एमालेले जग्गा हडप्न विधेयक ल्यायो : काँग्रेस नेता काइराला

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले पार्टीको १५ औं महाधिवेशन समयमै नगरेर २०८४ सालको निर्वाचनपछि धकेल्ने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई असफल पार्न पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल दबाब दिन आम कार्यकर्तालाई आह्वान गरेका छन् । उनले महाधिवेशन समयमा नभए पार्टी र लोकतन्त्र दुवै समाप्तिको बाटोमा जाने चेतावनी दिएका छन् ।

कांग्रेस जिल्ला कार्यसमिति, सोलुखुम्बुले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा आक्रामक रूपमा प्रस्तुत भएका कोइरालाले पार्टी नेतृत्व र सत्ता गठबन्धनको प्रमुख साझेदार नेकपा (एमाले) माथि एकैसाथ गम्भीर आरोपहरू लगाए । ‘अहिले २०८४ सालपछि मात्रै महाधिवेशन गर्ने भन्ने कुराहरू सुनिन थालेका छन् । यदि यस्तो दुस्साहस गरियो भने नेपाली कांग्रेसको भविष्यमाथि नै गम्भीर प्रश्नचिन्ह खडा हुनेछ,’ कोइरालाले भने, ‘पार्टीलाई जीवन्त राख्ने, एकढिक्का बनाउने र मौलाएको बेथिति अन्त्य गर्ने एउटै माध्यम समयमै हुने महाधिवेशन हो । यसका लागि सभापतिलाई दबाब दिन अब ढिला गर्नुहुँदैन ।’

पार्टीभित्रको मौलाउँदो गुटबन्दीप्रति आक्रोश व्यक्त गर्दै उनले कांग्रेसको अनुशासन समिति समेत गुटमा विभाजित भएको दुर्भाग्यपूर्ण अवस्था रहेको टिप्पणी गरे । ‘जब न्याय दिने निकाय नै गुटको सिकार हुन्छ, तब पार्टीमा न्याय र अनुशासनको के अर्थ रहन्छ,’ उनले प्रश्न गरे ।

कोइरालाले वर्तमान सत्ता गठबन्धनको कार्यशैलीप्रति पनि कडा असन्तुष्टि व्यक्त गरे । देशका ठूला दलहरू मिलेर सरकार बनाए पनि भ्रष्टाचार र दण्डहीनताले सीमा नाघेको उनको भनाइ थियो । उनले गठबन्धनको प्रमुख दल एमालेमाथि नीतिगत भ्रष्टाचारमा संलग्न भएको संगीन आरोप लगाए ।
‘ूनिजामती विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ जस्तो संवेदनशील विषयमा छेडखानी गर्ने काम एमालेबाटै भएको हो, यो कुरा लुकाएर लुक्दैन,’ कोइरालाले भने । उनले एमालेले खाली जग्गा हडप्ने कुत्सित उद्देश्यका साथ भूमि सम्बन्धी विधेयक ल्याउन लागेको आरोप लगाउँदै त्यसलाई कुनै पनि हालतमा सफल हुन नदिने बताए ।

‘हाम्रा सांसदहरूले भूमि सम्बन्धी विधेयकमा जनताको पक्षमा संशोधन प्रस्ताव हाल्दा भूमिमन्त्रीले ठाडै अस्वीकार गर्नुभयो । यसले उहाँहरूको नियत के हो भन्ने स्पष्ट पार्छ,’ कोइरालाले भने । उनले कांग्रेस र एमालेबीच भएको सहमति अनुरुप सरकार चल्न नसकेको र एमाले एकलौटी ढंगले अघि बढ्न खोजेको भन्दै नेतृत्वको ध्यानाकर्षण गराए । कोइरालाको यो अभिव्यक्तले कांग्रेसभित्रको आन्तरिक संघर्ष र सत्ता गठबन्धनभित्रको बढ्दो दरारलाई सतहमा ल्याइदिएको छ ।

साउन ३१, २०८२, साँझको ०७:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर