विराटनगर । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।
सोमबार जेनजीको प्रदर्शनका क्रममा सरकारको दमनका कारण १९ युवाले ज्यान गुमाएपछि सरकारको चौतर्फी आलोचना हुँदा पनि काँग्रेसले सरकारबारे कुनै निर्णय नगरेपछि काँग्रेसका मन्त्रीहरुले आफै राजीनामा दिन थालेकाक हुन् ।
‘यस्तो अवस्थामा सरकारमा बसिरहनु जरुरी भएन’ पौडेलले भने, ‘राजीनामा दिँदैछु ।’ यसअघि काँग्रेसबाटै कृषिमन्त्री भएका रामनाथ आधिकारीले पनि राजीनामाको घोषणा गरिसकेका छन् भने गृहमन्त्री रमेश लेखकले सोमबार नै राजीनामा दिएका छन् ।
यसैबीच नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अविलम्ब पद छाड्न भन्दै यो सरकारमा कांग्रेस अब एक दिन पनि रहन नहुने बताएका छन् । मंगलबार बिहान सामाजिक सन्जालमा लेख्दै महामन्त्री थापाले सोमबारको जेनजी आन्दोलनको दमनको जिम्मा लिँदै पद छाड्नु पर्ने बताएका हुन् ।
‘रातभर सुत्न सकिन। म जस्तै देशभित्र र बाहिर रहेको सिंगो नेपाल सुत्न सकेको छैन। अबोध युवाहरू अनाहकमा मारिएको त्यो क्रुर दृष्य आँखा अगाडि घुमिरहेको छ,’ थापाले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यूले यो दमनको जिम्मा लिएर अबिलम्ब पद छोड्नुपर्छ।’ उनले अब नेपाली कांग्रेस एक दिन पनि यो परिस्थितिको थप साक्षी र साझेदारका रुपमा रहनुहुदैन भन्दै रहन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेस सरकारबाट तत्काल फिर्ता हुनुपर्ने भन्दै थापाले पार्टीको बैठकबाट यो निर्णय गराउन लाग्ने बताएका छन् ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।