विराटनगर । सुनसरीको धरानस्थिजत जंगलमा अर्धनग्न अवस्थामा भेटिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्या उनकै श्रीमान प्रेम दाहालको योजनामा भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
घटनाको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार श्रीमान् प्रेम दाहालले आफ्नी श्रीमतीको हत्याका लागि भारु पाँच लाखको सुपारी दिएका प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
सुनसरीको धरान उपमहानगरपालिका ६ स्थित पञ्चकन्या सामुदायिक वनमा गत सोमबार दिउँसो गोठालाहरूले लसुनेको रुखमुनि अर्धनग्न अवस्थामा महिलाको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि सुनसरी प्रहरी र प्रदेश प्रहरी कार्यालय विराटनगरले संयुक्त रूपमा अनुसन्धान थालेका थिए ।
प्रहरी अनुसन्धानबाट वैदेशिक रोजगारीका लागि कोरियामा रहेका प्रेम दाहालले आफ्नी श्रीमतीको हत्याका लागि योजना बनाई कोरियाबाट नेपाल आएको खुलेको छ । प्रहरी अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, ‘श्रीमानले भारु पाँच लाख रुपैयाँमा सुपारी दिएको र त्यसपछि हत्या गर्नका लागि एक भारतीय नागरिक आएका थिए ।
श्रीमान्ले श्रीमतीको हत्याका लागि पहिले नै ३० हजार रुपैयाँ एडभान्स दिएको र बाँकी रकम काम सम्पन्न भएपछि दिने सर्त रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार चुनुकुमारीको हत्यामा उनको परिवारका सदस्यहरूसमेत संलग्न रहेको पाइएको छ ।
अनुसन्धानले यस घटनामा कुल ६ जनाको संलग्नता रहेको देखाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका एसएसपी भिम दाहालले घटनाबारे थप विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने बताए । ‘यस घटनामा केही व्यक्तिलाई पक्राउ गरिएको छ । अहिले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिनेछौं,’ उनले भने ।
सुनसरी प्रहरीले पक्राउ परेकाहरूको विरुद्धमा कर्तव्य ज्यान मुद्दामा सुनसरी अदालतमा म्याद थपका लागि पेश गरेको छ । प्रहरीले पत्रकार सम्मेलनपछि मात्रै पक्राउ परेका व्यक्तिहरूको पहिचान सार्वजनिक गर्ने जनाएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका २ की चुनुकुमारी दाहाल बुढाथोकी करिब २ वर्षअघिदेखि आफ्नो छोरालाई पढाउनका लागि सुनसरीको इटहरी उपमहानगरपालिका २, हलगडामा डेरा गरी बस्दै आएकी थिइन् । उनको माइती महालक्ष्मी नगरपालिका १ मा रहेको छ ।
प्रहरीले अहिलेसम्म हत्याको कारण खुलाएको छैन । आज अपराह्न ५ बजे इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गरी घटनाको विस्तृत विवरण सार्वजनिक गरिने जनाइएको छ ।