क्युआर काण्डको टालटुले जवाफप्रति माओवादीको आपत्ती : ‘चोरले कहिल्यै चोरेको स्वीकार्दैन, छानबिनको हुनुपर्छ’

विराटनगर । कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले क्युरआर कोडबाट रकम मागेको विषयमा टालटुले जवाफ दिएर आफैंलाई चोख्याउन खोजेको भन्दै नेकपा माओवादी केन्द्रले छानविनको माग गरेको छ ।

प्रदेशसभाको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद गणेप्रसाद उप्रेतीले मन्त्रीको स्पष्टीकरणलाई ‘चोरले कहिल्यै मैले चोरेको हुँ भनेर स्वीकार्दैन’ भन्दै कडा टिप्पणी गरेका छन् । उनले यस प्रकरणमा मुख्यमन्त्री र सरकार लाचार बनेको आरोप लगाउँदै तत्काल उच्चस्तरीय छानबिनको माग गरे ।

‘कुनैपनि भ्रष्टाचारीले मैले भ्रष्टाचार गरेँ भनेर आफैं सदनमा वा अदालतमा उभिएर स्वीकारेको इतिहास छैन। मन्त्रीज्यूले शालीन ढंगले आफूले क्युआर कोड पठाएर भ्रष्टाचार नगरेको भन्नुभयो’ उप्रेतीले भने, ‘तर, घुमाउरो पाराले क्युआर कोड पठाएको मन्त्रीले नै स्वीकार गरेकोले भ्रष्टाचार भएको पुष्टि भएको छ ।’ मन्त्रीले टालटुले जवाफ दिएर उम्कन खोजेको भन्दै उनले प्रश्न उठिसकेपछि त्यसको गम्भीर अनुसन्धान हुनुपर्ने माग गरे ।

सरकारको समग्र चरित्रमाथि नै प्रश्न उठेको भन्दै उप्रेतीले भने मुख्यमन्त्री हिक्मतकुमार कार्कीमाथि पनि प्रश्न गरे । ‘यो सरकार लुट्नकै लागि र चोर्नकै लागि बनेको हो भनेर जनताले नै भनिरहेका छन्’ उनले भने, ‘क्याबिनेटका मन्त्रीमाथि गम्भीर प्रश्न उठ्दा र भ्रष्टाचारका प्रकरण उठ्दा पनि मुख्यमन्त्रीज्यू आनन्द मानेर लाचार छाया बन्नुभएको छ ।’

क्युआर काण्डले प्रदेश सरकारप्रति जनताको धारणा नकारात्मक बनेको भन्दै उप्रेतीले सरकारले तत्काल छानबिन गरेर सत्यतथ्य सदन र जनतासमक्ष स्पष्ट पार्नुपर्ने माग गरे । केन्द्रीय क्याबिनेटमा घुस खानेहरूको बाहिर चाहिँ नि विषय आइरहँदा पनि प्रधानमन्त्री आनन्द मानेर बसिरहेको भन्दै उप्रेतीले मुख्यमन्त्रीले पनि त्यहि सिको गरेको आरोप लगाए । मन्त्रीको गम्भीर प्रकरणमा उनको दल नेपाली काँग्रेसको मौनताप्रति पनि उनको प्रश्न थियो ।

कर्मचारीसँग आफ्नै सहयोगीको क्युआर पठाएर रकम मागेका मन्त्री मण्डलले आइतबार प्रदेशसभामा समय लिएर बोल्दै आफूलाई ‘निर्दोष’ र ‘राजनीतिक षड्यन्त्रको शिकार’ बनाइएको जिकिर गरेका थिए । तीन हप्ता अगाडि मन्त्री मण्डलका सहयोगीको क्युआर पठाएर कर्मचारीसँग रकम माग गरेको र रकम नदिएपछि कर्मचारीको सरुवा गर्नखोजेको समाचार हाम्रोमतले सार्वजनिक गरेको थियो ।

