विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाअन्तर्गतको मानगढ खानेपानी आयोजनाको निर्वाचन मिति तोक्न माग गरिएको छ । अध्यक्षका उम्मेदवारहरुले खानेपानी आयोजनाको निर्वाचनको मिति तोक्न माग राखेको हुन् ।
गत जेठ १९ गते निर्वाचन स्थगित भई विवाद अदालतसम्म पुगेको थियो ।
उच्च अदालत विराटनगरले पुनः निर्वाचन गर्न आदेश दिएको छ । अध्यक्षका उमेदवार लालमणी भट्टराई पक्षले तदर्थ समितिलाई ध्यानाकर्षण गराउँदै निर्वाचन मिति तोक्न भनेको हो ।
उच्च अदालत विराटनगरले फागुन ११ गते पुनः मतदान गराउन फैसला गरेको थियो । जसको आधारमा उमेदवार उही हुने तर मतदान मात्रै नयाँ गर्नुपर्ने अवस्थामा रहेको मानगढमा नयाँ मिति घोषणा हुनुपर्ने माग भट्टराई पक्षले गरेको छ । आइतबार तदर्थ समिति तथा व्यवस्थापन पक्षको ध्यानाकर्षण गराउँदै अदालतले फैसला कार्यान्वयन गराउन माग गरिएको छ । अदालतले तीन महिनाभित्र निर्वाचान गराउन आदेश दिएको छ ।
भट्टराईले तदर्थ समितिले अदालतको फैसलालाई सम्मान गर्दै सबैसँगको सहकार्यमा निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताए । भने,‘वर्णानुक्रम वा क्रमसंख्याका आधारमा उपभोक्ता (मतदाता) को नाम सार्वजानिक गर्नुपर्ने हाम्रो माग छ । वर्णानुक्रम वा क्रमसंख्याका आधारमा मतदाताको लाइन र मतपेटिका राख्नुपर्ने, फराकिलो र उपभोक्तालाई पायक पर्ने मतदानस्थलको पूर्ण प्रहरी सुरक्षामा मतदान हुनुपर्छ ।’
यसैगरी संघसंस्था आउने प्रतिनिधिको नाम मतदाता नामावलीमा पहिल्यै उल्लेख गर्नुपर्ने, त्यसका लागि सम्बन्धित संघसंस्थामा पत्राचार गरेर नाम माग्नुपर्ने, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुका लागि छुट्टै मतपेटीका राखिनुपर्ने, उपभोक्ताको फोटोसहितको परिचयपत्र निर्वाचन हुनुभन्दा सातदिन अगावै वितरण गर्नुपर्ने, निर्वाचन समिति गठन गर्दा निष्पक्ष व्यवहार गर्ने हुनुपर्ने, सार्वजानिक विदाको दिन पारेर निर्वाचनको मिति घोषणा गर्न समेत माग गरिएको छ ।
अध्यक्षका उमेदवार लालमणी भट्ट्राई प्यानलका उपाध्यक्ष पदका उमेदवार बुद्धिप्रसाद पौडेल, सावित्राकुमार न्यौपाने, सचिवका प्रदिपकुमार नेपाल, कोषाध्यक्ष हिरण्य निरौलासहित सदस्य पदका उमेदवारहरु तुलसीप्रसाद दाहाल, शान्ति बस्नेत, टंक पाठक र अन्जु तिम्सिना कटुवालले मिति तोक्न माग गर्दै ध्यानाकर्षण गराएका हुन् । मानगढ खानेपानीमा भट्टराईसहित अहिलेका तदर्थ समितिका अध्यक्ष राम घिमिरे र दुर्गा चापागाँई अध्यक्षका उमेदवार रहेका छन् ।
निर्वाचन रोकिएपछि मतगणना हुनुपर्ने माग गर्दै एक पक्ष अदालत पुगेको थियो भने अर्को पक्ष पुनः मतदान हुनुपर्ने माग गर्दै पुगेको थियो । उच्च अदालत विराटनगरले उहि उमेदवार र उहि उपभोक्ता कायम रहने गरी पुनः मतदान गराउन फैसला गरिदिएपछि मानगढमा निर्वाचन माहोल तात्न थालेको छ । गत वर्ष भएको निर्वाचनमा समर्थन गर्ने र आधिकारिक उमेदवारलाई हराउन सक्रिय भएको भन्दै नेकपा एमाले मोरङमा विवाद भएको थियो । पार्टीको आधिकारिक उमेदवार राम घिमिरेका विरुद्ध लालमणी भट्टराईलाई उमेदवार बनाएको भन्दै महानगरपालिकाका नगर अध्यक्ष सागर थापा, उपसचिव नवराज नेपाल र वडा पार्टी अध्यक्ष रहेका भट्टराई कारवाहीमा परेका थिए ।
अहिले ती सबै कारवाही बेरितको रहेको सन्देश एमालेको दशौं जिल्ला अधिवेशनले दिएको छ । जसजसले कारवाही गरेका थिए, उनीहरु दशौं अधिवेशनबाट सबै पराजित भएका छन् । कारवाहीमा भोग्नेहरु निर्वाचित भएका छन् ।
मोरङमा एमालेका बिनोद ढकाल पक्षधरले जिल्ला पार्टीको सबै नेतृत्वमा विजयी हाँसिल गरेसँगै मानगढको निहुँमा कारवाहीमा परेका नेपाल र भट्टराई फुकुवा भईसकेका छन् ।