अध्यक्षको उम्मेदवारी नपाएपछि आचार्यले बदले समूह

विराटनगर । नेकपा एमालेको विराटनगर महानगर समितिको दोस्रो अधिवेशन चलिरहेको बेला नगरका नेताहरु समूह अदलबदल गर्न थालेका छन् । विराटनगर ५ का पूर्व वडाध्यक्षसमेत रहेका मिनकुमार आचार्यले मंगलबार समूह परिवर्तन गरी संस्थापन पक्षमा गएको जनाएका छन् । उनले विज्ञप्ति जारी गर्दै केन्द्रीय नेताहरु युवराज बास्कोटा र विनोद ढकालको सल्लाहमा अध्यक्ष पदका लागि प्रतिनिधिको रूपमा चयन गरिएको भए पनि केही व्यक्तिहरूले षड्यन्त्रपूर्वक उम्मेदवारबाट रोक्ने प्रयास गरेको आरोप लगाएका छन् ।

विज्ञप्तिमा उनले विनोद ढकाल, सागर थापा र वलराम गिरीको नेतृत्वमा रहेको प्यानलले आफूविरुद्ध भ्रामक मुद्दा उठाई राजनैतिक र सामाजिक चरित्र हत्या गर्ने प्रयत्न गरिरहेको उल्लेख गरेका छन् । “सामान्य विषयलाई जघन्य अपराध सरह प्रस्तुत गरी मलाई उम्मेदवार बन्न नदिने प्रयासप्रति म गम्भीर आपत्ति जनाउँछु,” उनले भनेका छन् ।

आचार्यले अध्यक्ष पदको आकांक्षा रोक्न नियोजित रूपमा षड्यन्त्र भएको भन्दै उक्त गुटलाई “पार्टी विध्वंश गर्ने” संज्ञा दिएका छन् र आजको मितिदेखि त्यस्ता गुटबाट आफू अलग भएको घोषणा गरेका छन् । उनले नेकपा एमालेको संस्थापन पक्षमा आफू रहिरहने स्पष्ट गर्दै पार्टीका सम्पूर्ण स्वाभिमानी नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई विध्वंसकारी गुटको बहिष्कार गर्न आह्वान गरेका छन् ।

“पार्टीको मूलधार र संस्थापन पक्षमा लागेर पार्टी निर्माणमा सहभागी होऔं,” आचार्यले भनेका छन् ।

बुधबार, ०३ बैशाख, २०८२, बिहानको ०८:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर