विराटनगर । सांसद जनताका प्रतिनिधि हुन् । उनीहरुले संसदमा कानुन निर्माण प्रक्रियामा भूमिका निर्वाह गर्छन् भने जनताका समस्यालाई उठाएर सरकारको ध्यानाकर्षण गराउँछन् । तर, कोशी प्रदेशका दुई सांसदले भने निर्वाचित भएको ३२ महिना पुरा हुनलाग्दा एक शब्द पनि बोलेका छैनन् ।
कानुन निर्माण प्रक्रियामा बिधेयकको शैद्धान्तिक छलफलमा भाग लिने, संशोधन हाल्ने, त्यसमाथि छलफल गर्ने, शुन्य समय र विषेश समयमा जनताका मुद्दा उठाउने जिम्मेवारी सांसदको हो । तर, नेकपा एमालेका नम्बरलाल धिमाल र नेपाली काँग्रेसका लिलाकुमारी राईले एक शब्द नबोली तीन वर्ष गुजार्न लागेका छन् ।
उनीहरूले शून्य समय, विशेष समय वा सैद्धान्तिक छलफल कतै पनि सहभागिता जनाएका छैनन् । संसदमा आएर हाजिर गरेपनि कुनै पनि प्रक्रियामा सहभागी नभई मौन बसेरै राज्यकोषबाट तलब भत्ता भने लिइरहेका छन् ।
प्रदेश सभा सचिवालयका अनुसार दुबै सांसद समानुपातिक हुन् । अहिलेसम्म कोशी प्रदेशसभाको सातौं अधिवेशन चलिरहेको छ । तर, उनीहरुले कुनैपनि अधिवेशनमा बोलेका छैनन् ।
प्रदेशसभा सदस्य राईले अहिलेसम्म आफूले सदनमा नबोलेको स्वीकार गर्दै अन्य सांसदहरूले बोलेको कुरा कार्यान्वयन नभएको देखेर नबोलेको दावी गरेकी छन् । ‘जनतालाई आफ्नो क्षेत्रको सांसदले पनि बोल्यो है भन्ने देखाउनका लागि मात्रै के बोल्नु ?’ उनको भनाइ छ, ‘बोलेका कुरा लागू नै हुँदैन रहेछन् ।’
सांसद धिमालले भने आफू अब शून्य समयमा बोल्ने तयारीमा रहेको बताएका छन् । ‘शून्य समयमा दुई–तीनवटा विषयमा बोल्ने तयारी गर्दैछु,’ उनले भने, ‘अब बोल्छु होला ।’
प्रत्येक प्रदेश सभा सदस्यले राज्यबाट मासिक तलब, घरभाडा, सञ्चार, यातायात लगायतका विभिन्न शीर्षकमा आकर्षक सुविधा प्राप्त गर्दछन् । यस्तै, बैठकमा सहभागी भएको दिन छुट्टै भत्ता उनीहरुलाई उपब्ध हुन्छ ।
प्रदेशसभा सचिवनालयका अनुसार नेपाली कांग्रेसका सांसद अमृतकुमार अर्यालले पनि एक पटक मात्रै प्रदेशसभामा बोलेका छन् । यस्तै एमालेका ज्ञानेन्द्र सुवेदी र काँग्रेसका मानबहादुर लिम्बू पनि एक पटक मात्रै संसदमा बोल्ने सांसद हुन् । सचिवालयका अनुसार माओवादीका जीवन आचार्य पनि एक पटक मात्र बोल्ने सांसदको सुचीमा छन् ।
मन्त्री बनेकाबाहेक सांसदहरुको सुचीमा नुरसदी बेगम र मोहन महर्जन २ पटक मात्रै बोल्ने सांसद हुन् । यस्तै, विजय कुमार राई र सुनिता गच्छदार (चौधरी)ले ३ पटक मात्रै बोलेका छन् ।
जनताले प्रत्यक्ष मतदान गरेर पठाएका प्रतिनिधिले नै उनीहरूका मुद्दामा एक शब्द पनि नबोल्नुले उनीहरुको गैरजिम्मेवारीपनलाई उजागर गरेको जानकारहरू बताउँछन् । जनताले आफ्नो मत दिएर पठाएका प्रतिनिधिहरू चुपचाप बस्दा त्यस क्षेत्रका वा त्यस समुदायका समस्याहरू कसले र कहाँ उठाउने भन्ने प्रश्न उठ्न थालेको छ ।
आफ्ना सांसदलाई सदनमा प्रभावकारी भूमिका खेल्न लगाउनु संसदीय दलको पनि कर्तव्य हो । दलले पनि यसमा ध्यान नदिएको देखिन्छ ।
एकाथरि सांसदहरू मौन रहँदा कतिपय सांसद भने निकै सक्रिय छन् । माओवादीका गोम्बु शेर्पाले सबैभन्दा धेरै ४६ पटक बोलेका छन् । यस्तै, रमेशकुमार बस्नेतले ३८ पटक, एमालेकै किशोरचन्द्र दुलालले ३६ पटक, काँग्रेसका शोभा चेम्जोङले ३३ पटक बोलेका छन् ।