विराटनगरका वडाध्यक्षले जिवितै व्यक्तिको मृत्यु भइसकेको सर्जिमिन गरिदिएपछि….

२०५८ सालमै मृत्यु भएका भनिएका व्यक्ति अदालत पुगेपछि घटना सार्वजनिक

विराटनगर । विराटनगरमा जिवितै रहेका एक व्यक्तिको मृत्यु भइसकेको कागजात बनाएर जग्गा कब्जा गरेको घटना बाहिर आएको छ ।

विराटनगर–११ पिछरा टोल बस्ने ७० वर्षीय केदारबहादुर बस्नेतको २०५८ सालमै मृत्यु भएको सर्जिमिन मुचुल्का बनाएर उनको जग्गा बिक्री भएको खुलेको हो । बस्नेतले आफ्नो मृत्यु भएको नक्कली कागजात वडाध्यक्षसहितको मिलेमतोमा बनाएको भन्दै मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरेपछि घटना बाहिर आएको हो ।

बस्नेतको २०५८ सालमा मृत्यु भएको भन्दै विराटनगर–२ को वडा कार्यालयले २०७५ असोजमा सहिछाप गरिदिएको पाइएको छ । नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष कुमार पोखरेल र तत्कालिन वडासचिव सूर्यबहादुर थापासहित १० जना संलग्न रहेका थिए ।

आफू जिउँदै भएपनि वडाध्यक्षसमेतको मिलेमतोमा मारिएका बस्नेतले जिल्ला अदालतमा दिएको ‘जालसाज’ फिरादपत्रमा आफ्नै दाजु भरतबहादुर बस्नेतको योजनामा जग्गाको हकभोग एकलौटी गर्न किर्ते काम भएको उल्लेख गरेका छन् । घटनामा उनकै दाजु भरतबहादुर बस्नेतसहित वडाध्यक्ष पोखरेल, पूर्व वडा सचिव थापा, विराटनगर २ का शान्त पौडेल, भवानीप्रसाद सापकोटा, इन्द्रबहादुर परियार, सन्तोषकुमार महत, तिर्थराज मिश्र, दिपक प्रधान र मेनका बस्नेत (अधिकारी) संलग्न रहेको फिरादपत्रमा उल्लेख छ ।

निवेदक बस्नेतका अनुसार बुबा पहलमान बस्नेतका तीन जना श्रीमती जेठी मायादेवी, माइली बिष्णुकुमारी र कान्छी उमादेवीमध्ये उनी उमादेवीका जेठा छोरा हुन् । उनलाई जिवितै भएपनि मृत्यु भइसकेको कागजात बनाउने प्रतिवादी भरतबहादुर बस्नेत माइली आमा विष्णुकुमारीका जेठा छोरा हुन् ।

जेठी आमा मायादेविकातर्फ चार जना छोरी हर्कमाया, डम्बरकुमारी, भगवती र कुसुम थिए । उनका छोरा भएनन् । कान्छी उमादेवितर्फ केदार र पर्शुराम बस्नेत दुई छोरा रहेकोमा पर्शुरामको २०६८ साल फागुन १३ गते मृत्यु भइसकेको छ ।

जेठी मायादेवीलाई विवाहित साइली छोरी भगवतीले लालनपालन र रेखदेख गर्दै आएकोमा उनको २०४५ भदौमै मृत्यु भएको थियो । जेठी मायादेवीका नाममा सुनसरीको हाँसपोसा गाविस ८ (ग) को कित्ता नम्बर १५६ को ३ कठ्ठा २ धुर र कित्ता नम्बर १५७ को ६ धुर गरी ३ कठ्ठा ८ धुर जग्गा थियो । सोही जग्गा एकलौटी बनाउन भरतबहादुरले केदारको मृत्यु भएको सर्जिमिन गराएका हुन् ।

नेपाल प्रहरीको निरीक्षकबाट २०६४ सालमा निबृत्त भएका निवेदक केदार बस्नेतका अनुसार भाइ पर्शुरामको पनि २०५८/८/१४ मा नै मृत्यु भइसकेको सर्जिमिन गरेर जग्गा आफ्नो नाममा ल्याएर अर्कैलाई बेचिसकेपछि मात्र उनले घटनाबारे जानकारी पाएका थिए । ‘मेरो आमाको नाम पनि उमादेवी बस्नेत रहेकोमा ज्ञानकुमारी बस्नेत भनेर सम्पूर्ण झुठ्ठा एवं गलत विवरण उल्लेख गरेको पाएपछि मैले अदालतमा मुद्दा हालेको हुँ,’ उनले भने ।

विराटनगरको २ नम्बर वडा कार्यालयले २०७५ असोज १७ गते केदार बस्नेतको मृत्यु भइसकेको व्यहोराको सर्जमिन मुचुल्का गरेको पाइएको छ । ‘वडाअध्यक्ष कुमार पोखरेल र तत्कालिन वडासचिव (हाल सेवा निवृत्त) सुर्यबहादुर थापा समेतले म फिरादी र मेरो भाईलाई मृत घोषणा गरेको, अन्य विपक्षीहरुलाई रोहबरमा राखी सर्जमिन मुचुल्का गराएको, सोही जालसाजी सर्जमिन मुचुल्काको आधारमा सिफारिस गरी गराई सोही सिफारिसको आधारमा जेठीआमा मायादेवी बस्नेतका नाममा रहेको जग्गा भरतबहादुर बस्नेतका नाममा नामसारी दाखिला गर्ने जालसाजपूर्ण कार्य गरेको रहेछ,’ फिरादपत्रमा केदारले उल्लेख गरेका छन्, ‘म फिरादी केदार बस्नेतलाई मृत्यु भइसकेको भनि मिति २०७५ असोज १७ मा सिफारिस गर्दा सिफारिस व्यहोरामा कान्छो आमाबाट जन्मेका छोराहरु केदारबहादुर बस्नेत र पर्शुराम बस्नेतको मिति २०५८/८/१४ गते मृत्यु भएको भन्ने व्यहोरा उल्लेख छ ।’

आफ्नो भाई पर्शुरामको पनि २०६७ मंसिर १३ गते मृत्यु भएको विषयलाई समेत २०५८ मंसिर १४ गते उल्लेख गरिएको केदारले बताएका छन् । केदारले वडाध्यक्ष पोखरेलसहित सर्जिमिन मुचुल्कामा सहीछाप गर्ने १० जनालाई विपक्षी बनाएका छन् ।

‘वडाध्यक्ष कुमार पोखरेलले सर्जमिन गर्दा र जग्गा नामसारी दाखा गर्न सिफारिस गर्दा एक–आपसमा मिलेमतो गरेर मलाई मृत्यु भएको हो होइन भन्ने विषयसमेत कसैले बुझ्न आवश्यक ठानेको देखिएन,’ बस्नेतले भने, ‘म नेपाल प्रहरीमा कार्यरत रहेको भन्ने कुरा सबै दायाँ–बायाँ छरछिमेक नातागोता ईष्टमित्रलाई थाहा जानकारी थियो ।’ जीवित व्यक्तिलाई मृत्यु भएको भनेर हुँदै नभएको व्यहोरा हो भनेर झुठ्ठा सिफारिस गरेको देखिएको उनले बताएका छन् ।

सर्जिमिन मुचुल्कापछि वडा कार्यालयले २०७५ असोज १९ गते नै मालपोत कार्यालय सुनसरी इनरुवालाई सिफारिस गरेको थियो । यो घटना भने आफूले २०८२ जेठ ११ गते मात्रै थाहा भएको केदारले बताएका छन् । उनले विपक्षीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा २७९ को उपदफा (३) बमोजिम हदैसम्मको कैद र जरिवाना दुवै सजायको माग गरेका छन् ।
भरतबहादुरले २०७५ असोज ११ गते वडा कार्यालयमा केदार र पर्शुरामको मृत्यु भइसकेकोले सर्जमिन सिफारिस गरिपाउँ भन्ने निवेदन पेश गरेका थिए । निवेदनमा दुबै जनाको मृत्यु भइसकको उल्लेख थियो । निवेदनमा उनले केदार र पर्शुरामहरुको मृत्यु भइसकेको र अंश लिइ छुट्टी सकेको दाबी गरेका छन् ।

सोही निवेदनका आधारमा वडा कार्यालयले २०७५ असोज १७ गते उनीहरुको मृत्यु भइसकेको सर्जिमिन गरेका हुन् । जसमा वडासचिव थापाले काम तामेल गरेका छन् भने वडाध्यक्ष पोखरेलले असोज १९ गते रोहबरमा हस्ताक्षर गरेका छन् ।

घटनाबारे वडाध्यक्ष पोखरेलले घटना सामान्य रहेको भन्दै सर्जिमिनमा हस्ताक्षर गरेको कारण परेको व्यहोर्ने प्रतिक्रिया दिएका छन् । ‘हस्ताक्षर गरेको हो । सचिवले बनाएर ल्याएपछि मैले गर्नै पथ्र्यो’ उनले भने, ‘तर, त्यहाँ गल्ती भएको देखियो । सर्जिमिनमा सानो त्रुटि मात्रै भएको हो ।’

बिहिबार, १२ असार, २०८२, साँझको ०५:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर