बिद्यालय मर्ज गर्ने निर्णयप्रति अभिभावक र बिद्यार्थी आन्दोलित, घेरियो नगरपालिकाको कार्यालय

विराटनगर । लालिगुराँस नगरपालिकाको विद्यालय समायोजन गर्ने निर्णयप्रति सिंहदेवी माध्यमिक विद्यालय, मङ्गलबारेका विद्यार्थी र अभिभावक आन्दोलित बनेका छन् । नगरपालिकाको गत असार २६ गतेको कार्यपालिका बैठकले सिंहदेवी माविको कक्षा ११ र १२ लाई रत्न मावि, सोल्मामा समायोजन (मर्ज) गर्ने निर्णय गरेको थियो ।

रत्न मावि र सिंहदेवी माविबीच करिब एक घण्टाको दूरी छ । नगरपालिकाको निर्णय अव्यावहारिक भएको भन्दै सिंहदेवीका विद्यार्थी र अभिभावकले आइतबार लालिगुराँस नगरपालिकाको कार्यालय घेराउ गरेका छन् । उनीहरूले नाराजुलुससहित प्रदर्शन गरेका हुन् ।

समायोजन हुने विद्यालयका विद्यार्थीलाई ल्याउन विद्यालय बसको व्यवस्थापन गर्ने तथा छात्रावासको पनि व्यवस्था मिलाउने निर्णय नगरपालिकाले गरेको थियो । नगरपालिकाको निर्णयको उद्देश्य ठीक भए पनि त्यसको कार्यान्वयन तत्काल सम्भव नहुने सिंहदेवीका अभिभावक विपिन लिम्बुले बताए । लिम्बु विद्यालयले गठन गरेको वार्ताटोलीका संयोजक समेत हुन् । ‘तत्काल बस सञ्चालन हुने सम्भावना छैन,’ उनले भने, ‘छात्रावासको व्यवस्थापन पनि तत्काल सम्भव छैन । पछि व्यवस्था गर्छाैं भन्ने आधारमा मात्र हामी हाम्रा छोराछोरी अन्यत्र पठाउन सक्दैनौं ।’

रत्न माविमा केही वर्षअगाडिसम्म छात्रावास भए पनि अहिले भत्किएर विद्यार्थी बस्न नमिल्ने अवस्थामा पुगेको स्थानीय बताउछन् ।नगरपालिकाले जबरजस्ती निर्णय लादेको अभिभावकको आरोप छ । ‘हाम्रो विद्यालयमा करिब ९० प्रतिशत अभिभावक र विद्यार्थी यो निर्णयको विरुद्धमा छन्,’ लिम्बुले भने, ‘हाम्रो भौतिक संरचना र विद्यार्थी संख्या पर्याप्त छ, शैक्षिक गुणस्तर पनि राम्रो छ, तर पनि हामीमाथि अन्याय भयो ।’

प्लस टु सञ्चालन भइरहेका पालिकाका आठवटा विद्यालयको तह घटाएर दुई स्थानमा सीमित गर्ने भनिए पनि अन्त्यमा दुईवटा विद्यालयको मात्रै तह घटाउन लागिएको स्थानीयको आरोप छ । सिंहदेवी र तीनजुरे माविको मात्रै तह घटाउन लागेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएका हुन् । पहिला बसन्तपुर बजारमै रहेको बसन्त मावि र रत्नमाविमा मात्रै प्लस टु सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

लिम्बुका अनुसार, उनीहरूले शान्तिपूर्ण ¥याली, छलफल र अन्तक्र्रिया जस्ता चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेका छन् । ‘यदि हाम्रो माग सुनुवाइ भएन भने हामी आमरण अनसन बस्न पनि पछि हट्दैनौं,’ उनले भने।सिंहदेवी माविका प्रधानाध्यापक भविन्द्र लिम्बुले नगरपालिकाले केही निश्चित व्यक्तिहरूसँग मात्र छलफल गरेर निर्णय गरेको र अधिकांश अभिभावकको राय नलिएको बताए । यस विद्यालयमा व्यवस्थापन र शिक्षा संकायमा पढाइ भइरहेको छ । आफैं सञ्चालन गर्न सक्षम भए पनि नगरपालिकाले पेलेको प्रअ संग्रौलाको आरोप छ । ‘अहिले नै सबै पूर्वाधार तयार नभएको अवस्थामा विद्यार्थीलाई अन्यत्र पठाउँदा उनीहरूको भविष्यमाथि खेलवाड हुन्छ,’ प्रअ लिम्बुले भने, ‘अहिले जहाँ छ, त्यहीँ पढाउन दिइयोस्, सबै व्यवस्थापन भएपछि हामी आफैं सोचौंला ।’ उनका अनुसार, विद्यालयमा हाल कक्षा १२ मा १८ जना विद्यार्थी छन् र कक्षा ११ मा पनि भर्ना प्रक्रिया चलिरहेको छ ।

आन्दोलन अगाडि आइतबार नै नगर प्रमुख अर्जुन माबोहाङ, उपप्रमुख जमुना कार्की मगर र आन्दोलनरत पक्षबीच वार्ता पनि भएको थियो । वार्ताबाट कुनै निष्कर्ष ननिस्किएपछि आन्दोलनरत पक्ष थप आक्रोशित भएको छ । उनीहरूले नगरपालिका घेराउ गर्ने, सरोकारवालासँग छलफल गर्ने र माग पूरा नभए आजैदेखि आमरण अनसन सुरु गर्ने बताएका छन् ।
‘यही साउन १५ गतेपछि कार्यपालिका बैठक बसेर छलफल गरौँला भनेर मेयर साहबले भन्नुभयो,’ लालिगुराँस नगरपालिका शिक्षा शाखाकी अधिकृत सुरक्षा चापागाईंले भनिन,‘त्यसपछि आन्दोलनरत पक्ष उठेर हिँड्नुभयो । म पनि कार्यालयबाहिर निस्किएँ, अरू के भयो थाहा भएन ।’

नगर प्रमुखको भनाइप्रति विश्वास नलागेको आन्दोलनरत पक्षले जनाएको छ ।आन्दोलनरत पक्षले तत्कालका लागि समायोजनको निर्णय फिर्ता लिनुपर्ने र भविष्यमा सबै पक्षको सहमतिमा मात्र यस्ता निर्णय हुनुपर्ने माग राखेका छन् । नगरपालिकाले भने गुणस्तरीय शिक्षाका लागि समायोजन आवश्यक भएको तर्क गरिरहेको छ ।

साउन ४, २०८२, साँझको ०७:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर