विराटनगर । प्रदेश १ सरकारको मन्त्रिपरिषद कार्यविभाजन नियमावली संशोधन भइसकेकोले यही साता मन्त्रिपरिषद् विस्तार हुने भएको छ ।
नेकपा एकीकृत समाजवादीका राजेन्द्रकुमार राई कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले कात्तिक १७ गते आर्थिक मामिला तथा योजना मन्त्रीमा नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधार विकासमन्त्रीमा नेपाली कांग्रेसका हिमाल कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्रीमा कांग्रेसका केदार कार्की, सामाजिक विकासमा जनता समाजवादी पार्टीका नेता जयराम यादव र सोही मन्त्रालयको राज्यमन्त्रीमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णु तुम्बाहाम्फेलाई नियुक्त गरेका थिए ।
अब दलहरुबीच भागबण्डा गरेर बाँकी मन्त्रीहरुको नियुक्त गरिनेछ । स्रोतका अनुसार काँग्रेसले ४, माओवादी केन्द्रले ३, एकीकृत समाजवादीले मुख्यमन्त्रीसहित ३ र जसपाले १ मन्त्रालय लिनेबारे दलहरुबीच सहमति छ । बाँकी रहेको १ मन्त्रालयमा काँग्रेस र एकीकृत समाजवादी दुबैको दावी रहेको छ । मन्त्रीसहित अब मन्त्रिमण्डल विस्तारमा केहि राज्यमन्त्री पनि थप हुँदा मन्त्रिपरिषद्को संख्या १५ सम्म पुग्ने बताइएको छ ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको बाँडफाँट र मन्त्रीको नाम टुंग्याएर यो हप्ताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् । मन्त्रालय विस्तारका लागि शीर्ष नेताहरुसँग परामर्श गर्न उनी मंगलबार काठमाडौं गएका छन् ।

