विराटनगर । कोभिड १९ को महामारीले अप्ठेरो नपारेको भए मोरङको सुन्दरहरैंचा–१२ विराटचोककी सीता राई ९आठपहरिया० ले अहिलेले युरोपसहित छिमेकी मुलुक चीनमा पनि अल्लो, खाँडी र ढाकाका कपडा र तयारी पोसाकहरू निर्यात गरिरहेकी हुन्थिन् ।

धनकुटामा जन्मिएर हुर्किएकी सीता १० वर्ष अघिसम्म पनि त्यहीँकै विभिन्न सामाजिक संघसंस्था, रेडियोको आरजे र इन्स्योरेन्स कम्पनीहरूको अभिकर्ता भएर काम गर्थिन् । तर विवाहपछि उनले आफ्नो ठाउँ पनि छाड्नुपरेका कारण नयाँ योजनाका साथ व्यापार व्यवसाय गर्ने सोच बनाइन् । उनको विवाह संखुवासभामा भएको थियो । पछि विराटचोकमा झरेपछि व्यापार व्यवसाय गर्ने सोचलाई अघि बढाइन् ।

उनले रेडिमेड कपडाको व्यापार थालिन् । रेडिमेडको व्यापार राम्रै गरी चलेको पनि उनले सुनाइन् । तर विराटचोकका स्थानीय व्यापारी र घरधनीहरूबिच एउटा पसलमा बिक्री हुने कुनै पनि सरसामान अर्को पसलमा राख्न नपाइने भन्ने नियमले उनी बाँधिन पुगिन् । त्यसपछि रेडिमेड पसलपछि छाडेर नयाँ खालको वस्तु सामग्री के बिक्री गर्न सकिन्छ भनेर श्रीमान्सँग पनि सल्लाह गरिन् । अनि उनीहरूबिच ढाका र अल्लोका कपडा र तयारी पोसाक बनाउने र विक्री गर्ने सोच बनाएर त्यसको व्यापारमा लागिन् ।

‘अल्लो, खाँडी र ढाकाको कपडाबारे अलिअलि सुनेको थिएँ, यो चैँ गर्न सकिन्छ कि भनेर सुरुमा जिल्ला जिल्ला घुमेँ’ सीताले भनिन्, ‘घुम्दा नै मेरो झन्डै १२ लाख रुपैयाँ जति सकियो, तर बजारको हिसाबले राम्रो सम्भावना रहेको भन्ने कुरा चैँ थाहा पाएँ ।’

त्यसपछि अघि बढेकी सीताले पछाडि फर्किएर हेरिनन् । उनले आफ्नो उत्पादनलाई कोभिड १९ को महामारी सुरु हुनु अघिसम्म पनि अस्ट्रेलिया, अमेरिका लगायतका युरोपियन मुलुक र हङकङ, भारतको दार्जिलिङमा अर्डर अनुसार पठाइरहेको बताइन् ।

उनले सञ्चालन गरेको लुमा घरेलु अल्लो कपडा उद्योग एन्ड ट्रेनिङ सेन्टरले अल्लो, खाँडी र ढाकाका कपडाहरू हातैले बुन्ने र त्यसबाट महिला र पुरुष दुवैले लगाउन मिल्ने कोट, जवारी कोट, टोपी, जुत्ता, लगायतका पोसाकहरू बनाउँदै आएको छ ।

‘थालेको कामलाई व्यावसायिक रूपमा अघि बढाउनुपर्छ भन्ने सोच थियो, अनि झन्डै सात वर्षदेखि उद्योग नै खोलेर झन्डै ५० जनालाई रोजगारी दिँदै आएको थिएँ’ उनले सुनाइन्, ‘अहिले कोभिडले गर्दा उत्पादन र विक्री पनि घटेको छ, २० जना जतिले मात्रै काम गरिरहेका छन् ।’

सीताले कपडाका लागि चाहिले अल्लोको कच्चा पदार्थ ९बोक्रा० संखुवासभा र पाँचथर लगायतका पहाडी जिल्लाबाटै मगाउने गरेको बताइन् । सुरुमा उत्पादनको मार्केटिङ गर्न कठिन भए पनि अहिले सबै कुरा बुझिसकेको उनले बताइन् । उनले आफैँ मालिक बनेर उद्योग चलाउने आँटलाई कायम राखेको सुनाइन् ।
कोभिड १९ को महामारीकै कारण आफ्नो उत्पादनको बजारीकरण गर्न चीन जाने योजना स्थगित गर्नुपरेको बताइन् । अहिले उद्योगमा करिब डेढ करोडको लगानी गरिसकेको जानकारी दिइन् ।

‘अहिले अलिक क्राइसिस छ’ सीताले भनिन्, ‘आफुमात्रै उद्यमशील भएर हुँदैन भन्ने पनि मलाई लागेको छ, त्यही भएर १२० जना जतिलाई निःशुल्क रूपमा तालिम पनि दिइसकेको छु ।’ सीताले आफ्नो उत्पादनको प्रवर्द्धनका लागि प्रदेश १ मा लाग्दै आएका अधिकांश मेला, महोत्सव र एक्स्पोहरुमा सहभागिता जनाउँदै आएकी छन् ।

माघ १९ देखि सुरु भएको सीएनआई कोसी एक्स्पोमा पनि उनले स्टल राखेकी छन् । स्टलमा ९ हजार ५०० रुपैयाँसम्म पर्ने अल्लोका कोट, तीन हजार रुपैयाँसम्मका जुत्ता (लेडिज /जेन्स), एक हजार रुपैयाँसम्मका टोपीहरू बिक्रीका लागि राखेकी छन् ।

मुलुकभरकै आर्थिक मन्दीको असर व्यापार व्यवसायमा प्रत्यक्ष रूपमा देखिएको भए पनि आफ्ना उत्पादनको अहिलेसम्म सन्तोषजनक रूपमा बिक्री वितरण भइरहेको सुनाइन् । आफ्नो उद्योगको उत्पादन भनेर बजारमा भारतबाट ल्याएको डुप्लिकेट कपडाहरू पनि बिक्री भइरहेको फेला पारेको सीताले बताइन् ।