कोशी प्रदेश : आगामी बजेट बढ्ने, अनुदान र राजस्वमा सुधार

सबै मन्त्रालयलाई २८ अर्ब ५७ करोडको सिलिङ तोकियो, बजेटको आकार ३६ अर्ब पुग्नसक्ने

विराटनगर । कोशी प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयले बजेट निर्माण प्रक्रिया सुरु गरेको छ । प्रारम्भीक चरणमा मन्त्रालयले प्रदेशका ८ वटै मन्त्रालयलाई सिलिङ तोकेर योजना पेश गर्न वैशाख मसान्तसम्मको समय दिएको छ । मन्त्रालयका प्रवक्ता तथा उपसचिव सुशील बाँस्तोलाले बजेट निर्माणको प्रक्रिया सुरु भएको बताए । सबै मन्त्रालयमा गरी २८ अर्ब ५७ करोड बराबरको सिलिङ पठाएको बाँस्तोलाले बताए ।

संघीय सरकारले गत चैत १९ गते प्रदेश र स्थानीय तहले पाउने राजस्व बाँडफाँडको अनुमानित रकम सार्वजनिक गरिसकेको छ । जसअनुसार कोशी प्रदेशले राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख पाउने अनुमान छ । चालू आर्थिक वर्षमा कोशी प्रदेशले राजस्व बाँडफाँडबाट १२ अर्ब १० करोड मात्रै पाएको थियो ।

यस्तै कोशी प्रदेशलाई समानीकरण अनुदान पनि ४ करोड रुपैयाँ बढेर ८ अर्ब ९६ करोड ३४ लाख रुपैयाँ पुग्ने भएको छ । प्रदेशको आन्तरिक आय पनि ३५–४० करोड रुपैयाँ बढेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । ‘प्रदेशको स्रोततर्फ ३० अर्ब हाराहारी पुग्छ । सशर्त अनुदान, विशेष अनुदान र समानीकरण अनुदानसहित ३६ अर्ब भन्दा माथिको बजेट प्रस्तुत हुनसक्छ,’ आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट अनुमान गर्दै मन्त्रालय स्रोतले भन्यो । चालू आर्थिक वर्षको बजेट भने ३१ अर्बमा सीमित हुनसक्ने मन्त्रालयले अनुमान गरेको छ ।

यद्यपि आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेटको आकार धेरै बढ्ने अवस्था नहुने बताए । आगामी आर्थिक वर्षको बजेटमा पनि पुरानो दायित्व भुक्तानीको चाप रहने उनले बताए । ‘गत वर्षभन्दा धेरै बजेट बढ्ने पनि देखिँदैन । बहुवर्षे भुक्तानीको विषय अझै पेचिलो बनिरहेको छ,’ उनले भने । गत आर्थिक वर्ष १६ अर्ब दायित्व थियो । चालू आर्थिक वर्षमा घटाएर ११ अर्बमा सिमीत गर्ने प्रदेश सरकारको अनुमान थियो । तर, दायित्व घट्न सक्ने नदेखिएको मन्त्री मगरले बताए । ‘दायित्व ५ अर्बजति घट्न सक्यो भने धेरै राम्रो हुनेथियो,’ उनले भने, ‘तर, मुस्किल देखिएको छ ।’

चालू आर्थिक वर्ष २०८१–८२ मा कोशी प्रदेश सरकारको बजेट ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको थियो । तर, वार्षिक बजेटको ८६.४ प्रतिशत जति मात्र आम्दानी हुने भएपछि त्यसभित्रै रहेर खर्च व्यवस्था गर्नुपर्ने भएको मन्त्री मगरले बताए । प्रदेशलाई विपद्पछिको मर्मत सम्भार तथा पुनःनिर्माणको लागि पनि खर्च गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको छ ।
चालू आर्थिक वर्ष २०८१–८२ को फागुन मसान्तसम्ममा प्रदेशको कूल खर्च ३४.९ प्रतिशत अर्थात् १२ अर्ब ३१ करोड ७० लाख पुगेको छ । जसमा चालूतर्फ ३९.४ प्रतिशत अर्थात् ५ अर्ब ५५ करोड २८ लाख र पूँजीगततर्फ २७.३ प्रतिशत अर्थात् ४ अर्ब ५१ करोड ५२ लाख रहेको छ । स्थानीय तह अनुदानतर्फ २ अर्ब २४ करोड ९० लाख रुपैयाँ खर्च भएको छ ।

यस्तै सोही अवधिमा संघीय राजस्व बाँडफाँड र प्रदेशको आन्तरिक राजस्व समेत गरी ९ अर्ब ३० करोड २८ लाख (वार्षिक लक्ष्यको ५३.५ प्रतिशत) राजस्व संकलन भएको छ । यसैगरी संघ अनुदानको जम्मा ८ अर्ब ८० करोड ३१ लाख (वार्षिक लक्ष्यको ६०.५ प्रतिशत) प्राप्त भएको छ । राजस्व र अनुदान गरी जम्मा प्रदेशलाई १८ अर्ब १० करोड ५९ लाख रकम जम्मा भएको छ ।
यस्तै प्रदेशको आन्तरिक रावस्व भने यस वर्ष गतवर्षको तुलनामा २५.३ प्रतिशतले वृद्धि भएको छ । फागुन मसान्तसम्ममा अघिल्लो आर्थिक वर्ष आन्तरिक राजस्व २ अर्ब १८ करोड ५७ लाख प्राप्त भएको थियो भने चालू आर्थिक वर्षमा २ अर्ब ७३ करोड ७७ लाख रकम प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

सोमबार, २४ चैत, २०८१, बिहानको ०८:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर