सुकुमेलमा लगाएको करबारे विवाद

सुकुमेलमा लगाएको करबारे विवाद

विराटनगर । ग्वाटेमालामा सुकुमेलको खेती धेरै हुन्छ । तीन महिनाअघि त्यहाँको निर्यात मूल्य प्रतिकिलो ८ देखि १२ डलरसम्म थियो। र, त्यहीबेला भारतमा खुद्रा मूल्य प्रतिकिलो नेरु ४ हजार ।

यही आकर्षक मार्जिन देखेर विराटनगर र वीरगञ्जका व्यवसायी आयातका लागि कस्सिए । तर, उनीहरूले यसमा एउटा अवरोध पत्ता लगाए । त्यो अवरोध सन्दर्भ मूल्य सूचीको थियो। भन्सार विभागले बनाएको सन्दर्भ मूल्यसूची (डाटाबेस)मा सुकुमेलको भन्सारमूल्य प्रतिकिलो साढे १२ डलर कायम गरिएको छ । यो हेरेर व्यवसायी विराटनगर र वीरगंजस्थित सुक्खा बन्दरगाहस्थित भन्सारका प्रमुखसमक्ष गए । उनीहरू आफूले सुकुमेल आयात गर्ने र कार्यालयले आयातको बिलबिजकलाई मान्यता दिनुपर्ने आग्रह गरे । दुवै कार्यालयका प्रमुखले इन्टरनेटमा वास्तविक मूल्य सर्च र अन्य भरपर्दा सूचना–सञ्जालले बिलबिजकलाई पुष्टि गरेमा आयातकर्ताले घोषणा गरेको मूल्यलाई मान्यता दिने आश्वासन दिए । त्यसपछि दुवै ठाउँका व्यवसायीले ग्वाटेमालाबाट सुकुमेल आयात गर्न थाले ।

जसअनुसार विराटनगरका प्रियंक लालबानीले प्रतिकिलो साढे ८ डलरका दरले आयात गरे । विराटनगरकै हेमकरण दुगड, नन्दकिशोर राठी र विमल अग्रवालले ९ डलरका दरले आयात गरे। उता वीरगंजको सुक्खा बन्दरगाह नाकाबाट पनि प्रतिकिलो ८ देखि साढे डलरसम्ममा आयात गरियो । पूर्वआश्वासनअनुसार दुवै कार्यालयका प्रमुखले बिलबिजकलाई मान्यता दिँदै सुकुमेलको जाँचपास गरिदिए ।

तर, भन्सार विभागले यसप्रति आपत्ति जनायो । विभागले भन्सारको डाटाबेसमा सुकुमेलको भन्सारमूल्य प्रतिकिलो साढे १२ डलर कायम गरिएको स्मरण गराउँदै विराटनगर र सुक्खा बन्दरगाह भन्सारमा पत्र पठायो । पत्रमा सुकुमेलको आयात गर्ने व्यवसायीसित साढे १२ डलरका हिसाबले अपुग राजस्व असुलउपर गर्न निर्देशनसमेत दिइयो ।

विभागको निर्देशनअनुसार दुवै कार्यालयले आयातकर्तालाई अपुग राजस्व दाखिला गर्न पत्र पठाइसकेका छन् । ‘हामीले सबैतिर बुझेर र आवश्यक प्रक्रिया पूरा गरेर आयातकर्ताको बिलबिजकलाई मान्यता दिएका थियौं’, विराटनगर भन्सारका सूचना अधिकारी रामचन्द्र ढुंगानाले भने, ‘तर विभागले प्रतिकिलो साढे १२ डलर नै मूल्यांकन गर्न र अपुग राजस्व असुल गर्न निर्देशन दिएपछि हामीले सम्बन्धित आयातकर्तालाई पत्र पठाएका हौं ।’

सुकुमेलको आयात महसुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर छ । आयातकर्ता हेमकरण दुगड भन्सारबाट आफूहरुमाथि धोका भएको बताउँछन् । ‘भन्सार कार्यालयले डाटाबेसअनुसारको अपुग राजस्व मात्र असुल गर्दैन, त्यस राजस्वमा ५० प्रतिशत जरिवाना र मूअकर पनि तिराउँछ । मानौं, मैले १० डलरमा सुकुमेल ल्याएको छु र डाटाबेसमा साढे १२ छ । अब मैले अपुग साढे २ डलरमा लाग्ने राजस्व तिरेर मात्र हुँदैन, उक्त राजस्वको ५० प्रतिशतले हुन आउने रकम र त्यसमा मूअकर पनि जरिवानास्वरूप बुझाउनु पर्छ,’ उनले भने, ‘धोका भयो, मुद्दामा जान्छौं ।’

आयातकर्ताले भन्सार कार्यालयले पठाएको पत्रलाई अवज्ञा गरिरहेका छन् । उनीहरू भन्सारले पठाए बमोजिमको थप राजस्व र जरिबानाको रकम नतिर्ने बताइरहेका छन् । मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवम् आयातकर्ता खेमचन्द जैनले भने, ‘भन्सार विभाग र कार्यालयले हामीउपर भन्सार ऐनविरूद्ध गरेको कारबाहीविरूद्ध मुद्दामा जान्छौं । हामी थप राजस्व र जरिवाना तिर्दैनौं ।’

‘ग्वाटेमालामा अहिले सुकुमेलको निर्यातमूल्य घटेर प्रतिकिलो साढे ५ देखि ८ डलर भइसकेको छ । भन्सार विभाग र कार्यालयले हामीलाई साढे १२ को दरमा एलसी खोल्न दबाब दिइरहेका छन् । मानौँ, हामीले साढे १२ कै दरमा एलसी खोल्यौँ अब ग्वाटेमाला सुकुमेलको बिल तिरेर उब्रिएको डलरको खेती हामीले कहाँ गर्नु ?,’ उनले भने, ‘यसको उत्तर हामीलाई नेपाल सरकार र भन्सार विभागले दिनुपर्छ ।’

आयातकर्ता जैनले भन्सार ऐनको दफा १३ अनुसार भन्सार कार्यालयले बिलबिजकलाई मान्यता दिनुपर्ने र व्यवसायीले न्यून बिजकीकरण गरेको लागेमा कार्यालयले सोही ऐनअनुसार मालवस्तु खरिद गर्नुपर्ने जिकिर गरे । अर्का व्यवसायी हेमकरणको प्रश्न छ, ‘हामीले न्यून बिजकीकरण गरेको भनेर हामीलाई भन्सार कार्यालयले पत्र पठाएको छ । तर, हामीलाई कारबाही गरिँदा जाँचपास गर्ने भन्सार कर्मचारीलाई चाहिँ किन छाडिन्छ ?’ हेमकरणले आफूले भन्सारमा थप राजस्व र जरिबाना नतिर्ने बरु मुद्दामा जाने बताए ।

आयातकर्ता नन्दकिशोर राठी र विमल अग्रवालले जाँचपास भइसकेको मालवस्तुको दोहोरो राजस्व र जरिवाना मागेर भन्सार कार्यालयले व्यावसायिक वातावरण बिगार्न खोजेको आरोप लगाए । दुवै व्यवसायीले भन्सार कार्यालयमा थप राजस्व र जरिवाना नतिर्ने बरु मुद्दामा जाने निर्णय गरेको बताएका छन् । भन्सार कार्यालयले निर्धारण गरको राजस्वको ५० प्रतिशतले हुन आउने रकम धरौटी राखेर कुनै पनि व्यवसायी राजस्व न्यायाधिकरणमा जानसक्ने कानुनी व्यवस्था छ ।

भन्सार विभागले प्रति किलो साढे १२ डलरको मूल्यांकन नछाड्न सम्बन्धित कार्यालयलाई पत्र पठाएपछि व्यवसायीले आयात गरेको सुकुमेल भन्सार कार्यालयका गोदाममा थन्किन थालेको छ । आयातकर्ता प्रियंकले आफूले आयात गरेको सुकुमेल विराटनगगरको आइसीपीस्थित गोदाममा थन्क्याएर मूल्यांकन घटाउन पहल गरिरहेको जानकारी दिए । त्यस्तै वीरगंजको सुक्खा बन्दरगाहको गोदाममा पनि सुकुमेल थन्किएको प्रिस्टिन भ्याली ड्राईपोर्टका सञ्चालक अतुल शर्माले बताए । यसैबीच मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले अर्थमन्त्री विष्णु पौडेलसित भेट गरेर संसारमा हुँदै नभएको वस्तुको मूल्यलाई भन्सारमूल्य मानेर राजस्व असुल नगराउन आग्रह गरेका छन् ।

विराटनगर नाकाबाट चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा १२८ टन सुकुमेल आयात भइसकेको छ । यस नाकाबाट गत आर्थिक वर्षमा ५७ र अघिल्लो आव २०७७/७८ मा ७३ टन मात्र सुकुमेल आयात गरिएको थियो । ग्वाटेमालाबाट नेपाल आयात गरिएको सुकुमेलको मुख्य बजार भारत नै हो । नेपालबाट भारत अनधिकृत रूपमा निकासी गरिने वस्तुमा सुकुमेल पनि पर्दछ । तर विगत ३ वर्षदेखि यसको आयात नगण्य रहँदै आएको छ । भन्सार विभागले बिलबिजकलाई मान्यता दिएर मूल्यांकन गरिदिने नीति अपनाएमा चालु आर्थिक वर्षमा यसको आयात अझ धेरै हुनसक्ने व्यवसायीले बताएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्