अनेरास्ववियु मोरङमा ओली र विद्या पक्षका छुट्टाछुट्टै संयोजक !

विराटनगर । नेकपा एमालेनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङमा समानान्तर कमिटी बनेको छ ।

संस्थापन पक्ष र विद्या भण्डारी पक्षले छुट्टाछुट्टै संयोजक चयन गरेका हुन् । शनिबार विराटनगरस्थित एमाले मोरङ जिल्ला पार्टी कार्यालयमा बसेको अनेरास्ववियु जिल्ला कमिटीको बैठकमा कसलाई संयोजक बनाउने भन्ने विषयमा विवाद भएपछि दुई पक्ष छुट्टिएका हुन्।

संस्थापन पक्षले एलिस ओझालाई संयोजक घोषणा गरेको छ भने भण्डारी पक्षले संगठनका हालका उपाध्यक्ष संगम कन्दङ्वालाई संयोजक चयन गरेको छ।

बैठक अनेरास्ववियु केन्द्रीय सदस्य तथा मोरङ इन्चार्ज प्रीति दाहालको प्रमुख आतिथ्यता र जिल्ला संयोजक वीरेन्द्र घिमिरेको अध्यक्षतामा बसेको थियो।

तर, बहुमत सदस्यले कन्दङ्वालाई संयोजक बनाउने निर्णय गरेपछि संस्थापन पक्षका संयोजक घिमिरे बैठक छाडेर बाहिरिएका थिए।

घिमिरे ३२ वर्षे उमेर सीमा नाघेको विषयमा विवादमा तानिएका थिए। नेकपा एमाले जिल्ला कमिटीका उपसचिव एवं संगठन विभाग प्रमुख सन्तोष वान्तवा, विद्यार्थी फाँट प्रमुख जोसेफ घिमिरे, अनेरास्ववियु प्रदेश कमिटीका सह–संयोजक नवराज घिमिरेलगायतले घिमिरे उमेरहद पार गरिसकेको प्रमाण पेश गरेका थिए। त्यसपछि बैठक स्थगित भएको थियो।

तर, केही समयपछि पार्टी नेताको समन्वयमा बसेको अर्को बैठकले उपाध्यक्ष संगम कन्दङ्वालाई आयोजक कमिटी संयोजक तोकेको जिल्ला सचिव मनोज कार्कीले जानकारी दिएका छन्।

यता, बैठक छाडेर निस्किएका संयोजक वीरेन्द्र घिमिरेले भने एलिस ओझालाई संयोजक घोषणा गरेका छन् ।

यसअघि गत माघमा तत्कालीन अध्यक्ष तुलसी घिमिरे र उपाध्यक्ष रुपेश खड्का रहँदा पनि अनेरास्ववियु केन्द्रीय कमिटीले तत्कालीन सचिव वीरेन्द्र घिमिरेलाई संयोजकको जिम्मेवारी दिएको थियो।

भदौ ८, २०८२, साँझको ०६:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर