ग्रामथानमा वडाध्यक्षलाई कार्यवाहक

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीले आफू ९ दिने चीन भ्रमणमा जाने भएपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी वडाध्यक्षलाई दिएका छन् ।

उपाध्यक्ष गुणवतीदेखि थारु पालिकामा भएपनि आफूसँग समन्वय नगरेको र सम्पर्कमा नरहेको भन्दै माझीले वडा नं. ३ का अध्यक्ष रमेशकुमार भगतलाई कार्यबहाक अध्यक्षको जिम्मेवारी दिएका हुन् ।

अध्यक्ष अनुपस्थित हुँदा उपाध्यक्षलाई कार्यवाहक जिम्मेवारी दिनुपर्ने प्रावधान स्थानीय सरकार सञ्चालन ऐनमा छ । ‘मलाई देख्नासाथ तर्किने उपाध्यक्षलाई के कार्यवाहक दिनु ?’ अध्यक्ष माझीले निर्णयको कारण बताउँदै भने, ‘उपाध्यक्षसँग सम्पर्क नभएकाले यस्तो निर्णय लिनु परेको हो ।’

माझी नेकपा माओवादी केन्द्रका नेता दिननाथ शर्माको नेतृत्वमा मंगलबारदेखि ९ दिने चीन भ्रमणमा जाँदैछन् । भ्रमणमा निस्कनुअघि कार्यालयका कर्मचारीहरूले उनलाई सोमबार खादा, माला र अबिर लगाएर विदाई गरेका थिए । माझीलाई कर्मचारीले भ्रमणको शुभकामना दिइँरहँदा सँगै जोडिएको कार्यकक्षमा रहेकी उपाध्यक्ष थारु भने आइनन् ।

थारु आफ्नै कार्यकक्षमा थिइन् । एक कर्मचारीका अनुसार उपाध्यक्ष अध्यक्षसँग जोडिएको कार्यकक्षमा भएपनि अध्यक्षलाई शुभकामना दिन अनुपस्थित भएकी हुन् । उपाध्यक्षसहित नेकपा एमालेका जनप्रतिनिधिहरुको बहुमत रहेको ग्रामथानमा माओवादी केन्द्रबाट माझी गत उपनिर्वाचनमा अध्यक्षमा निर्वाचित भएका थिए । सुरुवातदेखि नै अध्यक्ष र एमालेका जनप्रतिनिधिबीच विवाद हुँदै आएको छ । कार्यवाहक दिइएका रमेश पनि माओवादी केन्द्रबाट निर्वाचित वडाअध्यक्ष हुन् ।

सोमबार, २४ चैत, २०८१, साँझको ०६:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर