विराटनगर । पूर्वी नेपालको आपूर्तिका लागि भारतको कटैयाबाट आउने बिजुली विगत तीन महिनादेखि अवरूद्ध भएपछि मोरङ र सुनसरीका ठुला उद्योगले आफ्नो उत्पादनमा ६० प्रतिशतसम्मले कटौती गरेका छन् ।
मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा ठुला उद्योग सञ्चालन गरिरहेका व्यवसायीले उत्पादनमा ६० प्रतिशतले कटौती गर्नुपरेका बताएका हुन् ।
उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले प्राधिकरणले अघोषित लोडसेडिङ गरिरहेको आरोप लगाउँदै औद्योगिक क्षेत्रमा यसको ठूलो असर परेको दाबी गरे । उनका अनुसार सर्वाधिक असर स्टिल, सिमेन्ट र प्लास्टिक जस्ता धेरै विद्युत् खपत गर्ने उद्योगलाई परेको छ ।
प्लास्टिकका फर्निचर र अन्य सामग्री उत्पादन गर्ने लोटस इन्डस्ट्रिजका सञ्चालकसमेत रहेका राठीले भने, ‘सामान्यतया बिहान र साँझमा बिजुली काटिन्छ । तर, यसको निश्चित समय भने छैन । कहिले २ घण्टा पनि काटिएको छ र कहिले ६ घण्टासम्म पनि । कुन समयमा लाइन काटिने हो हामीलाई जानकारी छैन । लाइन काट्नुभन्दा ५ मिनटअघि मात्र हामीलाई लाइन काटिँदैछ भन्ने म्यासेज मोबाइलमा आइपुग्छ । यसपछि हामी केही उपाय गर्न सक्तैनौं ।’
उनका अनुसार प्लास्टिक उद्योगले वस्तु उत्पादन गर्न प्लास्टिक दानालाई साढे दुई घण्टा प्रशोधन गर्नुपर्छ । यस क्रममा प्लास्टिक दानाका अतिरिक्त रङ र अन्य केमिकल सहितका सहायक कच्चा सामग्री पनि सँगसँगै प्रशोधनमा हुन्छन् । यही वेला अकस्मात् विद्युत् कटौती हुँदा प्रशोधनमा राखिएका सम्पूर्ण कच्चा र सहायक कच्चा सामग्रीमध्ये अधिकांश काम नलाग्ने हुन्छन् र तिनलाई स्क्रयापमा बिक्री गर्नुपर्ने हुन्छ ।
केहीलाई भने ‘रिसाइकल’ गर्न मिल्छ । यसरी एक प्लास्टिक उद्योगमा अकस्मात् २ मिनटभन्दा बढी समय विद्युत् अवरूद्ध हुँदा लाखौंको नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ । ‘त्यत्तिकै पनि उत्पादनको विक्री छैन, भएको विक्रीको पनि भुक्तानी संकलन हुँदैन,’ उनले भने, ‘त्यसमाथि बिहान–बेलुका हुने अघोषित र अनियमित लोडसेडिङले उद्योगको उत्पादन लागत बढाइरहेको छ । अहिले उद्योगले उत्पादनमा ६० प्रतिशतसम्मले कटौती गरिरहेका छन् । यसको मुख्य कारण अघोषित लोडसेडिङ पनि हो ।’
टीएमटी छड लगायतका स्टिल सामग्रीको उत्पादन गरिरहेको सुनसरीको उद्योग प्रिमियर स्टिलका सञ्चालक सौरभ शारडाले औद्योगिक क्षेत्रमा बिहान र बेलुका गरी दैनिक ४ देखि ६ घण्टासम्म अघोषित लोडसेडिङ भइरहेको जानकारी दिए । उनका अनुसार अघोषित लोडसेडिङले पूर्वका प्रिमियर, पशुपति र स्वस्तिकजस्ता मेल्टिङमा आधारित उद्योगले ठूलो घाटा ब्यहोर्नु परेको छ ।
शारडाले भने, ‘हामीले स्क्रयाप र अन्य सहायक कच्चा सामग्रीलाई साढे २ घण्टा भट्टीमा राखेर प्रशोधन गर्नुपर्छ । प्रशोधनका क्रममा पग्लिएर तरल अवस्थामा आइसकेको कच्चा पदार्थ एक्कासी विद्यु्त् कटौती गरिँदा फेरि जम्छ र त्यसलाई पुनः पगाल्नुपर्ने हुन्छ । यसले विद्युत् महसुललाई ह्वात्तै बढाइदिन्छ । यसको सिधा असर उत्पादन लागतमै पर्छ ।’
उनले मेल्टिङमा आधारित फलामे उद्योगमा एक्कासी विद्युत् कटौती गरिँदा भट्टी नै विष्फोट भएर धनजनको अकल्पनीय क्षतिसम्मको जोखिम हुने प्राविधिकको भनाइ रहेको जिकिर गरे । ‘बिहान–बेलुका कति वेला लाइन जाने वा आउने हो टुंगो हुँदैन,’ उनले भने, ‘यस्तो परिस्थितिमा हामीले कति कामदारलाई तयार अवस्थामा राख्ने भन्ने अर्को समस्या परेको छ । विद्युत् कटौती हुन्छ भनेर कामदारलाई घर फर्काइदिऊँ लाइन नजान सक्छ । कामदारलाई राखिराखूँ, विद्युत् काटिन सक्छ । यसरी अघोषित लोडसेडिङले मजदुरको व्यवस्थापन गर्न पनि कठिन भइरहेको छ ।’
विद्युत् प्राधिकरणले यो समयमा विद्युत् कटौती गरिन्छ भनेर समय तोकेरै घोषणा गर्नुपर्ने आग्रह उनको छ । प्राधिकरणले निश्चित लोडसेडिङको घोषणा गरिदिएमा उद्योगलाई उत्पादनको व्यवस्थापन गर्न सजिलो हुने र लागतमा असर नपर्ने धारणा उनले प्रकट गरे ।
‘बरु प्राधिकरणले हामीलाई दिन र समय तोकेर हप्तामा २ दिन मात्र लाइन देओस् । यसबाट हामी केही व्यवस्थित हुनसक्छौँ। लाइन नआउने दिन कामदारलाई बिदा दिन्छौं । तर, एक्कासी विद्युत् अवरूद्ध नगरियोस्,’ उनले भने । सप्तकोसी सिमेन्ट उद्योगका इलेक्ट्रिक इन्जिनियर राकेश मिश्रले आफ्नो उद्योगले अघोषित लोडसेडिङका साथसाथै अस्थिर भोल्टेज र ट्रिपिङको समस्या पनि भोगिरहेको बताए ।
इन्जिनियर अटलका अनुसार मोरङको कटहरी औद्योगिक क्षेत्रमा पर्ने यो उद्योग सामान्यतया राति ११ देखि बिहान ८ बजेसम्म सञ्चालन गरिन्छ । राति उद्योग चलाउँदा विद्युत् महसुलमा सहुलियत भएकाले यसो गरिएको हो । प्राविधिक मिश्रले भने, ‘हरेक पटक ट्रिपिङ भएर विद्युत् आपूर्ति बन्द हुँदा कारखानाभित्र ४० मिनट निष्क्रिय समय सृजना हुन्छ । यसबाट उत्पादनमा ह्रास आउने, उत्पादन नै बन्द हुने र उत्पादित मालवस्तुको गुणस्तरसमेत बिग्रने खतरा हुन्छ ।’
अटलले उद्योग चलिरहेका बेला कुनै सूचना नदिई अकस्मात् विद्युत् कटौती गर्दा पनि यस्तै समस्या हुने जिकिर गरे । अघोषित लोडसेडिङ र ट्रिपिङका कारण उद्योगले बर्सेनि करोडौं रुपैयाँको कच्चा र सहायक कच्चा सामग्री फालिरहेको उनले दाबी गरे । ‘हामीसित २ हजार केभीएको जेनेरेटर पनि छ,’ उनले भने, ‘तर, जेनेरेटरबाट कारखाना सञ्चालन गर्दा खर्च झन् धेरै पर्छ । एक बोरा सिमेन्टमै कम्तीमा १० रुपैयाँले मूल्यवृद्धि गर्नुपर्ने हुन्छ ।’
उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईले पुस लागेयता सामान्यतया बिहान ७ देखि १० र बेलुका ५ देखि साढे ९ बजेभित्र कुनै पनि वेला लोडसेडिङको सन्देश आउने गरेको बताए । महानिर्देशक भट्टराईको भनाइ छ, ‘तर यस्तो सन्देश विद्युत् कटौती हुने वेलामा मात्र आइपुग्छ । प्राधिकरणले कमसेकम अघिल्लै दिन जानकारी गराएदेखि उद्योगले आफ्नो व्यवस्थापनमा सहज अवसर पाउने थिए ।’
भट्टराईले पुसयता प्राधिकरणले भारतबाट विद्युत् आयात गर्न हरेक दिन टेन्डर हालिरहेको र टेन्डर परेका दिन मात्र उद्योग सुरु हुनसकेको उल्लेख गरे । पूर्वमा विद्युतको आपूर्ति गरिरहेको नेपाल विद्युत् प्राधिकरण दुहबी शाखाका प्रबन्धक राजेश रेग्मीले भारतको कटैयाबाट आइरहेको दैनिक १५० मेगावाट विद्युत् विगत ३ महिनायता अवरूद्ध रहेको जानकारी दिए ।
प्रबन्धक रेग्मीले पूर्वमा विद्युत् आपूर्ति सहज हुननसक्नुमा कटैयाको लाइन मुख्य भएको स्पष्ट पारे । रेग्मीका अनुसार तीन महिनाअघिसम्म कटैयाबाट नियमित रूपमा १५० मेगावाट विद्युत् आउँथ्यो । कहिलेकाहीँ त २०० मेगावाट पनि आएको छ । प्राधिकरणले कटैयाको विद्युत् अवरूद्ध भएपछि नेपालकै ढल्केवर–मिर्चैया प्रसारण लाइनबाट २०० मेगावाट विद्युत् पूर्व ल्याइरहेको छ । तर उक्त विद्युतमा लाहानले ३०, मिर्चैैयाले ३० र रुपनीले २५ मेगावाट खपत गर्छन् ।
यसप्रकार उक्त प्रसारण लाइनबाट ११५ मेगावाट विद्युत् मात्र कोसीपूर्व आइपुग्छ । यसबाहेक पूर्वमा विद्युतको ठूलो माग धानिरहेको काबेली जलविद्युत् आयोजनाको उत्पादन पनि हिउँद लागेपछि नराम्ररी खस्किएको छ । काबेलीले सिजनमा २४० मेगावाट उत्पादन गरिरहेकोमा हिउँद लागेपछि ३५ देखि ४० मेगावाट मात्र उत्पादन गरेको छ । प्रबन्धक रेग्मीले भने, ‘कोसीपूर्वमा हामीलाई चाहिने विद्युत् २४० मेगावाट हो तर हामीसित अहिले पुगनपुग १५० मेगावाट मात्र छ ।’