आफ्नै सहयोगी अमृतकुमार मेहताको क्युआर पठाएर मन्त्री मण्डलको रकम माग गरेका थिए । मन्त्री मण्डलको सचिवालयमा नियुक्ति नपाएपनि स्वकीय सचिवको रुपमा काम गर्दैै आएका मेहताको क्युआरबाट मन्त्री मण्ललले रकम माग गरेको विषय नेपाली काँग्रेसको संसदीय दलमा र प्रदेशसभामा पनि उठेको थियो ।

तीन साता पछाडि आइतबार प्रदेशसभामा जवाफ दिँदै मन्त्री मण्डलले आफ्ना सहयोगी मेहताको नाम नलिई क्युआर पठाउने व्यक्ति आफूले नचिनेको र अनाधिकृत भएको दावी गरे । क्यूआर कोड पठाउने व्यक्तिलाई ‘अनाधिकृत व्यक्ति’ भन्दै अनुसन्धानको कठघरामा उभ्याउन उनको माग थियो ।

मेहतालाई मन्त्री मण्डलले सचिवालयमा हर्ताकर्ता बनाएर राखेका थिए । उनले स्वकीय सचिवमा सन्तोष मेहतालाई नियुक्त गरेको भएपनि सन्तोषको स्थानमा अमृतले काम गरिरहेका थिए । उनले सन्तोषको स्थानमा अमृतलाई ‘खेताला स्वकीय सचिव’ राखेको समाचार यसअघि सार्वजनिक भइसकेको छ ।

स्वकीय सचिव हुन नायब सुब्बा सरहको योग्यता आवश्यक पर्ने भएकोले अमृतको योग्यता नपुगेका कारण दाजु सन्तोषको नाममा नियुक्ति दिइएको खुलेको थियो । अमृत आफ्नो सहयोगीको रुपमा काम गर्ने मन्त्री मण्डलले यसअघि आफैं स्वीकार गरेका थिए ।

संसदमा भने मन्त्री मण्डलले त्यसलाई ढाकछोप गर्दै कर्मचारीहरूलाई पठाइएको क्यूआर कोड प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरे । मन्त्री मण्डलले संसदमा भने, ‘क्यूआर कोडमा उल्लेखित व्यक्ति मेरो सचिवालयको सदस्य होइनन् । निजलाई के कति कारणले क्यूआर पठाइएको हो, कानुनी दायरामा झिकाइ अनुसन्धान गर्न अनुरोध गर्दछु ।’ मेहताको नाममा एनएमबी बैंकले जारी गरेको क्यूआर कोड डिभिजन वन कार्यालयका प्रमुखलाई पठाएर रकम माग गरेको तथ्य स्थापित छ । मेहता मन्त्री मण्डलका आफन्त पनि हुन् ।

मन्त्री मण्डलले मेहता आफ्नो सचिवालयमा सहयोग गर्न बसेको स्वीकार गरेको अडियो सुरक्षित छ । संसदमा भने उनले आफ्नै सहयोगीलाई ‘अनाधिकृत’ र ‘अपरिचित’ भनेर अनुसन्धानको दायरामा ल्याए सहयोग गर्ने बताए । मन्त्री मण्डलले आफ्नै संरक्षणमा रहेको व्यक्तिलाई अनाधिकृत भनेर पन्छिन खोज्नु र उनीमाथि अनुसन्धानको माग गरेर उन्मुक्ति पाउन खोज्नुले नै घटनाको ढाकछोप गरेको बुझिन्छ ।

मन्त्री मण्डलले आफ्नो बचाउका लागि आफूले प्रयोग गर्ने दुई मोबाइल नम्बर सार्वजनिक गर्दै आफूले मोबाइल बैंकिङ वा क्यूआर कोडको सुविधा नै नलिएको तर्क पेश गरेका थिए । जबकि विषय मन्त्री मण्डलले आफ्नै क्युआर पठाएको भन्ने नै हैन । उनले आफ्ना सहयोगीको क्युआर पठाएर रकम मागेको आरोप हो । तर, उनले त्यसलाई विषयान्तर गर्दै आफ्नो मोबाइल नम्बरमा कुनै क्युआर नरहेको र रकम नमागेको आश्चार्यजनक दावी गरेका थिए ।

साउन १२, २०८२, दिउँसोको ०४:०० बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर