बालकृष्ण खाँडलाई प्रश्न, ‘तपाइँ रुपन्देहीबाट उपनिर्वाचन लड्ने हो ?’

विराटनगर । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँड पछिल्लो समय पार्टी राजनीति र समसामयिक विषयमा खुलेर बोल्न चाहँदैनन् । किनकी उनलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थीए बनाएर बेचेको विषयमा अदालतमा मुद्दा चलिरहेको छ । उनी विशेषगरी पार्टी संस्थापन पक्षसँग उनको दूरी बढेको चर्चा चलिरहेको पनि छ । त्यही बेला खाँड विराटनगरस्थित कोइराला निवास पुगेका छन् । कोइराला निवासको अवलोकन भ्रमण, पार्टीको महाधिवेशन, आगामी निर्वाचनमा उनको भूमिका र वर्तमान सत्ता गठबन्धनको भविष्यबारे नेता खाँडसँग कोइरालानिवासमै संचारकर्मीले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

पार्टीको अनुशासन समितिले गरेको कारबाहीलाई तपाईंले कसरी लिनुभएको छ ? यो ठीक हो ?

– हेर्नुहोस्, मैले यसलाई ठीक पनि भनेको छैन, बेठीक पनि भनेको छैन । यो अनुशासन समितिले गर्ने कारबाही प्रक्रियागत रूपमा गरेको हो । अनुशासन समितिमा अहिले पाँच जना साथीहरू हुनुहुन्छ, आनन्द ढुंगानाजी त्यसको अध्यक्ष हुनुहुन्छ । अब अनुशासन समितिमा ती पाँच जनाबाहेक तपाइँं भए पनि तपाईंले पनि केही न केही त कारवाही गर्नैपथ्र्यो । तपाईंले गरेको कारबाहीमा पनि प्रश्न उठ्थ्यो । त्यसकारण कुरा उठ्नु पनि स्वाभाविक हो, कारबाही गर्नु पनि स्वाभाविक हो । त्यसका उपर अब केन्द्रीय समितिले नै यसमा समीक्षा गर्छ, छलफल गर्छ र त्यो अनुशासन समितिले गरेको कारबाही ठीक भए ‘ठीक हो’ भन्छ, ठीक होइन भने त्यसलाई करेक्सन गर्छ ।

पार्टीको महाधिवेशनको कुरा पनि उठेको छ, महाधिवेशनको समयसीमा पनि गुज्रिसकेको देखिन्छ । कहिले हुन्छ महाधिवेशन ?

– नेपाली कांग्रेसको विधानमा चार वर्षभित्रमा महाधिवेशन हुन्छ । विशेष परिस्थिति आयो भने एक वर्ष थपेर पाँच वर्षभित्रमा हुन्छ । अब अहिले पछिल्लो कार्यकालमा ११औं, १२औं, १३औं र १४औं महाधिवेशन पनि एक वर्ष थपेरै गरेको हो । त्यसकारणले अहिले हाम्रो १५औं महाधिवेशन पनि नेपाली कांग्रेसको सबै तहको कार्यकाल एक वर्ष थपेर पाँच वर्षभित्र अधिवेशन हुन्छ ।
पछिल्लो समय तपाईं पार्टी संस्थापन पक्षबाट केही टाढिएको जस्तो हल्ला चलिरहेको बेला विराटनगर आएर कोइराला निवास, अझ विशेषगरी शेखर कोइरालाको निवासमा तपाईंको उपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ, यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?

– नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा हुनुहुन्छ । हामीहरू सबै पार्टी सभापति शेरबहादुर देउवालाई सफल गराउन लागेका छौँ । पार्टी सभापति सफल हुनुभयो भने पार्टी सफल हुन्छ । सभापतिलाई सफल गराउन सकिएन भने पार्टीलाई गम्भीर धक्का लाग्छ भन्ने विश्वास मेरो हिजो पनि थियो, आज पनि छ र भोलि पनि रहनेछ । जहाँसम्म कोइराला निवासको कुरो हो, पार्टी नेता शेखर कोइराला कोइराला निवासमा बस्नुहुन्छ । तर यहाँ पहिला गिरिजाप्रसाद कोइराला पनि बस्नुहुन्थ्यो । त्योभन्दा अगाडि पिताजी कृष्णप्रसाद कोइराला पनि बस्नुहुन्थ्यो । त्यहाँ कृष्णप्रसाद कोइरालाले विराटनगरको विस्तार गर्नुभएको हो । राणा शासनको खिलाफमा प्रजातन्त्रको पक्षमा आन्दोलनमा रहँदाखेरि उहाँ थुनामा पर्नुभयो र जेलमै उहाँ दिवंगत हुनुभएको हो । त्यसकारण कोइराला सम्झँदाखेरि हाम्रो मेयर नागेश कोइराला मात्रै सम्झेर भएन । कृष्णप्रसाद कोइराला, बीपी कोइराला, मातृका कोइराला, गिरिजा कोइराला, सुशील कोइराला पनि सम्झिनुप¥यो । त्यसकारण कोइराला निवासलाई पार्टीको गुटको हिसाबले हेर्ने होइन । कोइराला निवास हाम्रो लागि एउटा हिसाबले पवित्र भूमि हो, कुनै धार्मिक स्थल गएको जस्तै हो । पार्टीका नेता–कार्यकर्ताहरूका लागि यो प्रेरणाको स्रोत हो ।

महाधिवेशनको कुरा गर्दा, अरू नेताहरूले आफ्नो उम्मेदवारी घोषणा गरिरहनुभएको छ । तपाईंले चाहिँ १५औं महाधिवेशनमा के मा उम्मेदवारी दिने सोच्नुभएको छ ?

– अब अहिले हामीहरू पार्टीको केन्द्रीय समितिमा छँदैछौँ । म आदरणीय गिरिजाप्रसाद कोइरालाले २०५४ सालमा नेपालगञ्जको महासमितिमा मलाई तरुण दलको अध्यक्षको जिम्मेवारी दिनुभयो । २०५६ सालको आम निर्वाचनमा चुनावमा मैले उम्मेदवार नभइकन देशभरि तरुण दललाई परिचालन गर्ने र नेपाली कांग्रेसलाई विजयी गराउने अभियानमा लागें । र, म चुनावमा नउठेपछि, चुनाव सम्पन्न भएर कांग्रेसको बहुमत आएपछि आदरणीय गिरिजाप्रसाद कोइरालाले मलाई कांग्रेसको केन्द्रीय समितिमा लानुभयो, २०५६ सालमा । २०५६ सालदेखि आजसम्म म पार्टीको केन्द्रीय समितिमा छु । जुन केन्द्रीय समितिमा पहिला बीपी कोइराला, स्वर्णशमशेर, गणेशमानजी, किसुनजी, गिरिजाबाबु हुनुहुन्थ्यो, त्यो केन्द्रीय समितिमा हामी छौँ । त्यो हाम्रो लागि धेरै ठूलो कुरा हो । अहिले १५ औं महाधिवेशन सम्पन्न गर्ने क्रममा केन्द्रीय समिति आयोजक नै हुन्छ । महाधिवेशन सम्पन्न गर्ने भूमिकामा हामी क्रियाशील रहन्छौँ । त्यसपछि पार्टीको कुन नेताले के पदमा उठ्ने भन्ने हाम्रो दोस्रो प्राथमिकतामा आउँछ ।

अहिले नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार छ । सरकारले गरेका कतिपय नराम्रा कामहरूमा कांग्रेस किन ‘चुइँक्क’ बोल्दैन भनेर प्रश्न उठिरहेको छ नि ?

– हाम्रो प्रतिनिधिसभाको जुन कम्पोजिसन छ, कुनै पनि पार्टीको एकल सरकार बन्न सक्दैन । त्यसकारण नेपाली कांग्रेसले सरकारमा बस्ने हो भने कुनै न कुनै पार्टीसँग सहकार्य गर्नैप¥यो, गठबन्धन गराउनैप¥यो । एमालेसँग यो पहिलोपटक गठबन्धन भएको होइन । विगतमा पनि कहिले गिरिजाप्रसादको नेतृत्वमा, कहिले शेरबहादुरको नेतृत्वमा, कहिले माधवकुमार नेपालको नेतृत्वमा कांग्रेस–एमालेको बीचमा सहमतिको सरकार बनेकै छ । सरकारले जनतालाई चित्त बुझाउनुपर्छ, डेलिभरी दिनुपर्छ, त्यसमा दुईमत छैन । तर केही राम्रा योजना पनि आएका छन् । जस्तै, ‘पढ्दै कमाउँदै’ कार्यक्रम, हरित हाइड्रोजन उत्पादनको योजना, पर्यटन क्षेत्रमा विदेशी मुद्रा ल्याउन पाउने सीमा बढाउने जस्ता सकारात्मक काम पनि भएका छन् ।

तर, सरकारले जनतालाई चित्त बुझाउन सकेन, खाली काण्डैकाण्ड र दागैदाग छन् भन्ने गुनासो छ नि ! कहिले चित्त बुझाउँछ सरकारले ?

– चित्त नबुझ्दाखेरि चुनावमा त्यो आउँछ । अहिले एकजना मन्त्रीको बारेमा केही चर्चा भयो, उहाँले राजीनामा दिनुभयो । पोजेटिभ पनि हेर्नु न ! हाम्रो आग्रह के छ भने, यो गठबन्धनलाई हामीले २०८४ को आम चुनावसम्म बचाएर लिएर जानुछ । त्यसैले गठबन्धनलाई पर्फेक्ट गराउन हामीले तपाईंहरूसँग पनि बोल्ने हो, तर त्यसअघि गठबन्धनभित्रै कुरा गर्ने हो । त्यहाँ भएका कमीकमजोरीलाई सकभर भित्रभित्रै सुधार्ने हो ।

अन्त्यमा, रुपन्देहीमा तपाईंको उम्मेदवारीको चर्चा छ, के हो ?

– (हाँस्दै) म अहिले मोरङमा छु ।

साउन १, २०८२, बिहानको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर