काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताएका छन् ।
आइतबार पार्टी स्थायी कमिटी बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष प्रचण्डले गल्ती गर्नेले आत्मालोचना गर्ने बताएका हुन् । बैठकमा छलफल चलिरहेको भन्दै उनले जसले गल्ती गरेको छ त्यसले आत्मालोचना गर्ने बताएका थिए ।
स्थायी कमिटी बैठकमा बोल्ने क्रममा उपमहासचिव जनार्दन शर्माले पार्टी बिग्रनुको जिम्मेवारी अध्यक्ष प्रचण्डले लिनुपर्ने भन्दै आफू पनि आत्मालोचना गर्ने बताएका थिए । बैठकमा बोल्ने अन्य सबै नेताहरुले भने पार्टी र नेतृत्वमाथि जनार्दनले जथाभावी बोलेको भन्दै आत्मालोचना गर्नुपर्ने बताएका थिए ।
शुक्रबार सुरु भएको बैठकमा १९ जनाले धारणा राखेका थिए । उनीहरु सबैले अध्यक्ष प्रचण्डले पेश गरेको एजेण्डा र प्रस्तावप्रति समर्थन गर्दै उपमहासचिव जनार्दन शर्माको प्रबृत्तिको आलोचना गरेका थिए । शर्माले गलत गरेको भन्दै आत्मालोचना गर्नुपर्ने र आफूलाई सच्याउनुपर्नेमा उनीहरुको जोड थियो ।
उपाध्यक्ष नन्दबहादुर पुन पासाङले उपमहासचिव जनार्दन शर्माप्रति टिप्पणी गर्दै जनयुद्धको समयको प्रभाकर अहिले नदेखिएको बताएका थिए । ‘जनयुद्धको समयमा जस्तो जनार्दन शर्मा प्रभाकर हुनुहुन्थ्यो अहिले त्यस्तो पाइएन’ उनले भने, ‘उहाँ पूरै परिवर्तन भएको महसुस मलाई भयो ।’
जनयुद्धमा पार्टीका विरुद्ध लाग्नेका विरुद्ध लने जनार्दन अहिले पार्टी नेतृत्वविरुद्ध उभिएको भन्दै पुनले आपत्ती जनाएका थिए । माओवादीमा पहिलेदेखि नै अतिवादी प्रवृत्ति समस्याको रूपमा रहेको भन्दै उनले भने, ‘हिजो त्यो प्रवृत्ति विप्लवमा थियो । अहिले पनि पार्टीमा पनि देखिएको छ ।’
अर्का उपाध्यक्ष कृष्णबहादुर महराले जनार्दनले पार्टी नेतृत्वविरुद्ध दिएको अभिव्यक्ति सच्चाउनु पर्ने बताए । नेतृत्वलाई ड्यामेज गर्ने कुराले पार्टी र माओवादी आन्दोलनलाई नै समाप्त पार्ने उनको भनाइ थियो ।
नेतृत्व कसैले दिएर वा मागेर बन्ने चिज नभएको महराको भनाइ थियो । ‘नेतृत्व कसैलाई इच्छा लाग्यो भनेर दिएर हुने कुरा होइन’ उनले भने, ‘म लिन्छु भनेर हुने कुरा पनि होइन् । त्यो वर्ग संघर्ष र अन्तरसंघर्षले स्थापित हुने कुरा हो ।’
उपमहासचिव हरिबोल गजुरेलले कम्युनिष्ट पार्टीमा रचनात्मक सहयोग वा रचनात्मक प्रतिवाद गरेर मात्रै नेतृत्व स्थापित हुने बताउँदै अध्यक्ष प्रचण्ड यी दुवै चरण पार गरेर आएको उल्लेख गरे । ‘कम्युनिष्ट पार्टीमा उत्तराधिकारीको प्रश्न होइन, रचनात्मक सहयोग गरेर वा गलत भए रचनात्मक प्रतिवाद गरेर हुन्छ,’ उनको भनाइ थियो, ‘जनार्दन शर्माले त्यो भूमिका खेलेको देखिएन ।’
कतिपय नेताहरुलाई धेरै स्पेस दिएको कारण मात्तिएर आन्दोलनलाई क्षति पुग्ने गरेको भन्दै गजुरेलले जनार्दनले उठाएको विषय मैत्रीपूर्ण संघर्ष नभएको टिप्पणी गरे । अन्तरसंघर्ष भनिएपनि त्यसलाई वर्गसंघर्ष जसरी सञ्चालन गर्न खोजेको उनको भनाइ थियो ।
यस्तै सचिव हितराज पाण्डेले उपमहासचिव जनार्दन शर्माका कुरा संसदमा पनि पार्टीलाइन भन्दा फरक सुनिन थालेको भन्दै चिन्ता व्यक्त गरे । सदन र सरकारमा रहेर बोल्दा पार्टी र नेतृत्वलाई स्थापित गर्नभन्दा पनि आफू फरक हुँ भन्ने अभिव्यक्ति जनार्दनले राख्ने गरेको उनको नभाइ थियो ।
‘नेतृत्वप्रति संशयजनक टिप्पणी गर्ने, सरकारमा पार्टी सहभागी हुँदा पार्टीका तर्फबाट स्पष्ट धारणा नराख्ने, आफूलाई फरक हिसाबले प्रस्तुत गर्ने प्रवृत्ति देखिएको छ’ पाण्डेले भने, ‘जनार्दनका धारणा पार्टी लाइनभन्दा किन भिन्न सुनिन थाल्यो ।’ पछिल्लो समयमा सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेकोले त्यसविरुद्ध बोल्नुपर्नेमा पार्टी अध्यक्षलाई विभिन्न प्रकारका आरोप लगाउनु गलत भएको उनको भनाइ थियो ।
अर्का सचिव हितमान शाक्यले उपामहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई लक्षित गर्दै उत्तराधिकारी खोजेर बनाइने विषय नभएको बताए । शर्माले पार्टी अध्यक्ष प्रचण्डले नेतृत्व छाडेर मार्ग प्रशस्त गर्नुपर्ने भनेकोप्रति लक्षित गर्दै उनले भने, ‘अहिलेको बेला पार्टी कमजोर बनाउँदै बाहिरिने वा विकल्प खोज्ने कार्य अनुचित छ, यो बेलामा गल्ती सुधार्ने हो, आत्मालोचना गरेर अघि बढ्ने हो, भाग्ने होइन ।’
पार्टीको र आफ्नो कमजोरी जनतामाझ खुलेर स्वीकार गर्ने नेतृत्व प्रचण्ड नै भएको दाबी गर्दै सचिव शाक्यले सबै मिलेर पार्टी पुनःनिर्माणमा भूमिका खेल्नुपर्ने बताए । पार्टी फुटाउनु गल्ती हो भन्ने महसुस गरेरै आफू मुलघरमा फर्किएको भन्दै उनले त्यो गल्ती गर्न नहुने बताए ।
स्थायी समिति सदस्य यशोदा सुवेदीले रुकुममा अध्यक्ष प्रचण्डले गरेको भाषण एक पटक फेरि सुन्न उपमहासचिव शर्मालाई आग्रह गरिन् । शर्माको कार्यशैलीको आलोचना गर्दै सुवेदीले भनिन्, ‘पार्टी छोडेर जान भनेको कुरा कहाँ छ ? अध्यक्ष आउनुभन्दा पहिला उत्तेजनात्मक रूपमा तपाईंले के-के बोल्नुभएको थियो, फेरि पनि भिडियो सुन्नुहोला । यत्तिकै आरोप लगाउन पाइँदैन ।’
बैठकमा उपमहासचिव शर्माले भने पार्टी विभाजनको हल्ला खारेज गर्दै पार्टी छोडेर नजाने र पार्टी नफुटाउने बताएका थिए । आफूले पार्टीलाई बलियो बनाउन खोजको जिकिर गर्दै उनले विभाजनको कसरत नगरेको र फुटाउँछु समेत नभनेको तर्क गरे । पार्टीको जनमत घटेको कारण खोज्नुपर्नेमा जोड दिँदै उनले यसको लागि अध्यक्षले जिम्मा लिनुपर्ने बताएका थिए ।
आफूले पार्टी निर्माणका लागि सबैका सामु प्रश्न उठाएको जिकिर गर्दै शर्माले पार्टी निर्माणमा प्रश्न उठाएबापत सजाय भोग्न तयार रहेको बताएका थिए । उनले ३१ लाखबाट ११ लाख मत झार्न आफ्नो कमजोरी भए आत्मालोचना गर्न तयार रहेको बताएका थिए ।
पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले स्थायी कमिटीमा अधिकांशले प्रचण्डको विकल्प नखोज्ने मत राखेको जानकारी दिएका छन् । बाहिरी मञ्चहरूमा नेतृत्वको विकल्पबारे कुरा उठाउँदै आएका उपमहासचिव शर्माले पनि बैठकमा त्यसबारे नबोलेको उनको भनाइ छ ।
शनिबारको सचिव राम कार्कीले पनि बैठकमा नेतृत्वको विकल्पका विषयमा कुरा उठाएका थिए । तर, नेतृत्वको विकल्पको एजेन्डामा फरक मत राख्ने नेताहरु न्यून नरहेको भन्दै उपाध्यक्ष सापकोटाले त्यसको अर्थ नहुने बताए । सचिव कार्कीले पार्टीको नेतृत्व रोटेशन प्रणालीमा लैजानुपर्ने बताएका थिए ।
शुक्रबारदेखि सुरु भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा शनिबार २५ जनाले धारणा राखेका थिए । उनीहरुमध्ये सचिव राम कार्कीले घुमाउरो रुपमा शर्माको समर्थन गरेको भएपनि अन्य सबैले अध्यक्ष प्रचण्डको प्रस्तावको समर्थन गर्दै पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा राखेका थिए ।
बैठक सोमबार पनि जारी रहनेछ । अब महासचिव र वरिष्ठ उपाध्यक्षले धारणा राखेपछि अध्यक्ष प्रचण्डले धारणा राख्ने र बैठक सकिने बताइएको छ ।
राम्रो छ लेखने शैलि