विराटनगर । प्रदेश १ का निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यले प्रदेश सरकारले राजस्व नीतिमा व्यापक सुधार गर्दै बजेटको आकार वृद्धि गर्न माग गरेका छन् ।
एमाले संसदीय दलको तर्फबाट प्रदेश १ प्रदेशसभाको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा आचार्यले यस्तो माग गरेका हुन् । उनले बजेट आकार दोब्बरले वृद्धि गरी विकास र राहतको अभियानलाई तीब्रता दिन आव्हान पनि गरेका छन् ।
आफूले राजीनामा दिएपछि गठन भएको प्रदेश सरकारको तीन महिना अवधि नाघिसकेको अवस्थामा पनि लय समात्न नसकेको भन्दै आचार्यले भागबण्डा मिलाउन कै लागि मन्त्रालयहरु विभाजन गर्ने र मन्त्रीको संख्या दर्जनबढी पुर्याउन लागेको प्रति आपत्ती जनाए । ‘दोस्रो चौमासिक व्यतित हुन लाग्दासमेत पूँजीगत खर्च शून्य प्रायः छ । कृषि, पर्यटन, खेलकुद, शिक्षा, स्वपास्थ्य, संचार, संस्कृति, श्रमिक र औद्योगिक विकासको लागि यो सरकारले सिन्को भाँचेको छैन,’ आचार्यले वितरण गरेको विज्ञप्तिमा उल्लेख छ, ‘उल्टो अघिल्लो सरकारले तयार गरेको आधार भत्काउने, बिगार्ने, समितिहरु विघटन गर्ने या बजेटबिहीन बनाएर निश्प्रभावी बनाउने काम गरिँदैछ ।’
आचार्यले अघिल्लो सरकारबाट प्रदेशको विकासको लागि बजेटको आकार बढाउने उद्देश्यले गठित राजस्व सुधार कार्यदल निष्प्रभावी बनाइएको, जनताको समस्यामा छलफल गर्नुपर्ने संसद बिजिनेसबिहीन बनाइएको, आपसी भागबण्डाको लागि मन्त्रालय फुटाउने, विकास आयोजना र जनताको राहतको बजेटको कट्टा गरी मन्त्रीहरुको भरण पोषण गर्ने गलत कामतिर सरकार अग्रसर भएको दाबी पनि गरेका छन् ।

