झलनाथ खनाललाई पार्टीमा बस्ने नैतिक अधिकार नै छैन : नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधबकुमार नेपालले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई पार्टीमा बस्ने नैतिक आधिकार नभएको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले एमाले फुटाएर गलत गरियो भनेर खनालले बोलेको हो भने पार्टीमा बस्ने अधिकार नभएको टिप्पणी गरेका हुन् ।

‘उहाँले बोलेको हो कि होइन ? यदि उहाँले त्यो बोल्नुभएको हो भने अब पार्टीबाट बिदा गरिदिनुपर्छ’ उनले भने, ‘यो पार्टीमा बस्ने ठाउँ नै रहेन नि, नैतिक अधिकार नै छैन ।’ नेता नेपालले अब खनालले खुरुक्क राजीनामा दिएर बिदा भएर जानुपर्ने बताए ।

पार्टीका सम्मानित नेता झलनाथ खनालले एमाले विभाजन गरेर गल्ती गरेको महशुस हुन थालेको बिहीबार एक अन्तवार्तामार्फत बताएका थिए । त्यसप्रति अध्यक्ष नेपालले आक्रामक टिप्पणी गर्दै पार्टी छाड्न चेतावनी दिएका हुन् ।

आफूमाथि लागेको भ्रष्टाचार अभियोग राजनीतिक पूर्वाग्रह भएको दावी गर्दै नेपालले ऐन, कानुन र संविधानले दिएको अधिकार अनुसार प्रक्रियागत रुपमा भएको निर्णयमा मुद्दा लाग्नुपर्ने कारण नभएको बताए । कुनै सरकारी जग्गा नदिएको र नेपाल सरकारलाई एक पैसा नोक्सान नभएको प्रकरणमा राजनीतिक पूर्वाग्रह र प्रतिशोधको आधारमा मुद्दा लगाएको उनको भनाइ छ । ‘मैले एक पैसा तलमाथि जिन्दगीमा गरेको छैन’ उनले भने, ‘यो केसमा त झन् कसैले कल्पना गर्ने कुरा पनि छैन ।’

माओवादी केन्द्रसँग पार्टी एकीकरणको विषयमा भइरहेको चर्चाबारे सोधिएको प्रश्नमा अध्यक्ष नेपालले समाजवादी मोर्चालाई निरन्तरता दिएर विश्वासको जग खडा गर्दै एकताको प्रक्रियामा जानेबारे छलफल भइरहेको बताए । अहिले नेपालको राजनीतिको चुनौतिको सामना गर्न सबै पक्षलाई एकताबद्ध बनाएर जानुपर्छ भनेर सबै बामपन्थी र लोकतान्त्रिक शक्तिसँग सहकार्य गरेर जाने सहमति भएको जानकारी दिँदै उनले तत्काल एकीकरणको कुरा नभएको स्पष्ट पारे ।

समाजवादी मोर्चालाई बलियो बनाएर अगाडि बढ्ने पार्टीको संस्थागत निर्णय भएको भन्दै नेपालले झलनाथ खनालले राखेको असहमतिको अर्थ नभएको बताए । ‘पार्टीको निर्णय उल्लङ्घन गर्ने कुरामा नम्बर वान हुनुहुन्छ’ उनले भने, ‘त्यसकारण उहाँको कुराको कुनै अर्थ छैन ।’

एमाले र काँग्रेसको अहिलेको सरकार सबै हिसाबले असफल भएको आरोप लगाउँदै नेपालले केपी ओलीको दम्भ, अहंकार, गलत नीति र गलत कामले गर्दा देश पूरै पीडित रहेको टिप्पणी गरे । जबसम्म केपी ओलीलाई बिदा गरिँदैन, मुलुक मुक्त हुने स्थिति नरहेको उनको भनाइ छ ।

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीनितमा सक्रिय हुन संविधान र कानुनले नरोकेको बताउँदै नेपालले संविधान र कानुनले नरोकेको विषय व्यक्तिको आफ्नो अधिकारको कुरा हुने उल्लेख गरे । तर, त्यसबारे एमालेभित्र उत्पन्न भएको तमासाले कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने उनको भनाइ छ ।

साउन १६, २०८२, साँझको ०६:२९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर