
सम्पादकीय
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीको अध्यक्ष मात्र नभएर मुलुककै प्रधानमन्त्री हुन् । पछिल्ला दिनमा उनले त्यो पदिय मर्यादा र गरिमा विपरित एकपछि अर्को हर्कत गर्दै गएको भन्दै आलोचना बढिरहेको छ । संसदको रोष्ट्रमबाट एउटा सरकारी कर्मचारीलाई गालीगलौजबाट सुरु भएको ओलीको शंकी शासनले आम नेपाली नै प्रताणित हुनुपर्ने अवस्था बनेको छ । कहिले पार्टीका कार्यकर्तालाई राजधानी कब्जा गर्न आदेश दिने र कहिले आफ्नो आलोचना गर्नेलाई हिरासतमा कोच्ने प्रधानमन्त्रीको शैलीले लोकतान्त्रिक प्रणालीमा हुने गम्भीर वैचारिक बहस र जनउत्तरदायीतालाई तिलाञ्जली दिएको छ । पछिल्लो समयमा ओलीले सुरु गरेको ‘म झोले हो’ अभियान त्यसकै नमुना हो । यो वैचारिक विचलन, अधिनायकवादी मनोवृत्ति र अराजक प्रवृत्तिको नमुनाको रुपमा बाहिर आएको छ । अभियानले सुरुमा सामान्य हाँसो–ठट्टा बटुल्ला भन्ने लागे पनि, अभियानको संरचना र उद्देश्य गम्भीर रूपमा आलोचनायोग्य छ । झोले शब्द नेपाली समाजमा नेताको अन्धभक्त, आलोचना नगर्ने, हरपल जयजयकार गर्ने कार्यकर्ताका स्थापित छ । यो शब्दलाई एमाले नेतृत्वले कार्यकर्तालाई स्वीकार गर्न लगाउनु आफैंमा लज्जास्पद मात्र होइन, गम्भीर राजनीतिक विकृति हो ।
कतिपयले ओलीको यो घोषणालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मैं भी चौकीदार’ भन्ने घोषणाको नक्कल मानेका छन् । तर, ‘चौकीदार’ शब्द सकारात्मक अर्थ दिने शब्द हो । श्रम गर्नेको प्रतिनिधित्व त्यसले गर्छ । चौकिदारले वर्गीय अर्थ दिन्छ । देश र समाजको रक्षक हो भन्ने बुझाउँछ । तर, ‘झोले’ शब्द सकारात्मक होइन । यसले राजनीतिक कार्यकर्ताको सबैभन्दा तल्लो स्तर झल्काउँछ । ‘झोले’ शब्दमा सौन्दर्यता हैन, कुरुपता छ । यो अभियानलाई एमालेले विचारको झोला भनेर अपब्याख्या गरेका छन् । तर, यसले विचारको प्रतिनिधित्व गर्दैन । बिचार हुने व्यक्ति झोले बन्न सक्दैन । विवेक प्रयोग गर्ने, आलोचनान्तमक चेत राख्ने र विश्लेषण गर्ने गर्दछ । तर, झोलेले ती कुनै काम गर्दैन । जसरी ओलीले म झोले हो भन्ने पोष्टर हालेपछि विनासुझबुझ एमालेका अन्य नेता र कार्यकर्ताले त्यहि काम गर्न थाले, झोलेको चरित्र पनि त्यहि हो । यो अभियानले एमालेका इमान्दार कार्यकर्ताको अपमान मात्र गरेको देखिन्छ । तर, एमालेभित्र ओलीको यो प्रबृत्तिको खुलेर आलोचना गर्ने हिम्मत कमै कार्यकर्तामा रहेको अवस्था छ ।
ओलीको यो अभियानमा पार्टी उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवालीजस्ता नेताहरू पनि सामेल भएपनि बहुसंख्यक नेता तथा कार्यकर्ता सहभागी भएको देखिन्न । त्यसले पनि यो अभियानप्रतिको असन्तुष्टि र झोले शब्दप्रतिको आपत्ती प्रकट गरेको छ । कतिपय नेता तथा कार्यकर्ताले त खुलेरै झोले अभियानको विरुद्ध आफूलाई उभ्याएका छन् । नेताहरूको नैतिकहीनता र चरित्रहीनताले कार्यकर्तालाई झोले बन्न बाध्य भन्दै उनीहरुको असन्तुष्टि छ । यसले जनताको भावना होइन, कार्यकर्ताको स्वाभिमानमाथि प्रहार गरेको उनीहरुको बुझाइ छ । यो अभियानप्रति पार्टीभित्रकै वरिष्ठ नेताहरू, जस्तै ईश्वर पोख्रेल, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, गुरु बराल लगायतले झोले पोस्टर नबनाएर मौन असन्तुष्टि जनाएका छन् । अर्कोतर्फ, पूर्वराष्ट्रपति विद्या भण्डारी निकट नेताहरूले अभियान बहिष्कार गरेको देखिन्छ । जसले झोले अभियान एमालेभित्रको गुटबन्दीको नयाँ आधार बनेको देखिएको छ ।
मुख्य प्रश्न त प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पदमा रहेका व्यक्तिले यस्तो स्तरको प्रचारबाजी गर्नु कहाँसम्म जायज हो भन्ने हो । के नेतृत्वको आलोचना गर्नेलाई दमन गर्ने र आफ्ना पक्षधर कार्यकर्तालाई मात्रै ‘झोले’ ब्राण्डमार्फत अगाडि ल्याउने प्रवृत्तिलाई हामी लोकतान्त्रिक अभ्यास भन्न सक्छौं ? नेता तथा कार्यकर्ताले बहस गर्ने, आलोचना गर्ने र फरक धारणा राख्ने अधिकार लोकतन्त्रको मूल आत्मा हो । तर, ओली नेतृत्वमा त्यो अधिकार एकोहोरो समर्थनमा परिणत हुँदै गएको छ । ‘म झोले हो’ भन्न लगाएर कार्यकर्ताको चेतना होइन, व्यक्तिपूजालाई संस्थागत गरिँदैछ । समसामयिक नेपाली राजनीतिक परिवेशमा यस्तो अभियानको सुरुआत अराजकता, आत्ममुग्धता र शक्ति मोहको चरम अभिव्यक्ति हो । लोकतन्त्रको मुखौटा लगाएर एकल निर्णय, अनुचित प्रचार र विपक्षप्रति दमन गर्ने यो प्रवृत्ति ‘सन्की शासकको अराजक पारा’ हो । पार्टीका विवेकशील कार्यकर्ता र नेताहरूले यसबारे आवाज उठाउनैपर्छ । नत्र जसरी पञ्चायतका समर्थक मण्डलेहरुले अहिले पनि जनस्तरबाट गाली खान्छन् एमालेका कार्यकर्ताले ‘झोले’ भन्ने लाजमर्दो बिल्ला बोक्नुपर्नेछ ।