विराटनगर । सिन्धुली फिक्कल–५ बस्ने समिता राई खड्काको ४ वर्षीया छोरी धनकुमारी खड्काको आगलागीमा परी मृत्यु भएको छ ।

धनकुमारी ओखलढुङ्गा मानेभञ्ज्याङ–६ मा रहेको मामा घर गएकी थिइन् । मामा घरकै गाईगोठमा आज दिउँसो १ बजे लाइटर खेलाउने क्रममा अचानक लाईटरबाट गोठमा आगो लागेको थियो ।

खरको छानो भएको गाईगोठमा आगलागी हुँदा उनी जलेकी थिइन् । उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आगलागीका कारण गोठमा रहेका २ वटा गाई र ४ वटा बाख्रासमेत जलेर मरेका छन् । घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।