अजम्बर काङमाङ माओवादीको स्थायी समितिमा मनोनित: कोशीबाट पहिलो प्रतिनिधित्व

विराटनगर । भोजपुर घर भएका अजम्बर काङमाङ राई नेकपा माओवादी केन्द्रको स्थायी समितिमा मनोनित भएका छन्।

बिहिबार बसेको पार्टी पदाधिकारीको बैठकले काङमाङलाई स्थायी समिति सदस्यमा थप गरेको हो। उनी स्थायी समितिमा थप भएसँगै कोशी प्रदेशबाट माओवादी केन्द्रको स्थायी समितिमा प्रतिनिधित्व भएको छ।

गोपाल किराँतीको माओवादीबाट बहिर्गमनपछि पार्टीको स्थायी समितिमा कोशी प्रदेशको प्रतिनिधित्व थिएन। सिन्धुली घर भएका उपमहासचिव हरिबोल गजुरेलले पार्टीको प्रदेश इन्चार्जको जिम्मेवारी सम्हालिरहेका छन्।

लामो समय नेकपा एमालेको राजनीति गरेर उदाएका नेता काङमाङ वैचारिक र बौद्धिक नेताका रूपमा परिचित छन्। २०३५ सालदेखि नेकपा मालेसम्बद्ध अनेरास्ववियु एकताको पाँचौंबाट राजनीतिक यात्रा प्रारम्भ गरेका उनले अन्नपूर्ण माविको स्ववियू सचिव, भोजपुर जिल्ला कमिटी सचिव, सुनसरी अध्यक्ष, कोशी अञ्चल सदस्य, एमाले भोजपुर  पार्टी जिल्ला कमिटी सदस्य भएका थिए ।

२०६४ सालमा नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घको केन्द्रीय अध्यक्ष  भएका काममाङ २०६५ सालमा एमाले केन्द्रीय सदस्य भएका थिए । २०६९ सालमा एमालेबाट विद्रोह गरी अशोक राईहरूसँगै संघीय समाजवादी पार्टीमा आबद्ध उनी २०७४ चैतमा त्यहाँ पनि विद्रोह गरी माओवादी केन्द्रमा आबद्ध भएका थिए।

काममाङ यसअघि पार्टीको प्रदेश सह इन्चार्ज थिए । पछिल्लो पटक सहइन्चार्जको प्रावधान हटाएपछि उनी प्रदेश समन्वय केन्द्रको सदस्यको रुपमा रहेका थिए। केही दिन अगाडि बसेको माओवादी केन्द्र कोशी प्रदेश कमिटीको बैठकमा प्रदेश इन्चार्ज हरिबोल गजुरेलले काममाङलाई स्थायी समितिमा लैजानुपर्ने प्रस्ताव अध्यक्ष प्रचण्डका अगाडि राखेका थिए ।

गजुरेलको सोही प्रस्तावको आधारमा बिहिबार बसेको पार्टी पदाधिकारीको बैठकले उनलाई स्थायी समितिमा मनोनित गरेको हो।

भदौ २०, २०८२, बिहानको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर