राज्यलाई जिम्मेवार बन्न इन्सेकको आग्रह

पाँचथर । पाँचथरको फालेलुङ्ग गाउँपालिका–५ डाडाँगाउँ,प्राङबुङ्गमा भएको घटनाको अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) ले स्थलगत अनुगमनपछि राज्यलाई थप जिम्मेवार बन्न आग्रह गरेको छ ।

इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको टोलीले भदौ १८ र १९ गते घटनाको स्थलगत अनुगमन गरी बिहीबार फिदिममा पत्रकार सम्मेलन गरेर यस्तो आग्रह गरेको हो ।

इन्सेकले घटनाका पीडित(घाइते) पीडित परिवार, छिमेकीहरू, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, फालेलुङ्ग गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, प्रहरी, पत्रकारलगायतसँग घटनाका विषयमा जानकारी लिएको थियो । घाइते बालकहरूलाई स्थानीय सरकार, अस्पताल र प्रहरी प्रशासनसँग समन्वय र सहकार्य गरी उपचारका लागि कीर्तिपुरस्थित वर्न(जलन) अस्पतालमा भदौ १९ गते भर्ना गरिएको इन्सेकले जनाएको छ ।

विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष बितेपनि नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकारको अझै सुनिश्चित हुन नसकेकोप्रति इन्सेकले चासो राखेको छ । नेपाल सरकारले २०६८ जेठ ३१ गते बारूदी सुरूङ मुक्त राष्ट्र घोषणा गरेको १३ वर्ष व्यतित भइसकेको अवस्थामा पाँचथरमा हालैको घटना र यसअघिका घटनालाई राज्यले गम्भीरतापूर्वक लिन इन्सेकले जनाएको छ ।

द्वन्द्वकालका अवशेषहरू बाँकी रहेकाले नागरिकको जीवनमा खतरा कायमै रहेकोतर्फ राज्य जिम्मेवार हुनुपर्ने इन्सेकले जनाएको छ । पाँचथरको विष्फोटको घटनाले बाल अधिकार सुनिश्चिताका लागि धेरै कार्य गर्न बाँकी रहेको पनि इन्सकले औल्याएको छ ।

फालेलुङ्ग गाउँपालिका–५ डाडाँगाउँ,प्राङबुङ्गमा घटनामा एकै परिवारका दाजुबहिनी ११ र अढाई वर्षीया बालबालिकाको ज्यान गएको छ । सात र ११ वर्षीय बालकद्घय उपचारमा छन् ।

तत्काल पीडित परिवारलाई राज्यको सम्बोधनसहित घाइतेको प्रभावकारी उपचार, मृतक परिवारलाई उचित क्षतिपूर्ति र राहत, बारूदी सुरूङ, विष्फोटक पदार्थको प्रष्ट परिभाषासहित थप नागरिकको जीवन जोखिममा पर्न नदिन विष्फोटक पदार्थको निश्कृय र उचित व्यवस्थापनका लागि इन्सेकले प्रेस विज्ञप्तिमार्फत सरकारसँग अपील गरेको छ । घटनाको यथाशीघ्र छानविन गरी न्यायिक दायरामा ल्याउन पनि उसले माग गरेको छ ।

बिहिबार, २० भदौ, २०८१, साँझको ०६:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर