विराटनगर । अध्यक्षको विरुद्ध बहुमत जनप्रतिनिधिहरु उभिएर गाउँसभा नै बहिष्कार गरेपछि मोरङको ग्रामथान गाउँपालिकाले बजेट ल्याउन सकेको छैन । गत असार २७ गतेको गाउँसभामा विवाद भएपछि बजेट नल्याई सभा स्थगित भएको थियो ।
गाउँसभामा अध्यक्ष र उनका समर्थकले खुकुरी प्रदर्शन गरेकोले सभा विथोलिएको आरोप उपाध्यक्ष र वडाध्यक्षहरुले लगाएका छधन् । सभा स्थगित भएको १२ दिनपछि उपाध्यक्षसहित ९ जना जनप्रतिनिधिले सभामा खुकुरी प्रदर्शन भएको भन्दै प्रहरीमा जाहेरी बोकेर पुगेका छन् ।
ग्रामथानमा अध्यक्ष र एउटा वडाको अध्यक्ष माओवादी केन्द्रबाट निर्वाचित हुन् भने उपाध्यक्षसहित बहुमत वडाध्यक्ष नेकपा एमालेबाट निर्वाचित छन् । ७ वटा वडा रहेको ग्रामथानमा उपध्यक्ष गुणावती धामी थारु, वडा नम्बर १ का वडाध्यक्ष सुरेशकुमार माझी, २ का वडाध्यक्ष यादव खतिवडा, ४ का वडाध्यक्ष बद्रीनारायण माझी, ५ का वडाध्यक्ष भेषनारायण चौधरी, ६ का वडाध्यक्ष वीरनारायण चौधरी र ७ का वडाध्यक्ष विरेन्द्र चौधरीसहितले अध्यक्षसहित चार जना विरुद्ध जाहेरी दिएका छन् । उनीहरु एमाले र काँग्रेसबाट निर्वाचित भएका हुन् ।
साउन ७ गते जिल्ला प्रहरी कार्यालयमा दर्ताका लागि दिएको जाहेरीमा मोरङमा ग्रामथान गाउँपालिका– १ का ४५ का राजेश भागत, सोही वडाका विष्णु माझी, वडा नम्बर २ का राजन माझी र गयालाल माझीविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन माग गर्दै उनीहरुले जाहेरी दिएका छन् । तर, घटना भएको भनिएको १२ दिनपछि आएको जाहेरीलाई प्रहरीले दर्ता गरेको छैन । प्रहरीले ‘राजनीतिक विवाद’ भएकोले जाहेरी दर्ता नगरेको हो ।
अध्ययक्षसँग नीति तथा कार्यक्रमका विषयमा विवाद भएको समयमा राजन माझीले सेक्युरिटी गार्डको खुकुरी लिएर ढोकाबाट बाहिर निस्की भन्दै आफूहरुलाई काट्ने र कुट्ने धाकधम्की दिएको उनीहरुको आरोप छ । गालीगलौज तथा हुलदंगा गरेर डरत्रासको माहोल बनाई अशान्त वातावरण बनाएकोले उनीहरुलाई पक्राउ गरेर कार्वाही गर्न माग गरिएको छ ।
गाउँपालिकाकी उपाध्यक्ष गुणावती धामी थारुले खुकुरी प्रदर्शन गर्नेहरु अध्यक्ष नमोनारायण माझीले राखेका ‘बाउन्सर’हरू भएको आरोप लगाएकी छन् । ‘अध्यक्षले अहिले बाउन्सर राख्या छ, गाउँसभामा बाउन्सरले खुकुरी लिएर कुद्यो,’ उनले भनिन् ।
गाउँपालिका अध्यक्ष नमोनारायण माझीले भने खुकुरी प्रदर्शनको आरोपलाई ठाडै अस्वीकार गरेका छन् । सामान्य विवादलाई विपक्षीले राजनीति गरेको उनको भनाइ छ । ‘घटना भएको भए १२ दिनसम्म चुप लागेर किन बसेको ?’ उनले प्रश्न गरे, ‘गाउँसभा बोलाउँदा उहाँहरू बहिष्कार गर्नुहुन्छ । अहिले अनावश्यक बखेडा झिक्नुभएको हो । कार्यकर्ताले खुकुरी बोकेको छैन । सुरक्षा गार्डले आफ्नो कुखुरी बोक्नु सामान्य हो ।’
गाउँपालिकामा असार १० गते अध्यक्ष माझीले बजेट पेश गरेका थिए । तर, उपाध्यक्ष र बहुमत कार्यपालिका सदस्यहरुले विरोध गरेको कारण पारित भएको छैन । ‘बहुमतको आडमा पालिकालाई असफल पार्न गाउँसभा बहिष्कार गरेपछि कसरी बजेट पास गर्नु’ अध्यक्ष माझीको प्रश्न छ ।
अध्यक्ष माझीका अनुसार, विवादको मुख्य कारण खुकुरी नभई राजनीतिक ‘बार्गेनिङ’ हो । नेकपा (एमाले) र नेपाली कांग्रेसका जनप्रतिनिधिले निरन्तर पालिकाको काममा अवरोध सिर्जना गरिरहेको उनको आरोप छ ।
‘एउटा समस्या समाधान गर्न खोज्दा अर्को नयाँ समस्या खडा गरेर बार्गेनिङ गर्ने प्रवृत्ति छ,’ उनले भने, ‘यसै कारण पटक–पटक सिडियो कार्यालय र अदालतसम्म धाउनुपरेको छ ।’
विवादको जडमा ६ जना डोर हाजिरीका कर्मचारीलाई निकालिएको विषय रहेको बताइएको छ । डोर हाजिरी गराएर काममा लगाएको कर्मचारीको विषयमा यसअघि महालेखा परीक्षकको कार्यालयले प्रश्न उठाएको थियो ।
२०८१ मंसिरमा भएको उपनिर्वाचनमा माओवादीबाट अध्यक्षमा नमोनारायण माझी निर्वाचित भएका थिए । माझीले महालेखा प्रतिवेदनले औंल्याएको प्रश्नको निरुपण गर्न भन्दै डोर हाजिरीमा रहेका कर्मचारीलाई कामबाट निकालेका थिए ।
तर, काँग्रेस र एमालेका जनप्रतिनिधिले उनीहरुको पुनः नियुक्ति दिने र बजेट बाँडफाँडमा प्रत्येक वडालाई १ करोड रुपैयाँ दिनुपर्ने माग गरेर विवाद सिर्जना गरेका थिए ।
अध्यक्षका एक सहयोगीका अनुसार कांग्रेससँग सहमति नजिक पुगेको अवस्थामा एमाले पक्षले त्यसलाई भाँड्ने काम गरेको थियो । अध्यक्ष माझीले चर्को बोल्ने बानीलाई विपक्षीले बहाना बनाएर विवाद झिकिरहेको उनको गुनासो छ ।