तै बेलबारी नगरपालिकाका पूर्वप्रमुख रहेका कोशी प्रदेशसभा सदस्य ज्ञानेन्द्र सुवेदीले पनि राजीनामा दिएका छन् । जेनजी युवा पुस्ताले उठाऐको भ्रष्टचार विरूद्ध र सामाजिक संजाल सुचारू गर्ने मागसहित सुरू भएको आन्दोलनलाई सम्बोधन नगरी विध्यार्थी र नागरिकहरूको ज्यान लिएर सृजना भएको असामान्य परिस्थितिको कारण कोशी प्रदेश सभा सदस्य र एमाले कोशी प्रदेश कमिटी सदस्यबाट राजीनामा दिएको सुवेदीले बताएका छन् ।
चार दशकभन्दा बढी समयसम्म समाज र देश परिवर्तन गर्ने सोचले नेकपा एमालेको विचार, नीति र कार्यक्रमप्रति आस्था राखेर काम गरेकोमा अब पार्टी छाडेको सुवेदीले बताएका छन् । आगामी दिनमा नयाँ पुस्ता, युवा ऊर्जा र जनताको चाहनासँगै देश र जनताको हितका लागि स्वतन्त्र भएर समर्पित रहने सुवेदीले बताएका छन् ।
सुवेदीले केपी ओली नेतृत्वको सरकारलाई हत्यारा र भ्रष्टको संज्ञा दिँदै सुवेदीले आथजामी दिनमा सत्य र न्यायको पक्षमा बताएका छन् । ‘देशलाई दलाल र भ्रष्ट शासनको चङ्गुलमा फसाउन खोज्ने अहिलेको हत्यारा सरकारको अन्याय, दमन र असंवेदनशीलताप्रति कडा विरोध गर्दछु। आगामी दिनमा सत्य, न्याय र जनताको पक्षमा नडगमगी लडिरहने प्रतिज्ञा गर्दछु’ उनले भनेका छन् ।
यस्तै मोरङको बेलबारी नगरपालिकाका मेयर डीपी राईले पदबाट राजीनामाको घोषणा गरेका छन् । नगरबासीलाई सम्बोधन गर्दै उनले एमाले पार्टी र जनप्रतिनिधिको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
भ्रष्टाचारविरुद्ध र सामाजिक सञ्जाल सुचारु गर्ने मागसहित सुरू भएको जनसरोकारका मागलाई सम्बोधन नगरी विद्यार्थी र नागरिकहरूको ज्यान लिएका कारण राजीनामा दिएको राईले बताएका छन् ।
काँग्रेस नेतृ एवं बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले पनि पार्टी र उपमेयर पदबाट राजीनामा दिएको घोषणा गरेकी छन् । कोइराला नेपाली काँग्रेसबाट निर्वाचित भएकी हुन् । बेलबारीका १ का वडाध्यक्ष मणिबहादुर मगर, ३ नं. वडाध्यक्ष योगेन्द्र सुवेदी, ५ नं. का वडाध्यक्ष डिल्लीबहादुर कटवाल, ७ नं.को वडाध्यक्ष सुनिता चौधरी र ११ नं. वडाका अध्यक्ष बिक्रम बान्तवाले पनि राजनीनामाको घोषणा गरेका छन् । उनीहरुमध्ये पुलामी र वान्तवा काँग्रेसबाट निर्वाचित भएका हुन् भने सुवेदी, कटवाल र चौधधरी एमालेबाट निर्वाचित भएका हुन् ।



























1 प्रतिक्रिया
1 प्रतिक्रिया
अबसरबादीहरु
प्रतिक्रियाहरू बन्द छन्।