विराटनगर । गाउँगाउँमा पसेका विभिन्न लघुवित्त संस्थाहरुले चर्को ब्याज असुल्न थालेपछि ऋण लिएर तिर्न नसक्ने विपन्न समुदायहरु विस्थापित बन्न थालेका छन् । मोरङको कानेपोखरी गाउँपालिकाका अधिकांश वडामा यो समस्या छ ।
लघुवित्तकै ऋण तिर्न नसकेपछि कानेपोखरी ६ का ध्रुव परियार परिवारसहित वेपत्ता छन् । कानेपोखरी ७ का धनमाया जोगी पनि ऋणकै कारण विस्थापित भएको गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारी बताउँछन् । कानेपोखरी–२ लिम्बूटोलका ध्यानबहादुर पाण्डे पनि परिवारसहित घरमा ताला लगाएर भारततिर लागेका छन् । २ जना छोरीलाई मावलमा छोडेर हिंडे पाण्डेकी श्रीमती भने विदेशमा छिन् ।
कानेपोखरी २ लिम्बू टोलका पूर्ण लिम्बूले झण्डै ७ वटा लघुवित्त संस्थाबाट ऋण खाएका छन् । बंगुर फामको नाममा ऋण लिएका उनले १४ महिना साउदी बसेर ५ लाख जति ऋण तिरे । तर, साँवा ७–८ लाख रुपैयाँको ब्याज तथा हर्जना बढेर अहिले १५ लाख कटेको उनी बताउँछन् ।
उनको जग्गा छैन । अर्कैको जग्गामा घर बनाएर बसेका छन् । उनले बंगुर फार्म संचालन गर्ने भनेर बिना धितोमा नेरुडे, फरवार्ड, जीवन विकास, नागबेली, माइक्रोफाइनान्स, स्वदेशी लघुवित्त तथा स्वाबलम्बन, इन्टिभिटी भन्ने संस्थाबाट १ लाख, डेढ लाख, ५० हजारका दरले ऋण लिएका थिए ।
‘सबैको गर्दा झण्डै १५ लाख रुपैयाँ ऋण पुगेको छ । जम्मा साउँ रकम लिएको झण्डै ७–८ लाख थियो होला । किस्ता तिर्न नसकेपछि नवीकरण गर्नु भन्दै सावाँको डबल बनाएर नवीकरण गर्छन्,’ लिम्बू भन्छन् । अहिले ऋणको रकम उठाउन लघुवित्तका एजेन्टहरु घरमा आउँछन् । तर, उनी भन्छन्, ‘मलाई जेल लाने हो भने पनि लगोस् । छोराछोरी पनि सरकारले हेरिदेओस् ।’ आफ्नी श्रीमतीलाई पनि विदेश पठाएउन लागेको उनी सुनाउँछन् । ‘ऋण तिर्न सकिएन, घरमा बसिसक्नु पनि छैन, उमेर पनि ढल्किँदै गएको छ,’ उनी सुनाउँछन्, ‘एउटा संस्थाले त झुण्डिएर मर भन्यो, मैले म मर्दिन भने ।’

हामी अन्जान मुर्खलाई के थाहा । पढेको पनि छैन । यसरी भन्छ उसरी भन्छ । ब्याज कति पनि थाहा छैन । उमेरले ४५ वर्ष नाघेका उनी आफ्नी ३८ वर्षे श्रीमती दुई दिनपछि विदेश उड्न लागेको बताउँछन् । कानेपोखरी २ लिम्बू टोलकै मोहन पाण्डे ८२ वर्षका भए । उनकी श्रीमती मनमाया पाण्डे ७८ वर्षकी भइन् । मनमायाको नाममा रहेको तीन कठ्ठा जग्गामा जेठो छोरा ध्यानबहादुर पाण्डेले ९ लाख रुपैयाँ ऋण लिएर घर बनाए । ९ लाखको हिसाव देखाएको भएपनि उनले हातमा भने ७ लाख मात्रै ऋण पाएका थिए ।
‘९ लाख रुपैयाँ ऋण निकालेको थियो । एक लाख रुपैयाँ धरौटी राखियो । १ लाख रुपैयाँ ऋण दिलाउनेले कमिसन भनेर लगे अरे,’ उनका बुबा मोहन पाण्डे बताउँछन्, ‘छक्क पर्नु अहिले त ७ ठाउँबाट मान्छे आउँछन् । लघुवित्तका मानिसहरु घर घेर्न आउँछन् । तिमीहरुको छोराछोरीको भविश्य खत्तम हुनेभयो । घर भत्काइदिन्छौं । कालोसूचीमा राखिदिन्छौं । सात पुस्तासम्म छोराछोरीको नागरिकता बन्दैन । तिमीहरुले वृद्ध भत्ता पनि खान पाउँदैनौं भनेर धम्क्याउँछन् । हामी बुढाबुढीलाई कालोसूचीमा राख्ने धम्की दिन्छन् । कालोसूचीमा राखेपछि भत्ता आउँदैन भन्छन् । भत्ता आएन भने म औषधि खान पाउँदिन मरिजान्छु म के को कालोसूची ?।’
धितो राखेको घर जग्गाको मूल्य २४–२५ लाख होला । नौ लाख लिएको ऋणमध्ये ७ लाख हात पर्यो । ९ लाखको हिसाव गरेर नवीकरण गर्दै डब्ल्याउँदै अहिले १९ लाख तिर्नुपर्ने देखाएको पाण्डे बताउँछन् । ‘जेठो छोरा घरमा छैनन् । बुहारी जोर्डन गएकी छ । छोरा इन्डिया गयो । दुई जना नातिनीहरु मावलमा गए । घर खाली छ । चिठी आएको आएकै छ,’ उनी सुनाउँछन् ।

सोही ठाउँकी लक्ष्मी लिम्बूले पनि फरवार्ड लघुवित्तबाट १ लाख र जीवन विकास संस्थाबाट ८० हजार रुपैयाँ ऋण लिएकी छिन् । ‘८० हजारको १ लाख २० हजार पुगेको छ । फरवार्डको ५ किस्ता तिरेपछि ९० हजारमा आइपुगेको छ । एक किस्ता दुई किस्ता तिरेन भने ब्याज कहाँ पुर्याउँछ पुर्याउँछ । ऋण तिर्न अर्कोतिर ऋण गर्नुपर्छ । ब्याज थोरै छैन । हामीले कसरी तिर्नु ?,’ ५२ वर्षे उनी गुनासो गर्छिन्, ‘पहिले संस्थामा लागेपछि राम्रो हुन्छ भनेर लागियो । अहिले डुबायो । एउटा आउँछ, अर्को राम्रो भन्छ, अर्को आउँछ अर्को राम्रो भन्छ । भएभरका संस्थामा छौं । सबैले ऋण खानु भन्छ अनि लियौं ।’
अब ऋण कसरी तिर्नुहुन्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘पहिले पहिले अर्को संस्थाले दिन्थ्यो, अर्कोलाई तिथ्र्यौं । अहिले कसैले पनि दिँदैन । जग्गा बेचविखन गरेर तिरौं भन्दा जग्गा पनि विक्दैन, अब कसरी तिर्नु केही थाहा छैन ।’ लघुवित्तको किस्ताले धेरै डर देखाएको पनि उनी गुनासो गर्छिन् । ‘हामीलाई धेरै डर देखाइ राखेको छ । शाखा सन्तान सात पुस्ता केही गर्न सक्दैन । मर्नु नि किन हेरिरहेको टिलटिल आँखा बालेर पनि भन्यो मलाई । बिरामी थिएँ । टाइफाइड भएको थियो,’ उनी टिलपिल आँशु झार्दै भन्छिन् । एक पटक गाउँमा सुँगुर काटिरहेका थिए । लघुवित्तका कर्मचारी ऋण असुल गर्न भन्दै आए । पैसा छैन भनेपछि गाली गलौजमा उत्रन थाले र भने, ‘सुँगुर खाएर कस्तो सुँगुरजस्तै भएको भन्छन् । कत्ती डर देखाएको छ हामीलाई । अपमान पनि उत्ति नै गर्छन्,’ लघुवित्तकै पीडित भीममाया लिम्बू भन्छिन् । किस्ता तिरेन भने किस्ताको रकम सावामा थपेर फेरि नवीकरण गरिदिने गरेको उनीहरु बताउँछन् ।
झण्डै १२ वटा लघुवित्तबाट ऋण खाएको बताउने कानेपोखरी २ कै सीता झाँगडको पीडा पनि उस्तै छ । उनका श्रीमान् दिलिप मुडियारी झाँगड टाइफाइडको बिरामी भए । लघुवित्तका मानिसहरु गाउँको समूहलाई उठाएर आए । अनि भने, ‘डोरी दिन्छु, झुण्डिएर तँ पनि मर !,’ रुँदै भन्छिन् । उनले सुरुमा जीवन विकासबाट ५ हजार ऋण लिएकी थिइन् । राम्रो भयो । त्यसपछि अर्को संस्था आयो । सेवा सुविधा राम्रो हुन्छ, यति बचतको यति फाइदा हुन्छ भन्यो । ‘हामीले पनि ऋण खायौं । तर, श्रीमान् बिरामी भएपछि हामीले तिर्न सक्न छोड्यौं । लाज सरम छैन भन्दै आउँछन् । समूहका मानिसहरु उठेर आउँछन् । धेरै टर्चर दिए । १२–१३ वटा संस्थाबाट ऋण लिएका छौं,’ उनी भन्छिन् ।
ऋण लिएका सबै संस्थाको नाम फरर्र भन्न पनि उनी सक्दिनन् । तर, नेरुडे, फरवार्ड, नेपाल सारडा, अभियान, इफिनिटी, स्वाबलम्बन, समिट, स्वाबलम्बनलगायतको नाम भने उनी लिन सक्छिन् । लघुवित्तबाट लिएको ऋण तिर्न मिटरब्याजमा पैसा लिएको पनि उनी सुनाउँछिन् । ‘मिटरब्याजकै कारण घर जग्गा पनि जान लाग्यो । मेरो छोराछोरीले पढ्न पनि पाएनन् । हामीलाई ऋण तिर्ने कुनै उपाया भएन । अहिले काम पनि बन्द भएको छन् । अब जे गर्नुछ गर्नु भनेर भनेका छौं । उपाया छैन भनेका छौं ।’
उनले पनि कुनैमा ७० हजार, कुनैमा डेढलाख, कुनैमा एक लाख ऋण खाएको बताइन् । किस्ता नतिरेको भन्दै एक लाखको दुईलाख, तीनलाख सम्म पुर्याएको उनको गुनासो छ । उनलाई ऋणिहरुले घर छोड पनि भन्छन् । घरमा ताला लगाइदिन्छु भन्छन् । सोही ठाउँकी सुकरी मुडियारी झाँगडले १७ हजार ऋण तिर्न नसक्दा घरभित्र पसेर लघुवित्तका मानिसले काठको र्याक, बिम तथा ग्याँस शिलिण्डर पनि लगेर गए ।

‘५० हजार ऋण खाएको थिएँ । बाँकी १५–१६ हजार थियो । केही दिनपछि तिर्छु भनेको हातपात पनि गर्यो । त्यसपछि घरभित्र पसेर ¥याक, काठको बिम, ग्याँस सिलिण्डर पनि लगिदियो । जाडोमा भात पकाउन नसक्ने अवस्था थियो । ग्याँस पनि लगिदियो । अहिले ऋण चुक्ता पनि गरिसकेँ तर अहिलेसम्म ग्याँस शिलिण्डर ल्याइदिएको छैन,’ उनी सुनाउँछिन्, ‘ऋण तिर्न नसक्ने हो भने मर पनि भन्छन् । कसरी मर्नु हौ अनि ! ऋण तिर्न नसक्दा नै मर्नु त अनि ? ।’ ऋण खाने गाउँका सबैजसो मानिसहरु लुकिलुकी हिँडिरहेको उनीहरु सुनाउँछन् । लघुवित्तले समूहबाट निस्किन्छु भन्दा पनि दिँदैनन् ।
कानेपोखरीकै वडा नम्बर ६ र ७ को सिमानाको एक गाउँमा विपन्न समुदायको अधवैंशे मानिसले केही महिना अगाडि आत्महत्याको प्रयास गरे । वित्तीय संस्थाबाट नियमित किस्ता तिर्नुपर्ने ताकेता आयो । ५ हजार किस्ता तिर्न नसक्ने बताए । अघिल्लो किस्ता तिर्नकै लागि उनले छिमेकीबाट ७ हजार रुपैयाँ सापटी लिएका थिए । किस्ता तिर्नुपर्ने दबाब र सापटी फिर्ता गर्नुपर्ने दबाबका बीच उनी काठमाडौं गएर काम गरेर पैसा ल्याउने भन्दै हिंड्न लागेका थिए । छिमेकीले उनी काठमाडौं जान लागेको थाहा पाएपछि लाठीमुङ्ग्री गर्दै मेरो पैसा नदिएसम्म काठमाडौं जान पाउँदैनस् भने । एकातिर वित्तीय संस्थाको किस्ता र अर्कोतिर छिमेकीको दबाबका कारण उनले काठमाडौं जानुभन्दा अघिल्लै दिन मेटासिट (विष) खाएर आत्महत्याको प्रयास गरे ।
विष पिएको थाहा पाएपछि आफन्त तथा छरछिमेकीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो । धरानमा उपचार नभएपछि विराटनगरको एउटा हस्पिटलमा ल्याइयो । उनको उपचारको लागि भने झण्डै डेढ लाख रुपैयाँ सकियो । घटनाहरु सार्वजनिक नभइरहेको भएपनि भित्रभित्रै अवस्था डरलाग्दो भएको स्थानीय जनप्रतिनिधिहरु पनि बताउँछन् । ‘एक जनालाई दर्जनौं लघुवित्तले ऋण दिएका छन् । बिना धितो दिँदा लगानी जोखिममा पनि छ । ऋण लिनेलाई सहज पनि भयो । तर, तिर्ने स्रोत नहुँदा मानिस विस्थापित हुने अवस्थामा पुगेका छन्,’ कानेपोखरी गाउँपालिकाका उपाध्यक्ष भोला अधिकारी भन्छन्, ‘पालिकामा दर्जनौं मानिसहरु यसरी विस्थापित भएको जानकारीमा आएको छ ।’
यता, संघीय सांसद समेत रहेका जीवन विकास संस्थाका संस्थापक प्रमुख योगिलाल मण्डल भने वित्तीय संस्था र बैंकहरुमाथि अहिले आक्रमण गरेर राष्ट्रलाई असफल गर्ने प्रयास भएको बताउँछन् । ‘कहिँ न कहिँ हाम्रो देशलाई नै फेलियर बनाउने तिर लागे । हिंजो अस्तिसम्म माइक्रो फाइनान्सको कुरा गरिरहेका थिए । अहिले बैंकहरु नै खराब भए । अहिले अन्तिम आवरसम्म आएर हेर्दा जनताको आशा प्राप्त हुने ठाउँ भनेको वित्तीय संस्था तथा बैंकहरु हुन् । स्वास्थ्य सेवा पनि राम्रो छैन, रोजगारीको अवस्था पनि छैन । शिक्षाको अवस्था पनि राम्रो छैन,’ मण्डल भन्छन्, ‘अहिलेसम्म जिउँदो रहेको फाइनान्सियल सिस्टमलाई पनि ध्वस्त पार्ने कोशीस भइरहेको छ ।’
१५ प्रतिशत व्याज डेढ प्रतिशत सेवा शुल्क लिन पाउने राष्ट्र बैंकले अनुमति दिएको छ ।
लघुवित्तबाट ठूलो रकम राज्य कोषमा जम्मा भएको छ । त्यो पनि बन्द गर्ने हो भने राजस्व ठप्प हुने अवस्था रहेको मण्डल बताउँछन् । ‘लघुवित्त संस्थाहरुमा ५८ लाख महिलाहरु जोडिएका छन् । उनीहरुमा गरेको ऋण लगानी मिनाहा गराउने र राष्ट्रिय पार्टी बनाउने भित्री मनसाय कसैको देखिएको छ । वित्तीय साक्षरताको अभावले पनि यस्तो भयो । अहिले अध्ययन गर्दा १० प्रतिशत भन्दा बढी महिलाहरु अप्ठ्यारोमा छैनन्,’ मण्डल भन्छन्, ‘माइक्रोफाइनान्सहरुमा ४ खर्ब दायित्व छ । १ खर्ब बचत छ । बाँकी ऋण हो । त्यसमा केही प्रतिशत मात्रै शेयर पूँजी छ । यसरी ऋण नै नतिर्ने हो भने डुब्छ को ? यो त देश डुबाउने डिजाइन हो ।’

