विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार विराटनगर आइपुग्दा नेकपा (एमाले) को आन्तरिक राजनीतिको विभाजन स्पष्ट देखिएको छ ।भण्डारी यसअघि विराटनगर आउँदा नेकपा एमालेका सबैखाले नेता तथा कार्यकर्ता स्वागतको लागि विमानस्थल पुग्ने गर्दथे । तर, सोमबार भने त्यस्तो देखिएन ।
भण्डारीको स्वागतमा प्रदेश सरकारकी राज्यमन्त्री सिर्जना राई र एमाले प्रदेश कमिटीका सचिव राजकुमार भण्डारी विराटनगर विमानस्थल पुगेका थिए । त्यसबाहेक एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट मानिने नेताहरू भने अनुपस्थित रहे ।
एमालेको सचिवालय तथा केन्द्रीय कमिटीले हालै मात्र भण्डारीलाई ‘राष्ट्रको गौरव’ माने पनि उनको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । एमालेले भण्डारीको पक्षमा बोल्न पनि तल्लो पंक्तिलाई रोक लगाएको छ । त्यहि भएर ओलीसँग निकट सम्बन्ध राख्ने नेताहरू उनको स्वागतमा देखिएनन् ।
यसअघि भण्डारीलाई स्वागत गर्न कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री एमाले प्रदेश इञ्चार्ज शेरधन राईदेखि मुख्मन्त्री हिक्मतकुमार कार्की तथा मन्त्रीहरु पनि विमानस्थल पुग्ने गरेका थिए । तर, उनीहरु सोमबार देखिएनन् । एमाले प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले भने आफू पार्टीकै अर्को कार्यक्रममा व्यस्त भएकाले भण्डारीको स्वागत गर्न सचिव भण्डारीलाई पठाएको बताए ।
राज्यमन्त्री राई र एमाले सचिव भण्डारी स्वागत गरेलगत्तै विमानस्थलबाट बाहिरिएका थिए । त्यसपछि विमानस्थलको विशिष्ट कक्षमा भण्डारी निकटका नेता विनोद ढकाल, एमाले मोरङका उपाध्यक्ष सागर थापा र मोरङ सचिव सोमराज थापासहितका नेताहरु थिए ।
भण्डारीले यसअघि मोरङ आएर एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गरेकी थिइन् । एमालेको निर्णयपछि पनि उनको राजनीतिक सक्रियता रोकिएको छैन ।