पत्रकारमाथि हातपात गर्ने नगरप्रमुख साम्पाङका समर्थकविरुद्ध प्रहरीमा उजुरी

विराटनगर । सुनसरीको धरानस्थित सेउती खोलामा आउने बढीलाई च्यानलिङ गर्ने विषयमा भएको विवादको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरूमाथि हातपात गर्नेहरुविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।

बिहीबार बिहान नगर प्रमुख हर्क साम्पाङले जेसीभी लगेर काम सुरु गरेपछि धरान–१५ र धरान–५ का समुदायबीच विवाद उत्पन्न भई झडपको अवस्था बन्दा रिपोर्टङ गर्न पुगेका पत्रकारहरुमाथि साम्पाङका समर्थकले हातपात गरेका थिए ।

विवाद भईरहेकोे समयमा पुगेका पत्रकारहरू रश्मी प्रधान, रोहित कुलुङ राई र डेबिट बस्नेतमाथि हातपात भएको थियो । पत्रकारमाथि आक्रमण गर्ने ५५ वर्षीय मणिराज राई, कवि याक्खालगायत रहेको भन्दै पीडित पत्रकारहरूले कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय धरानमा निवेदन दिएका छन् ।

साम्पाङका समर्थकले आफूहरुमाथि आक्रमण गरेको पत्रकारहरुको भनाइ छ ।
विवाद भइरहेको अवस्थाको भिडियो खिचेकै बेला ‘किन भिडियो खिचेको, कुन पार्टीको पत्रकार हो ? झोलेहरूलाई कुटेर खोदाउनु पर्छ, पार्टीले पठाएको होला भन्दै’ गालीगलौज गर्दै आक्रमण भएको थियो ।

पत्रकारहरूले सार्वजनिक स्थलको घटनाको भिडियो खिच्ने पत्रकारहरूको अधिकार हो भनी जवाफ दिँदा उनीहरू झन् आक्रामक भएका थिए । प्रहरी घटनास्थलमा पुगेर स्थिति सम्हालेको थियो । घट्नालगत्तै पत्रकारहरूले स्वतन्त्र रूपमा रिपोर्टिङ गर्न सुरक्षा मागसहित दोषीलाई कारबाही गर्न ईलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन् ।

पत्रकारको सुरक्षा र घटनाका दोषीहरूलाई कारवार्हीको माग गर्दे नेपाल पत्रकार महासङ्घ सुनसरी जिल्ला समितिले घटनाको भर्त्सना गरेको छ ।
पत्रकारलाई हतोत्साहित गर्ने, रिपोर्टिङमा बाधा पु¥याउन हातपात गर्नु कानुनी शासन विरुद्ध प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खिलाफ गतिविधि भएकाले तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न विज्ञप्तिमा माग गरिएको छ ।

शुक्रबार, २७ असार, २०८२, साँझको ०५:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर