विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र चीनका राजदूत चेन सोंग बीच भेटवार्ता भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजदूत र मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।
भेटघाटको अवसरमा दुईपक्ष हितका विषयमा कुराकानी भएको थियो । सो भेटघाटमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेश सरकारले अहिले गरिरहेको कामका विषयमा जानकारी गराएका थिए । कृषि, पर्यटन, सूचना प्रविधिका विषयमा सहयोग गर्नका लागि पनि राजदूत सोंगलाई मुख्यमन्त्री कार्कीले आग्रह गरेका थिए । । उनले किमाथांका जोगबनी सडकका विषयमा पनि राजदूतलाई जानकारी गराउँदै सडकले नेपालको पर्यटन र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए ।
सो अवसरमा चीनका राजदूत चेन सोंगले कोशी प्रदेशको कृषि उत्पादनलाई प्रविधिसँग जोडेर गुणस्तरीय उत्पादन गर्न सके बजार विस्तार हुने बताए ।
उनले कोशी प्रदेशको कृषि उत्पादन बजारीकरण का विषयमा चासो राखेका थिए । राजदूत सोंगले किमाथांका क्षेत्रमा आफ्नोतिर सबै निर्माण काम भएको तर नेपालतर्फ काम हुन नसकिरहेको विषयमा पनि चासो राखेका थिए । चीनतर्फको भागमा अहिले निर्माण कार्य सम्पन्न भइसकेको छ। नेपालतर्फको निर्माणमा ध्यान दिनुपर्ने कुरामा उनको जोड थियो। राजदूत चोग केही दिनदेखि कोशी प्रदेशको भ्रमणमा छन् । ।उनले इलाम लगायत कोशी प्रदेशका विभिन्न क्षेत्रमा चीन सरकारले गरेको सहयोगका कार्यक्रमहरू निरीक्षण गरेका छन् ।