कुन पार्टीका कति कार्यकर्ता ? सबैभन्दा ठूलो को ?

काठमाडौं । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरू महाधिवेशन, राष्ट्रिय सम्मेलन र सङ्गठन निर्माण अभियानमा जुटेका छन् ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन मङ्सिर २४, २५ र २६ गते हुँदैछ । नेकपा एमालेले केन्द्रीय अधिवेशन सम्पन्न गरिसकेको छ भने माओवादी केन्द्रले आगामि पुस ११ गतेदेखि काठमाडौंमा सुरु गर्दैछ । यस्तै राप्रपा नेपालले अधिवेशन सम्पन्न गरिसकेको छ । जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी कार्यकर्ता संगठित गर्ने अभियानमा जुटिरहेका छन् ।

अहिलेसम्म दलहरुमध्ये सबैभन्दा बढी क्रियाशिल सदस्य बनाउने पार्टी कांग्रेस देखिएको छ । सो पार्टीका अनुसार काँग्रेसका क्रियाशील सदस्यको सङ्ख्या आठ लाख ७० हजारभन्दा बढी पुगेका छन् ।

काँग्रेसले क्रियाशील सदस्यहरूको सूची पार्टीको आधिकारिक वेबसाइटमै राखेको छ ।कांग्रेसले आठ लाख ४० हजार १०६ क्रियाशील सदस्यको नामावली वेबसाइटमै राखेको छ । बाँकी क्रियाशील सदस्यको सूची वेबसाइटमा अध्यावधिक गर्ने कार्य चलिरहेको सो पार्टीले जनाएको छ ।

यस्तै नेकपा (एमाले)ले पनि आफ्नो पार्टीको संगठित सदस्य संख्या ८ लाख ५५ हजार रहेको दाबी गरेको छ । पार्टीमा युवाको प्रतिनिधित्व वृद्धि भएको सो पार्टीले जनाएको छ । झन्डै ५० प्रतिशत युवा सङ्गठित सदस्य रहेका दाबी गरेको छ ।

यता नेकपा (माओवादी केन्द्र)ले पनि सङ्गठन विस्तार तीव्र पारेको छ । राष्ट्रिय सम्मेलनको तयारीमा रहेको माओवादी केन्द्रले वडा तहदेखि नै सङ्गठन निर्माण गरिरहेको छ । माओवादीले सङ्गठित सदस्य सात लाख ५० हजार पुगेको जनाएको छ । थप ५० हजार सङ्गठित सदस्य थपिने माओवादीको दाबी छ । २०७५ देखि ०७८ सम्म चलेको पार्टी एकता र केही क्षेत्रको सङ्गठित सदस्यहरूको तथ्याङ्क अध्यावधिक हुन बाँकी माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

यता, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको अध्यक्षतामा गठित नेकपा एकीकृत समाजवादीले ‘एक वडा एक हजार पार्टी सदस्य र एक सय सङ्गठित सदस्य’को अभियान सञ्चालन गरिरहेको छ ।

एकीकृत समाजवादीमा झन्डै तीन लाख सङ्गठित सदस्य अहिले पनि रहेको सो पार्टीले जनाएको छ । समाजवादीले तीनमहिने अभियानमार्फत छ लाख सङ्गठित सदस्य पु¥याउने लक्ष्य लिएको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको एक लाख ५० हजार सदस्य छन् । साङ्गठनिक संरचना सुदृढ गर्नका लागि अभियान सञ्चालन गर्ने सो पार्टीको तयारी छ ।

बुधबार, २२ मंसिर, २०७८, बिहानको १०:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर