विराटनगर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड कोशी प्रादेशिक कार्यालय विराटनगरमा ५ लाखभन्दा बढी सेट पाठ्यपुस्तक गोदाममा थन्किएर बसेको छ । शिक्षक आन्दोलनका कारण शैक्षिक सत्रको सुरुवात भएपनि विद्यालय सञ्चालन नहुँदा पुस्तक वितरण हुन नसकेको हो ।

केन्द्रका अनुसार यो वर्ष सोमबारसम्म १३ लाख ३ हजार ५१० सेट पुस्तकको बिक्री भएको छ । जबकि गत वर्ष वैशाख १५ गतेसम्म १५ लाख सेट पुस्तक बिक्री भएको थियो ।जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश कार्यालयका निमित्त प्रमुख भुपराज थापाका अनुसार, विराटनगर कार्यालयबाट कोशी प्रदेशका १२ जिल्ला र मधेश प्रदेशको सप्तरीमा पुस्तक वितरण हुने गरेको छ । १३ जिल्लामा वार्षिक १५ लाख सेट पुस्तक खपत हुने गरेको छ ।

चैत २० गतेदेखि शुरु भएको शिक्षकहरूको राजधानीकेन्द्रित आन्दोलनका कारण अधिकांश सामुदायिक विद्यालयहरू बन्द छन् । त्यसले गर्दा नयाँ शैक्षिक सत्रको लागि आवश्यक पर्ने पुस्तक विद्यालयहरूले लिएका छैनन् । विद्यार्थीहरूको हातमा पुस्तक नपुगेको कारण गोदाममा पुस्तक थन्किएको हो ।

अहिलेसम्म मोरङमा २ लाख १३ हजार ३३१ सेट, सुनसरीमा २ लाख ५९ हजार ४२५ सेट, धनकुटामा ४२ हजार ५८ सेट, तेह्रथुममा ७६ हजार ८३४ सेट, भोजपुरमा ८१ हजार ९५ सेट, झापामा २ लाख ५२ हजार ८१४ सेट विक्रेताले लगेको कार्यालय प्रमुख थापाले जानकारी दिए । त्यसैगरी इलाममा ७५ हजार ६८८ सेट, पाँचथरमा ६१ हजार ६३४ सेट, ताप्लेजुङ्गमा ४८ हजार २१९ सेट, खोटाङ्गमा ८ हजार ८ सय ४ सेट, उदयपुरमा १ लाख ११ हजार २३२ सेट र मधेश प्रदेशको सप्तरीमा २ हजार ९२१ सेट विक्रेताले लगेका छन् ।

‘एक चरणमा सबै जिल्लामा पुस्तक पुगेको छ । तर, तराईका जिल्लाहरूमा कम गएको छ’ थापाले भने । अहिले धेरै विद्यालयहरु बन्द भएको कारणले गर्दा पनि विक्रेताले कम पुस्तक लगेको उनको भनाइ छ ।

गत चैत २० देखि शुरु भएको राजधानी केन्द्रित आन्दोलनका क्रममा सामुदायिक विद्यालयका शिक्षकहरु काठमाडौंमा छन् । नयाँ शैक्षिक सत्र सुरू भएसँगै सरकारले वैशाख १ गतेबाट देशभर नयाँ भर्ना अभियान सुरु हुनुपर्ने थियो । तर, विद्यालय बन्द भएकोले भर्ना अभियान पनि सुरु हुन सकेको छैन ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै नयाँ पाठ्यपुस्तक छापिसकेर ७७ वटै जिल्लामा चैत १२ गतेदेखि २५ गतेसम्म बिक्रीवितरण गरिसकेको जनाएको छ । तर, शिक्षक आन्दोलनका कारण सम्बन्धित ठाउँमा पुस्तक पुगेपनि अधिकांश विद्यालयले लिएका छैनन् ।

‘विद्यार्थीले पुस्तक नपाएको र सबै विद्यालयले नलिएकोले पुस्तक गोदाममा थन्किएको हो,’ कार्यालय प्रमुख थापाले भने । सामुदायिक विद्यालयमा पुस्तक पुर्याउनको लागि १३ जिल्लाका १४५ वटा पुस्तक पसलले जनक शिक्षा सामाग्री केन्द्र विराटनगरमा सूची दर्ता गराएका छन् ।

दुई वर्षअघिसम्म वर्षेनि समयमा नयाँ पाठ्यपुस्तक छाप्न ढिलाइ र सम्बन्धित ठाउँमा नपुग्ने समस्या दोहरिइरहेको थियो । त्यही कारण सरकारको चर्को आलोचना हुन्थ्यो । तर, २०८० को शैक्षिक सत्रदेखि सम्बन्धित ठाउँमा समयमै पुस्तक पुग्न थालेको छ ।

भर्ना अभियान पनि प्रभावित

शिक्षकहरूले शैक्षिक हड्ताल नै जारी गरेर आन्दोलनमा छन् । जसकारण अहिले अधिकांश सामुदायिक विद्यालयहरूमा नयाँ भर्ना अभियान रोकिएको छ ।

विराटनगरमा ५६ सामुदायिक विद्यालय छन् । अहिले महानगरपालिकाभित्रको सबै सामुदायिक विद्यालय बन्द रहेको महानगरपालिकाको शिक्षा महाशाखा प्रमुख कृष्ण भट्टराईले जानकारी दिए । आदर्श, पोखरीया, सत्यनारयण लगायतका माविले सूचना नै जारी गरेर अर्को सूचना जारी नहुन्जेलसम्मका लागि नयाँ भर्ना अभियान रोकेका छन् ।
महानगरभित्रका ५६ सामुदायिक विद्यालयमा करिब ३० हजार विद्यार्थी अध्ययरत रहेको महानगरपालिको अभिलेखमा देखिन्छ ।