राष्ट्रिय जनगणना : कोशी प्रदेशमा बढ्दैछन् घरमुली महिला

विराटनगर । पछिल्लो जनगणनाको परिणाम सार्वजनिक भएपछि विभिन्न रोचक तथ्यहरु उजागर भएका छन् । हामीले यहाँ कोशी प्रदेशको केही रोचक तथ्यांकहरु प्रस्तुत गरेका छौं ।

राष्ट्रिय जनगणना २०७८ को अन्तिम परिणाम अनुसार कोशी प्रदेशमा ९६.८ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । कोशी प्रदेशस्तरीय नतिजा अनुसार प्रदेशका १४ जिल्लामा रहेका ११ लाख ९० हजार सात ५५ परिवारमध्ये ३.२ प्रतिशत परिवारको शौचालयको पहुँच नभएको उल्लेख गरिएको छ ।

राष्ट्रिय जनगणना २०६८ मा शौचालयको पहुँच नभएका परिवारको संख्या ३०.३ प्रतिशत थियो । जनगणना २०७८ अनुसार प्रदेशको जनसंख्या ४९ लाख ६१ हजार चार सय १२ मध्ये महिला २५ लाख ४४ हजार ८४ (५१.२८ प्रतिशत) छ भने पुरुष २४ लाख १७ हजार तीन सय २८ (४८.७२ )प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।

विसं २०६८ को राष्ट्रिय जनगणनामा प्रदेशको जनसंख्या ४५ लाख ३४ हजार नौ ४३ थियो । जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्यामध्ये अन्य लिङ्गीको संख्या दुई हजार नौ सय २८ (शून्य दशमलव शून्य एक प्रतिशत) मध्ये प्रदेशमा यसको १०.४ प्रतिशत छ ।
प्रदेशमा वार्षिक औसत जनसंख्या वृद्धिदर शून्य दशमलव ८५ प्रतिशत छ । जसमा झापामा सबैभन्दा बढी एक दशमलव ९७ प्रतिशत र सबैभन्दा कम खोटाङ छ । जनगणनाअनुसार प्रदेशको कूल जनसंख्याको ६२ दशमलव आठ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका छन् भने १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लोको उमेर समूहका जनसंख्या क्रमशः २६ प्रतिशत र ११ दशमलव दुई प्रतिशत छ ।
प्रदेशमा सबैभन्दा बढी जनसंख्या मोरङमा ११ लाख ४८ हजार एक सय ५६ जना छन् भने सबैभन्दा कम जनसंख्या तेह्रथुममा ८८ हजार सात सय ३१ रहेको उल्लेख गरिएको छ । यस्तै झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो र तेस्रो धेरै जनसंख्या भएका जिल्ला हुन् भने कम जनसंख्या भएका जिल्लामा सोलुखुम्बु र ताप्लेजुङ क्रमशःदोस्रो र तेस्रो स्थानमा छन् ।

प्रदेशमा ५३ दशमलव चार प्रतिशत परिवारले खाना पकाउन काठ÷दाउराको प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ । खाना पकाउन एलपी ग्यास, गुइँठा, बायोग्यास, बिजुली, मट्टितेल र अन्य इन्धन प्रयोग गर्ने परिवाको क्रमशः ४१ दशमलव दुई, तीन दशमलव चार, एक दशमलव तीन, शून्य दशमलव पाँच, शून्य दशमलव शून्य चार र शून्य दशमलव दुई प्रतिशत छ ।

जनगणनाअनुसार प्रदेशमा कूल ११ लाख ९१ हजार पाँच सय ५६ परिवारमध्ये ३० दशमलव नौ प्रतिशत परिवारको मूली महिला छन् । जुन अघिल्लो जनगणनाको तुलनामा चार दशमलव छ प्रतिशत बढी छ । प्रदेशका कूल जनसंख्याको दुई दशमलव चार प्रतिशत व्यक्तिमा कुनै न कुनै प्रकारको अपाङ्गता रहेकोमध्ये पुरुष ५३ दशमलव नौ प्रतिशत र महिला ४६ दशमलव एक प्रतिशत छन् । प्रदेशमा पाँच वर्ष वा सोभन्दा बढी उमेर समूहको कूल जनसंख्यामा ७९ दशमलव सात प्रतिशत साक्षर रहेकोमध्ये पुरुषको ८६ दशमलव एक प्रतिशत र महिला ७३ दशमलव छ प्रतिशत छ ।

प्रदेशमा २८ दशमलव दुई प्रतिशतले प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) उत्तीर्ण गरेका छन् भने कक्षा ६ देखि ८ सम्म उत्तीर्ण गर्ने २० दशमलव एक प्रतिशत, एसइई वा सोसरह उत्तीर्ण गर्ने ११ दशमलव तीन प्रतिशत र एसइईभन्दा माथिल्लो तह उत्तीर्ण गर्ने १६.७ प्रतिशत छन् । प्रदेशमा पाँच वर्ष वा सोभन्दा कम उमेरका कूल चार लाख ६२ हजार छ सय २५ जना बालबालिकामध्ये ७० दशमलव आठ प्रतिशतको जन्मदर्ता गरेको देखिन्छ भने २९ दशमलव दुई प्रतिशतको जन्मदर्ता नभएको देखिन्छ । प्रदेशमा पहिलो विवाह गर्दाको औसत उमेर २० वर्ष रहेको छ । जसमा पुरुषको २२ वर्ष र महिला १९ वर्ष छ । प्रदेशमा विद्युत् प्रयोग गर्ने परिवारको सङ्ख्या ९३ दशमलव सात प्रतिशत छ । २०६८ को जनगणनामा यस्तो संख्या ६५ दशमलव आठ प्रतिशत थियो । प्रदेशमा स्मार्टफोन भएका परिवार ७४ दशमलव दुई प्रतिशत रहेको छ भने साधारण मोबाइल फोन भएका परिवार ७२ दशमलव छ प्रतिशत छ ।

महिलाका नाममा घर वा जग्गा वा दुवै हुने परिवारका संख्या २८ दशमलव चार प्रतिशत छ । जुन २०६८ को तुलनामा शून्य दशमलव पाँच प्रतिशत बढी छ ।

शुक्रबार, १२ जेठ, २०८०, बिहानको ०७:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page