खोटाङमा पूर्वाधार विकास कार्यालय स्थापना

विराटनगर । खोटाङको दिक्तेलको हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले बिहीबार गृहजिल्लामा कार्यालय उद्घाटन गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्र्गत कार्यालय स्थापना भएको हो । त्यसले सडक पूर्वाधार र सहरी विकास दुबैको काम गर्ने बताइएको छ । पूर्वाधार विकास कार्यालय उद्घाटनपछि ओखलढुंगा र उदयपुर पुग्नुपर्ने बाध्यता हटेको छ ।

यसअघि भवनलगायतका भौतिक पूर्वाधारका संरचना निर्माणका लागि शहरी विकास तथा भवन कार्यालय ओखलढुंगा एवं सडक तथा पुलको कामको लागि पूर्वाधार विकास कार्यालय उदयपुर पुग्नुपर्ने बाध्यता थियो । यी दुवै कार्यालय (शहरी विकास तथा भवन कार्यालय र पूर्वाधार विकास कार्यालय)को काम गर्ने गरी दिक्तेलमा कार्यालय स्थापना गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव अशोककुमार साहले जानकारी दिए ।

भौतिक पूर्वाधार विकासमन्त्री राईले जनताले जिताएर पठाएको प्रतिनिधि भएकाले जनताको चाहना अनुरुपको काम गरिरहेको बताए । यसअघि प्रदेशका सबै जिल्लामा सहरी विकास र पूर्वाधार कार्यालय नहुँदा समस्या रहेकोले अहिले दुबै काम गर्नेगरि १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय सरकारले गरेको उनको भनाइ छ ।

सबै राजनीतिक दलका साथीहरूले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने खोटाङलाई माथि लान धेरै समय नलाग्ने मन्त्री राईले बताए । विकास निर्माण र खोटाङको समस्या समाधान गर्न आफूले काम गरिरहेको उनको भनाइ छ ।

बिहिबार, ०२ साउन, २०८२, साँझको ०६:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर