माओवादी बैठकमा प्रचण्ड : स्वार्थ समूह विघटन गर्नुपर्छ, जथाभावी बोल्न छुट छैन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पार्टीभित्रको अन्तरविरोधलाई बाहिर लगेकोमा उपमहासचिव जनार्दन शर्मासँग आपत्ती जनाएका छन् ।

शुक्रबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा एजेन्डा प्रस्तुत गर्दै प्रचण्डले शर्माको पछिल्लो गतिविधि पार्टी हितमा नभएको बताएका हुन् ।

आन्तरिक विवादलाई आगामी दिनमा बाहिर नलैजान प्रचण्डले शर्मालाई सचेत गराएका एक नेताले जानकारी दिए । ‘पार्टीभित्र अन्तरविरोधको विषयमा जनार्दनजीको लगातार अभिव्यक्ति आएका छन् । यसलाई रोक्नुपर्‍यो’ प्रचण्डले बैठकका एजेण्डा प्रस्तुत गर्दै भने, ‘यस्ता गतिविधिले पार्टीको हित गर्दैन ।’ बुर्जुवा पार्टीमा जस्तो सार्वजनिक रूपमा बोल्दै हिँड्ने शैली गलत भएको भन्दै प्रचण्डले त्यो छुट नहुने बताए ।।

अन्य नेताहरूले पनि आन्तरिक कुरा बाहिर लैजान बन्द गर्नुपर्ने उनको जोड छ । पार्टीका सामान्य अन्तरविरोधलाई मिडियाले उछाल्ने काम गरेको भन्दै उनले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताएका थिए । पछिल्लो समय पार्टीभित्र विचार समूहभन्दा पनि स्वार्थ समूह हाबी भएको भन्दै प्रचण्डले त्यसलाई विघटन गर्नुपर्ने बताए ।

नेकपाका संस्थापक पुष्पलालको ४७ औँ स्मृति दिवसको अवसरमा असार ६ गते जनार्दनले मनमोहनबाहेक नेपालका सबै पूर्वप्रधानमन्त्रीले असुली धन्दा चलाएको भन्दै उत्तेजक अभिव्यक्ति दिएका थिए । त्यसयता जनार्दन निकट भनिएकाहरुले प्रचण्डमाथि प्रहार गरिरहेका छन् । यो विषयमा माओवादीको स्थायी समिति बैठकले ठोस निर्णय लिने नेताहरुले बताएका छन् ।

अब सरकार बनाउने भत्काउने खेलमा नभई संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्नेमा प्रचण्डले जोड दिएका छन् । १० बुँदे ब्रिफिङमार्फत उनले संगठन निर्माणमा पार्टीलाई केन्द्रित बनाउनुपर्ने विषयमा जोड दिएको पार्टी सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

पार्टीको स्थगित अभियान वर्षा सकिएपछि सुरु गर्ने प्रचण्डको प्रस्ताव छ । पार्टीको अभियान सकिएपछि केन्द्रीय कमिटी बैठक बस्नेछ । सो बैठकले केन्द्रीय कमिटी बैठकले पार्टीको महाधिवेशनको मिति तय गर्ने पौडेलले जानकारी दिए ।

प्रचण्डले राखेको एजेन्डामाथि शनिबारदेखि नेताहरूले धारणा राख्ने बताइएको छ । शनिबार ११ बजे बैठक बस्नेछ ।

साउन १६, २०८२, साँझको ०६:४२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर