एमाले कार्यालय पुगेर कार्यकर्तालाई भण्डारीको सम्बोधनः पार्टीमा सक्रिय भइसकेको छु

विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी करिब १० वर्षपछि नेकपा एमाले मोरङको कार्यालय पुगेर कार्यकर्तालाई सम्बोधन गरेकी छन् ।

नेकपा एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेक भण्डारीलाई एमाले केन्द्रीय समिति बैठकले सदस्यता नै खारेज गरेको बेला विराटनगर आएकी भण्डारी मंगलबार पार्टी कार्यालय पुगेकी हुन् ।

एमाले मोरङ र कोशी प्रदेशको कार्यालय विराटनगरस्थित पाञ्चालीमा एउटै भवनमा छ । पार्टी कार्यालयमा भण्डारी जाने भएपछि केपी ओली पक्षधरले नेता तथा कार्यकर्तालाई त्यहाँ नजान उर्दी जारी गरेका थिए । तर, उनलाई पार्टी कार्यालयमा केन्द्रीय सदस्य रामलाल साह, मोरङ अध्यक्ष अजम्बर राईसहहितका नेता तथा कार्यकर्ताले स्वागत गरे ।

भण्डारीले पार्टी कार्यालयको मैदानमा रहेको मदन–आश्रितको सालिकमा माल्यार्पण गरिन् । सो अवसरमा साह, राईसहित पार्टीका जिल्ला उपाध्यक्ष सागर थापा, सचिव सोमराज थापासहितका नेताहरु थिए । एमाले मोरङ जिल्ला कमिटीमा भण्डारी पक्षधरको पकड छ ।

भण्डारी पार्टी कार्यालयमा पुग्दा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडा भने देखिएनन् । भण्डारी पाटी कार्यालय जाने विषयमा आफूहरूसँग औपचारिक जानकारी नआएको खतिवडाले बताएका छन् ।

जिल्ला समितिले भने पार्टी कार्यालयमा भण्डारी आउने भएकाले स्वागतमा सहभागी हुन भनेको थियो । एमाले महानगर इन्चार्ज परशुराम बस्नेतले भने पार्टी कार्यालयमा कुनै कार्यक्रम नभएको भन्दै सहभागी नहुन उर्दी जारी गरेका थिए ।

पार्टी कार्यालयमा कार्यकर्तालाई सम्बोधन गर्दै भण्डारीले देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्वोपरि राखेर अगाडि बढ्नुपर्नेमा जोड दिँदै आफू पुनः पार्टीको सदस्यको रूपमा सक्रिय रहेको बताइन् । आफू राष्ट्रपति निर्वाचित भएपछि राष्ट्रिय जिम्मेवारीका कारण पार्टी कार्यालयमा आउन नपाएको भन्दै उनले राष्ट्रपति पदबाट निवृत्त भएपछि पार्टी सदस्यता नवीकरण गरेको जानकारी दिइन् ।

आफू एमालेको सदस्य भएको ४५ वर्ष भएको स्मरण गर्दै भण्डारीले पार्टी सदस्य पनि विराटनगरबाटै भएको र शपथ खाएकोले विराटनगर, मोरङ गृहजिल्ला, गृह नगर जस्तो लाग्ने बताइन् । उनले नेपालको राष्ट्रियता, सार्वभौमिकता र भौगोलिक अखण्डता कायम राख्न आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्नेमा जोड दिँदै एमालेको सामान्य सदस्य मात्रै भएर पनि राष्ट्रिय एजेन्डामा काम गर्ने बताइन् ।

आफू विशेष कामको जिम्मेवारीबाट फर्केर पुनः पार्टीको परिवारमा आबद्ध भएको बताउँदै भण्डारीले उपस्थित सबैलाई पार्टीको सिद्धान्तलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्न लाग्न आग्रह गरिन् । एमालेले सदस्यता नविकरण नगर्ने निर्णय गरेको विषयमा भने उनले कुनै प्रतिक्रिया दिइनन् ।

भण्डारीलार्ई पार्टीका कुनै पनि गतिविधिमा संलग्न हुन नदिन एमालेले निर्देशन गरेको भएपनि उनले मोरङमा सोमबार पनि नेता तथा कार्यकर्तासँग भेटघाट गरेकी थिइन् । मंगलबार उनी पार्टी कार्यालय पुग्दा उनको स्वागतमा सयौँ एमाले कार्यकर्ताहरू उपस्थित थिए ।

एमाले मोरङको गत दशौं अधिवेशनमा ओली पक्षीय नेताहरू सबै पदाधिकारीमा पराजित भएका थिए । विराटनगर महानगरमा पनि भण्डारी पक्षीय प्यानलले नै कब्जा जमाएको थियो । त्यहि भएर महानगर इञ्चार्ज बस्नेतको उर्दीलाई बेवास्ता गर्दै नेता तथा कार्यकर्ता पार्टी कार्यालय पुगेका थिए ।

एमालेको साउन ५–६ मा बसेको नवौँ केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टीमा आउन निषेध गरेको भएपनि भण्डारीले आफ्नो सदस्यता नविकरण भइसकेको जिकिर गर्दै आएकी छन् ।

भदौ ३, २०८२, दिउँसोको ०२:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर